logo-img

सामाजिक सञ्जाल प्रयोगमा कडाइ आवश्यक छ : समाजशास्त्री ढकाल [अन्तर्वार्ता]
'जबसम्म द्वन्द्वले ठूलो रूप लिँदैन, त्यसलाई सामाजिक विकासको प्रक्रियाका रूपमा लिनुपर्छ'

नेपाली समाज बदलिँदो अवस्थामा छ । इतिहासका विभिन्न घटनासँगै नेपाली समाज बदलिइरहेको परिदृश्य आमनेपालीलाई अवगतै नै छ । समय हो, एकनास कहाँ रहन्छ र ! 

समयसँगै फेरिने समाजको स्वरूप, बनोट, संरचना र सञ्चार हेर्दा सकारात्मक र नकारात्मक चेतको मिश्रण पाइन्छ । हिजोको नेपाली समाज कस्तो थियो ? आजको नेपाली समाजमा के–कस्ता घटना परिघटना भइरहेका छन् ? नेपाली समाज कतातिर उन्मुख भइरहेको छ ? सामाजिक सञ्जालले कस्तो प्रभाव पारेको छ ? यस्तै, विविध विषयमा केन्द्रित रहेर समाजशास्त्री निर्मला ढकालसँग फरकधारका लागि रेश्मा सिंहले गरेको कुराकानी 

एक समाजशास्त्रीका दृष्टिकोणबाट हेर्दा हाल नेपाली समाज कुन दिशातिर उन्मुख भइरहेको पाउनुहुन्छ ? 

समाजलाई बुझ्नका लागि समाजका विभिन्न पक्षः आर्थिक, राजनीतिक, सामाजिक बुझ्नुपर्छ । यीमध्ये पनि आर्थिक पक्ष कहाँ गएको छ भन्ने कुराले समाजको दिशा निर्धारण गर्छ । सामाजिक चेतनाका कुराले हाम्रो सामाजिक पक्षमा ठूलो असर गर्ने भएकाले देशको उत्पादन साधन, साथीहरूको अवस्था, आम्दानीका स्रोत, देशका युवालाई कसरी परिचालित गरिएको छ भन्ने कुरा मुख्य कुरा हो जस्तो लाग्छ । अर्थतन्त्र नै धराशायी भएको अवस्थामा सामाजिक गतिविधिमा केही उतारचढाव आएको देखिन्छ र स्वाभाविक पनि हो । यससँगै पछिल्लो समय अराजकता बढेको देखिन्छ । विकृति पनि बढेको छ । यी सबै नकारात्मक पक्षको मुख्य जड नै अर्थतन्त्रमा आएको धरासयी हुनु हो । 

समाजमा निराशावाद किन हाबी भयो ? लाखौँ युवा विदेश पलायन भइरहँदा समाजमा कस्तो असर पर्छ ? 

मानिसका आधारभूत आवश्यकता छन् । ती आवश्यकताको खोजीमा एक ठाउँबाट अर्को ठाउँ बसाइँसराई गर्ने गरिन्छ । कुनै निश्चित ठाउँले के कारणले तान्छ भन्ने कुरा मुख्य हो । नेपालमा शिक्षा, स्वास्थ्य, सुविधाको एकदम अभाव देखिन्छ । योभन्दा मुख्य कुरा, हाम्रो जीविकोपार्जनका आधार छन् । ती सबैको पूर्ति हुने नेपालमा कुनै सम्भावना छैन । यही कुराका लागि पछिल्लो समय लाखौँ युवा बिदेसिन बाध्य छन् । 



नेपालको कोमलतालाई त्यागेर नेपाली युवा रोजगारीको सिलसिलामा विदेश गइरहेका छन् । दुःख गरेर भए पनि त्यहाँबाट आधारभूत आवश्यकता प्राप्त हुने आश उनीहरूमा छ । यसरी देशको युवा जनशक्ति बाहिरिइरहँदा भोलिका दिनमा देशमा युवाको कमी हुने एकदमै बढी सम्भावना छ । समाजमा हुने विभिन्न चेतनाका कुरामा यसले ठूलो असर गर्ने देखिन्छ । 

अध्ययन तथा रोजगारीका नाममा लाखौँ युवा बिदेसिँदा सामाजिक संरचनामा कस्तो असर पर्छ ? 



मुख्य कुरा पेटको हो । आधारभूत आवश्यकतामा खाना तथा रोजगारमा नेपालको पहुँच नहुँदा युवा बिदेसिइरहेका छन् । यसले गर्दा निकट भविष्यमा नेपालमा काम गर्ने युवा जनशक्ति पाउनै मुस्किल पर्नेछ । नेपालको ठूलो हिस्सा ओगटेको जनशक्ति नै विदेश जाँदा सामाजिक संरचनामा फेरबदल हुन्छ । 

लाखौँ युवा बिदेसिँदा सोहीअनुरूप रेमिट्यान्स पनि भित्रिरहेको छ । यसले राज्य र समाजलाई कस्तो असर गर्छ ? 

रेमिट्यान्स भन्नाले हामीले बाहिरबाट आउने रकम मात्र बुझ्नुहुन्न । आर्थिक कारोबारमा मात्र केन्द्रित हुनुहुँदैन । विदेशबाट विदेशी सीप, सांस्कृतिक पक्ष, नयाँ प्राविधिक कुरा पनि भित्रिन्छन् । आफू गएको स्थानबाट युवाले सीपलगायत प्राविधिक कुरा पनि सिकेर ल्याएका हुन्छन् । एक किसिमले हेर्दा यो सकारात्मक पक्ष हो । तर, हामीले यसको सदुपयोग गर्न जानेनौँ । आर्थिक कारोबारलाई केमा प्रयोग गर्ने भन्नेतिर कम ध्यान गएको देखिन्छ । मुख्य कुरा हामीले जे पाइरहेका छौँ, त्यसको सही सदुपयोग गरेका छौँ कि छैनौँ भन्ने हो ।

लाखौँ युवा बिदेसिँदा राज्य संयन्त्रले यसलाई कसरी नियालिरहेको पाउनुहुन्छ ? 

युवा विदेश जानुमा व्यक्तिगत कुरा पनि हुन्छ । जहाँ अवसर पाइन्छन्, त्यहाँ जो–कोही पनि जान चाहन्छ । शिक्षा, स्वास्थ्य, रोजगार सहजै उपलब्ध हुने स्थानमा जो पनि जान चाहन्छ । नेपालमै पनि पछिल्लो समय सबैजना सहरकेन्द्रित हुन थालिसकेका छन् । त्यसैगरी नेपालबाट विदेश जानुको कारण पनि अवसर नै हो । यसलाई सामान्य रूपमा लिनुपर्छ । जनशक्तिको कमी हुने, युवाशक्ति स्वदेशमा नहुँदा विभिन्न परियोजनामा अपूर्ण रहने सम्भावना हुन्छ । तर, धेरै ठूलो नकारात्मक असर नै पार्छजस्तो लाग्दैन । 

नेपालमा धर्मका विषयमा पटक–पटक विवाद भइरहेको छ । यसको कारण के होला ?

एउटा समाज सधैँ मिलेर बस्छ भन्ने हुँदैन । नेपालमा विभिन्न भाषा, धर्म, संस्कृतिका मानिस बसिरहेका छौँ । यसभित्र पनि मेजर र माइनर समूह हुन्छ । धेरै कुरामा मेजर समूहले अवसर पाइरहेको हुन्छ । सीमित वर्गले धेरै अवसर पाएको हुन्छ भने केही सीमित वर्ग अवसर नै नपाएर बसेको हुन्छ । यस्तो अवस्थामा द्वन्द्व हुनु सामान्य कुरा हो । समाज अगाडि बढ्ने प्रक्रिया भनेको एक द्वन्द्व पनि हो । जबसम्म द्वन्द्वले ठूलो रूप लिँदैन वा स-साना झगडाले कुनै क्षति पुर्याउँदैन भने त्यसलाई सामाजिक विकासको प्रक्रियाका रूपमा लिनुपर्छ । नेपालमा अनियन्त्रित भएर धर्मलाई लिएर झै–झगडा गरेको जस्तो मलाई लाग्दैन । समाजमा हुने अन्तरक्रियाको एक पाटो मान्न सकिन्छ । 

दुई समुदायबीच मनमुटाव हुनुमा राजनीतिक व्यक्ति वा कुनै बाह्य शक्तिको प्रभावमा हुने सम्भावना कति छ ? 

शक्तिभन्दा पनि केही व्यक्तिलाई झै–झगडाले फाइदा पुग्ने भएकाले उनीहरू आउने गर्छन् । यसमा राजनीतिक व्यक्ति वा बाह्य शक्ति पनि हुनसक्छ । नेपाली समाज मेलमिलाप, चेतनाको हिसाबमा कसैको उक्साहटमा नै ठूलो दंगा निम्त्याउने सम्भावनाचाहिँ कम छ । 

दुई सम्प्रदायबीच मनमुटाव हुन नदिन के–कस्ता कार्यमा ध्यान दिन आवश्यक छ ? 

सामान्य झै–झगडा नहुने भन्ने हुँदैन । एउटा समाजमा विभिन्न किसिमका मानिस बस्छन् । त्यहाँ क्रिया हुन्छ, प्रतिक्रिया हुन्छ । यसलाई सामान्य रूपमा लिनुपर्छ । समाज सामान्य रूपमा अगाडि बढ्यो भने अचम्म मान्नुपर्ने अवस्था हुन्छ । वादप्रतिवाद हुँदा समाज सामान्य रूपमा अगाडि बढेको मान्नुपर्छ । 

समाजमा हिजोआज नकारात्मक सोच हावी भएको पाउँछौँ । यसका कारण के होलान् ? 

फ्रस्टेसन मुख्य कारण हो । युवाहरूमा के कारण फ्रस्टेसन बढिरहेको छ । त्यो फ्रस्टेसन बेरोगारी, आर्थिक मन्दीले बढिरहेको छ । यसले हाम्रो दैनिक जीवनमा प्रभाव पारिरहेको छ । यसको प्रतिक्रिया कहीँ न कहीँ देखिने भयो । कसैले सामाजिक सञ्जाल, अस्पताललगायत स्थानमा देखाउँछन् । एउटा व्यक्तिले राज्य, कुनै प्रशासनसँग केही कुराको आशा राखेको हुन्छ । सोही आशाअनुसार काम नहुँदा फ्रस्टेसन निस्किरहेको छ । व्यक्ति प्रक्रियावादी भएका कारणले आफ्नो अगाडि जे देख्छ, त्यहीँ प्रतिक्रिया जनाउँछ ।
 
समाजमा अराजकता बढ्नुमा राज्य संयन्त्रकाे कत्तिकाे दाेषी छ ?

राज्य प्रणालीमा विभिन्न न्यायिक प्रणाली छन् । राज्य व्यवस्था विभिन्न चेनबाट बनेको हुन्छ । जनतालाई कुनै पनि व्यवस्थासँग विश्वास नै रहेन । यो राज्यको कमजोरी हो । राज्यले विश्वास दिलाउन सकेन र जनताले विश्वास पनि गर्न सकेनन् । पछिल्लो समय केही घटना स्पष्ट देखिन थालेका छन् । राज्यले जुन अभिभावकत्व भूमिका खेल्नुपर्ने हो, त्यो भूमिका खेलेको देखिँदैन । जनतालाई ती विभिन्न निकायसँग रिस, आवेग भयो, जुन उनीहरू पोख्छन् ।


 
सामाजिक सद्भाव खलबलिनुमा सामाजिक सञ्जालको कस्तो भूमिका हुन्छ ? 

सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्ने भन्ने कुरा नितान्त एउटा व्यक्तिको हातमा हुन्छ । झुटा समाचार, कुनै समुदायलाई लक्षित गरेर नराम्रो कुरा प्रचार–प्रसार गर्दा अवश्य नै समाजमा नराम्रो असर पर्छ । सञ्चारमाध्यममा आएका झुटा विषयवस्तुबारेमा ज्ञान नहुँदा सामाजिक संरचनामा खलल पुग्छ । यसको लागि सरकारले सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्नुपर्ने हो । तर, राज्यले केही गरेको देखिँदैन । सामाजिक सञ्जाललाई नियमन गर्ने प्रणाली कमजोर भएकाले समाजमा अराजकता बढेको देखिन्छ । 

नेपालमा भइरहेकाे सामाजिक सञ्जालको प्रयोगलाई कसरी लिनुभएको छ ? 

विभिन्न ठाउँमा सकारात्मक प्रयोग गरेको देखेकी छु भने यसको नकारात्मक प्रयोग गरेको पनि देखेकी छु । व्यापार, व्यवसायको प्रचारप्रसार गर्नका लागि सामाजिक सञ्जालको प्रयोग गरेको देखिन्छ । त्यसैगरी अरूको चरित्र हत्यालगायत नकारात्मक कार्यका लागि पनि प्रयोग भइरहेको देखिन्छ । त्यसैले यसको सदुपयोग र दुरुपयोग बराबर मात्रामा भएको पाइन्छ ।

सामाजिक सञ्जालको सही सदुपयोग कसरी गर्न सकिन्छ र दुरुपयोग हुँदा राज्यले कसरी नियमन गर्नुपर्छ ?

सामाजिक सञ्जाल चलाउँदा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने ज्ञान हुन एकदमै जरुरी हुन्छ । सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया दिँदा आफ्ना साथीभाइ, आफन्त सबैकहाँ पुग्छ भन्ने कुराको हेक्का हुनुपर्छ । राज्यले यस्तोमा नियन्त्रण गर्नुपर्ने हो, तर सकेको छैन । यो विषय अन्र्तराष्ट्रिय स्तरमै नियन्त्रण बाहिर गइसकेको छ । सामाजिक सञ्जालमा कस्ता विषयलाई कसरी उठान गर्ने भन्ने कुराको ज्ञान राख्नुपर्छ । अरूको आस्था, भावनामा ठेस पुग्नेगरी सामाजिक सञ्जालमा प्रतिक्रिया दिनुहुँदैन । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई तुरुन्तै कारबाही गरियो भने यसको सही सदुपयोग हुन्छ । 

पुस्ता हस्तान्तरणको समस्यालाई कसरी हेर्नुहुन्छ ?

मैले यसलाई सामान्य रूपमा नै लिन्छु । एउटा पुस्ताले सिकेको कुरा, उत्पादन प्रणालीमा हुर्किन्छन् । एउटा पुस्ता एउटा सीमित सामाजिक प्रणाली, शिक्षामा हुर्किन्छन् । ती सबै कुरा परिर्वतशील हुन्छ । अर्को पुस्ता फरक संरचनामा हुर्किन्छ । फरक संरचना, शिक्षा, फरक सोचाइमा हुर्कियौँ भन्ने सबैको सोचाइ फरक हुन्छ । जेनेरेसन ग्याप हिजोका दिनमा पनि थियो र भविष्यमा पनि हुनेछ । जेनेरेसन ग्याप निरन्तर चलिरहने प्रक्रिया हो । 

पुस्ता हस्तान्तरण नहुँदा सामाजिक संरचनामा कुनै असर पर्छ कि पर्दैन ?

पुस्ता हस्तान्तरण भएन भने केही कुरामा असर पर्न सक्छ । तर, विस्तारै मानिसहरू ‘युज टु’ हुन्छन् । पहिले र अहिलेको पुस्तामा धेरै नै परिवर्तन आइसकेको छ । जेनेरेसन ग्यापले सोचाइमा भिन्नता हुन्छ । मानिसले जसरी, जस्तो पर्छ, त्यसरी नै अपनाउँदै जान्छन् ।
 
पुस्ता हस्तान्तरण आवश्यक छ कि छैन ? 

संस्कृतिको कुरामा पुस्ताले हस्तान्तरण नगरे पनि हामीले अपनाइरहेका हुन्छौँ । पहिलेको पुस्ता जुन संरचनामा हुर्कियो, हामी त्यो संरचनामा हुर्किएनौँ । पहिलेका जस्तो संरचना, वातावारण छैन भने अहिले त्यो कुरा सिक्न आवश्यक छ जस्तो लाग्दैन । जस्तोः पहिले–पहिले गाउँघरमा गाईभैँसी पालिन्थ्यो, घाँस काट्न सिक्न जरुरी थियो । तर, अहिलेको पुस्ताले गाई पाल्दैनन्, घाँस काट्न सिक्न आवश्यक छैन । 

समय परिवर्तनशील छ, समय परिवर्तनसँगै अन्य कुरा पनि परिवर्तन हुँदै जान्छन् । वातावरणअनुसार परिवर्तन भइरहन्छौँ । त्यसैले जुन समय, जसरी चल्छ त्यसरी नै चलाउने हो । यो सामान्य प्रक्रिया हो र यसलाई सामान्य रूपमा नै लिनुपर्छ ।

  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार १८:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया