logo-img

काभ्रेमा १३ कात्तिकसम्म टिपर सञ्चालनमा रोक
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो । 

कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । 

बैठकले आज बिहान ५ बजेदेखि यही १३ कात्तिकको राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।



जिल्ला समन्वय समितिका पदाधिकारी तथा बागमती टिपर व्यवसायी सङ्घ र अन्य यातायात व्यवसायीसमेतको उपस्थितिमा भएको छलफलमा चाडपर्वको समयमा सवारीसाधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिल हुने भएकाले काभ्रेपलाञ्चोकभित्र र जिल्लाभित्रका दुई राजमार्ग अरनिको र वीपीमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो ।

यस्तै बैठकले दुर्घटना बढ्दै गएको जनाउँदै बैठकले टिपर तथा सार्वजनिक सवारी साधनका चालकका लागि सचेतना कक्षासमेत सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत असोजमा २५ सवारीसाधन दुर्घटनामध्ये ६ वटा टिपरका कारण भएका थिए । दुर्घटनामा सात जनाको ज्यान गएकामा तीन जनाले टिपरको कारण ज्यान गुमाएका थिए । 

दुर्घटना बढेपछि एक वर्षदेखि टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाइएको थियो । दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारी साधन चल्ने गर्दछन् । रासस  





  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार ८:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया