ढोरपाटनमा आठ नाउर, चार झारल र आठ बँदेलको सिकार अनुमति

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ । 

यस्तै, सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्षको पहिलो सिकारयाम सुरु भएको बताए । उनका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ ।

उनका अनुसार सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन सिकार आरक्षमा आउने तयारीमा जुटेका छन् । ‘यस सिकारयाममा आठ नाउर, चार झारल र आठ बँदेलको सिकार खेल्न विभागले अनुमति दिइसकेको छ, अहिले विदेशी सिकारी आरक्षतर्फ आउने तयारीमा छन्’, उनले भने, ‘यस वर्ष आरक्षमा सूचीकृत आठ कम्पनीमार्फत जर्मन, अमेरिका, रसिया र बेलारुसका सिकारीले सिकार खेल्न अनुमति पाइसकेका छन् ।’

यस वर्ष प्रतिस्पर्धामा अमेरिकाका मात्रै पाँच सिकारी आउने भएका हुन् । उनीहरूले बन्दोबस्तीका सामग्रीमार्फत १७ असोजपछि ढोरपाटन सिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन् । सिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीको साथमा खटिने गर्दछन् । 

सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ‘ब्लक’मा पठाउनका लागि तयारी अवस्थामा राखिएको संरक्षण अधिकृत थापामगरले बताए । विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गरेको हुन्छ ।

पहिलो याममा अमेरिकाका पाँच सिकारी, जर्मनी, रसिया र बुलरियाका एक/एक सिकारी सिकार खेल्नका लागि अनुमति पाएका हुन् । विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबीच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले १० देखि २० लाख रुपैयाँसम्म तिर्ने गरेको पाइन्छ । 



सिकारका लागि आरक्ष क्षेत्रलाई सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र(फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयको भनाइ छ ।

विदेशी सिकारीसहितको समूहले १५ दिन जङ्गलमै समय बिताउँछन् । पन्ध्र दिनमा सिकार खेल्न नसके सिकारी खाली हात फर्कनुपर्ने आरक्षको नियम छ । विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ ।



साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, हेलिकोप्टर सबै बन्दोबस्तीका सामग्री तयार गर्दा एक जना सिकारीले करिब २० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।

वि.सं २०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत स्थापना भएको छ । रासस 

  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार ७:२४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया