आइसिएमए अस्ट्रेलियाद्वारा नेपाल च्याप्टरका ६६ विद्यार्थी दीक्षित

इन्स्टिच्युट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आइसिएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सिएमए डिग्री हासिल गरेका विद्यार्थीलाई दीक्षित गरेको छ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दीक्षित गरिएको हो । दीक्षित विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले प्रमाण पत्र प्रदान गरेका थिए । 

कार्यक्रममा कार्यवाहक महालेखा परीक्षक काफ्लेले दीक्षान्त समारोहमा दीक्षित भएका विद्यार्थीलाई बधाई दिँदै नेपालमा व्यावसायिक र दक्ष लेखा परीक्षकहरूको अभाव खड्किरहेको बेला यसले त्यो अभाव परिपूर्ति हुने विश्वास व्यक्त गरे ।

नेपालमा करिब ६ हजार बढी सरकारी संघ संस्थाहरूमा चार्टर एकाउन्टेट राख्न सम्भव नभएको र व्यवस्थित लेखा परीक्षण हुन नसकेको सन्दर्भमा यसमा अब सिएमएहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले दीक्षित विद्यार्थीको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपालले थप दक्षता हासिल गरेको बताए। उनले भने,’तपाईंहरु प्रोफेसनल अडिटर भइसक्नुभयो।’



उनले एकाउन्ट राम्रो नहुँदा पनि व्यवसाय धरासायी हुने भएकोले सिएमएहरुले व्यवसायलाई उकास्न सहयोग गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अडिड गर्ने काम सबैभन्दा कठिन काम हुँदा पनि तपाईंहरु लाग्नुभएको छ, यो खुसीको कुरा हो।'

उनले आइसिएमए अस्ट्रेलियासँग सम्बन्धन राखेर हासिल गरेको ज्ञानले नेपाल लाभान्वित हुने उल्लेख गरे। उनले राज्यले पनि प्रोफेसनल अडिटर उत्पादनमा सहयोग गर्नुपर्नेमा जोड दिए ।



त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले शैक्षिक,लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपालीलाई थप दक्ष बनाउन आइसिएमए अस्ट्रेलियाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

त्यस्तै, कार्यक्रममा नेपालका लागि आइसिएमए अस्ट्रेलियाका क्षेत्रीय प्रतिनिधि कुमारप्रसाद खतिवडाले विश्वव्यापी रुपमा अभ्यास भइरहेको लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन नेपालमा समेत भित्र्र्याउन सक्नु निकै गौरवको कुरा भएको बताए ।

उनले दीक्षित विद्यार्थीले लेखा तथा व्यवस्थापनको क्षेत्रमा विशिष्टता हासिल गरिसकेको भन्दै छोटो अवधिमा यस कोर्सको महत्व बुझेर धेरै विद्यार्थी जोडिएको उल्लेख गरे।

उनले भने, ‘हामीले भर्खरै सुरु गरेको कोर्समा प्राप्त आकर्षणप्रति कृतज्ञता व्यक्त गर्दछाैँ । आउँदा दिनहरुमा सबैको सहयोगमा सम्भावित व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानमा कार्यरत लेखाका प्रमुखहरुलाई यस कोर्समा जोड्ने कोसिस रहनेछ।’

उनले नेपालमै आइसिएमए अस्ट्रेलियाद्वारा सञ्चालित सिएमए कोर्स अध्ययन अध्यापन हुँदा बौद्धिक दक्ष जनशक्ति उत्पादनले विदेश अध्ययनको लागि जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे। कार्यक्रममा अस्ट्रेलियाबाट भर्चुअल रुपमा विदेशी वक्ताहरुले समेत सिएमएको बारेमा धारणा राखेका थिए। 

त्यस्तै, दीक्षित भएकी विद्यार्थी प्रमिला थापाले आइसिएमए अस्ट्रेलियाले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपालीलाई थप दक्ष बनाउन सहयोग गरेको धारणा राखे।

दीक्षान्त समारोह अघि सम्पन्न भएको दुईदिने कार्यशाला गोष्ठीमा नेपालमा सिएमए शिक्षाको प्रभावकारिता र महत्वको बारेमा छलफल गरिएको थियो । कार्यशाला गोष्ठीमा पूर्व अर्थसचिव रामेश्वर खनाल तथा भारतबाट आएका आइसिएमए विज्ञहरुले सिएमए शिक्षाको अवस्था, आवश्यकता, प्रभावकारिता र महत्व लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १९:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया