logo-img

कोशी प्रदेश : एमालेसँग सत्ताको चाबी, नौमध्ये पाँच मन्त्रालय दाबी
विश्वासको मत लिनुअघि भागबण्डा मिलाउनुपर्ने अडान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेले कोशी प्रदेश सरकारमा पाँचवटा मन्त्रालयमा दाबी गर्ने भएको छ । कांग्रेसकाे विद्राेही पक्षका उम्मेदवार केदार कार्कीलाई समर्थन गरेर मुख्यमन्त्री बनाएकाे एमालेले सांसद संख्याका आधारमा पाँच मन्त्रलय दाबी गर्न लागेकाे हाे । 

काेशी प्रदेशमा एमालेका ३९ सांसद छन् । मुख्यमन्त्रीसहित नौवटा मन्त्रालय रहेकाे प्रदेशमा एमाले एक्लैले पाँच मन्त्रालयमा दाबी गरेपछि मुख्यमन्त्री कार्कीलाई मन्त्रालय भागबण्डामा सकस पर्ने देखिएको छ । मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने भएकाे छ

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि मन्त्रालयको भागबण्डा गर्नुपर्ने एमालेको माग छ । उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । कांग्रेसको संस्थापन पक्षले पनि कार्कीलाई विश्वासको मत दिने तयारी गरेको छ । 



संसद सचिवालयले कात्तिक १ गते बुधबारका लागि प्रदेश सभा बैठक बोलाएको छ । मुख्यमन्त्री कार्कीले साेही बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । 

मुख्यमन्त्री कार्कीले मन्त्रालय भागबण्डा टुंग्याउनका लागि मंगलबार एमालेलगायत दलसँग छलफल गर्ने तयारी गरेका थिए । तर,समय अभाव भएकाे भन्दै उनले मंगलबार साँझसम्म दलहरुसँग छलफल गरेका छैनन् । 

बुधबार बिहान प्रदेशसभा बैठक बस्नुअघि छलफल गरेर मन्त्रालयकाे भागबण्डा टुंग्याउने उनकाे तयारी छ । कार्की संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।



मुख्यमन्त्री कार्कीले दुई दिनअघि शपथ ग्रहण गरेलगत्तै एकजना कांग्रेसबाट र अर्का एकजना एमालेबाट मन्त्री नियुक्त गरिसकेका छन् ।

तीन सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्री कार्कीबाहेक कांग्रेसका शमशेर राई र एमालेका राम राना मन्त्री बनाइएका छन् ।



नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारमा आफूहरुको पाँचवटा मन्त्रालयमा दाबी रहेको बताए । 

मन्त्रालय बाँडफाँटका विषयमा एमालेले आज छलफल गर्ने प्रयास गरेको भए पनि मुख्यमन्त्रीको व्यस्तताका कारण छलफल हुन नसकेको उनको भनाइ छ । बुधबार छलफल गरी मन्त्रालय बाँडफाँटबारे कुराकानी हुने भण्डारीले बताए । 

  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार २०:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया