विस्तार गरिँदै जुम्ला विमानस्थल, ४ करोड बजेट विनियोजन

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थललाई थप विस्तार गरिने भएको छ । सरकारले बजेट विनियोजित गरेपछि विमानस्थल विस्तारको काम अगाडि बढेको जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्यामु लामा तामाङले जानकारी दिइन् ।

विमानस्थल विस्तारका लागि बजेट विनियोजन भएकाले अर्थ मन्त्रालयले नागरिक उड्डयन कार्यालय जुम्लालाई आवश्यक समन्वयका लागि निर्देशन दिएसँगै विमानस्थल विस्तारको बाटो खुलेको उनले बताइन् । मन्त्रालयले विमानस्थल विस्तारका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गत आर्थिक वर्ष १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त बजेट खर्च नभएर फ्रिज भएको जिल्लास्थित उड्डयन कार्यालयले जनाएको छ । लामो समयदेखि विमानस्थल विस्तारको बहस चले पनि काम हुन सकेको थिएन । चालू आव २०८०/८१ मा अर्थ मन्त्रालयले ४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपैयाँ विनियोजन गरेसँगै काम अगाडि बढाउन सकिने तामाङको भनाइ छ ।

जुम्ला विमानस्थल हाल ६ सय ७० मिटर लम्बाइ, २० मिटर चौडाइसम्म छ । उड्डयन प्राधिकरणले विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकाले आवश्यक समन्वय गर्न जिल्लास्थित उड्डयन कार्यालयलाई निर्देशन दिएको छ । 

उक्त बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण गरिने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए । उनका अनुसार अप्रोनदेखि जहाजसम्म जाने बाटो, ट्याक्सीलगायतका संरचना निर्माण हुनेछन् । 

तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभए पनि चाँडै केही रकम विनियोजन हुने आशामा रहेको कार्यालय प्रमुख अधिकारीले बताए ।



लामो समयपछि विमानस्थल विस्तारको बाटो खुलेकाले यसपछि सहजरूपमा हवाई सेवा पाउनेमा स्थानीयवासी विश्वस्त छन् । नियमित हवाइ सेवा सञ्चालन भए कर्णालीका नागरिकलाई सहज हुने यहाँका सरोकारवाला बताउँछन् । रासस 



  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार १४:२५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया