‘रेन्बो फेमली’ले बढायो रामारोशनमा चहलपहल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

रामारोशन अछामको मात्रै नभई सुदूरपश्चिम पर्यटकीय तथा धार्मिक क्षेत्र हो । रामारोशन लाई रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट नाम रामारोशन रहेको किम्बदन्ती रही आएको छ । एक थरीले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँदै आएका छन् ।  

रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ । पर्यटकीय क्षेत्र रामारोशनको सुन्दरताको वर्णन गरी नसक्नु छ । 

रामारोशन पर्यटकीय क्षेत्रमा दर्जनौँ समथर फाँट, ढपक्कै धर्ती ढाकेर फुल्ने फूलहरूले मन लोभ्याउँछ । हरिया पाटनमाथि सेताम्मे डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल देख्न सकिन्छ । हरियाली फाँट, त्यसमाथि फुलेका रङ्गीबिरङ्गी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन् ।

समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा रहेको रामारोशन प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे तथा जडीबुटीले भरिपूर्ण ठाउँ हो ।  रामारोशनमा सुनिवन, गेराहा जिंगले, बाटुल्ला, लामादह, लिप्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे ,रामे, ताउलो, डउटे, दल्लेना गरी १२ ताल र बाउलेगडा, रामे, चाका चक्रपथ, रोशन जस्ता १८ पाटन रहेका छन् । 

वर्षौदेखि पर्यटकको पर्खाइमा रहेको रामारोशन यस पटक भने चर्चामा आएको छ । करिब ६८ देशका नागरिक सामाजिक सञ्जाल मार्फत जोडिएको ‘रेन्बो फेमली’ नामको समूहले अछामको रामारोशनमा कार्यक्रम गर्न आएपछि रामारोशनको चर्चा झनै चुलिएको छ । अहिले रेन्बो फेमली नामको समूह अछामको रामारोशनमा रमाइरहेको छ । 

पर्यटकहरूको आगमन बढेसँगै यस क्षेत्रका जनता खुसी बनेका छन् । दिनानुदिन पर्यटकहरू आउन थालेपछि यस क्षेत्रमा किसानहरूले उत्पादन गरेका कृषिजन्य वस्तुहरूले मूल्य पाएको स्थानीय दलबहादुर साउदले बताए । रामारोशन पुग्दा हरेकलाई अलौकिक आनन्द आउने आन्तरिक पर्यटक टेकबहादुर थापाले बताए । 



रामारोशन जानलाई सडक मार्गको पहुँच भए पनि वर्षाको समयमा लेक भएकाले बाटो अप्ठेरो हुने गरेको र पर्यटक पनि कम आउने बोट चालक टेकेन्द्र रोकायाको भनाइ छ ।  रामारोशन घुम्न आएका विभिन्न देशका नागरिकहरूलाई रामारोशन गाउँपालिकाले स्वागतसहित पर्यटकिय स्थलमा पठाउने गरेको छ । 

विदेशी पर्यटकहरूको आगमनले रामारोशनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए । सुदूरपश्चिम प्रदेश सरकारले रामारोशन पर्यटन विकास समिति बनाएको छ । 



समितिले रामारोशन क्षेत्रमा पर्यटक भित्र्याउन रामारोशन क्षेत्रको संरक्षण गरिरहेको समितिका निर्देशक गङ्गाकुमारी कुँवरले बताए । रामारोशनमा यसपटक विभिन्न देशका आठ सय ९७ पर्यटक आएका र त्यसमध्ये केही रामारोशनको अवलोकन गरेर फर्किसकेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए । 

  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार १४:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया