दसैँका लागि खसी–बोका किन्दै हुनुहुन्छ ? कसरी चिन्ने स्वस्थ खसी–बोका ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालीको महान् पर्व दसैँ सुरु भइसकेको छ । दसैँ भनेकै एक हिसाबले मासुको पर्व पनि हो । अधिकांश परिकार मासुकै हुन्छ । वर्षभरमा सबैभन्दा धेरै मासुको खपत यही बेला हुन्छ । 

प्रायले दसैँमा मार हान्ने, मठ मन्दिरमा बली दिने, बजारबाट समेत मासु किनेर उपभोग गर्छन् । दसैँमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० दोब्बरको हाराहारीमा मासुको उपभोग हुने पशु सेवा विभागको भनाइ छ । 

सोही कुरालाई मध्यनजर गर्दै सरकार र व्यापारीले दसैँका लागि भनेर काठमाडौं उपत्यकामा खसीबोका बिक्री वितरण सुरु गरिसकेका छन् । यो वर्ष काठमाडौं उपत्यकामा मात्र ५०–५५ हजार खसीबोका–च्यांग्रा खपत हुने विभागको आकलन छ । 

हरेक वर्ष दसैँलाई लक्षित गरेर ५० देखि ५५ हजारसम्म खसीबोका उपत्यका भित्र्याइने गरेको छ । उपत्यकाका लागि मकवानपुर, चितवन र विभिन्न पहाडी जिल्लाबाट खसीबोका आयात गरिन्छ । त्यस्तै, भेडा च्यांग्रा भने तिब्बतलगायत हिमाली भेगबाट आयात गरिन्छ । बाहिरबाट लामो यात्रा तय गरेर आएका खसीबोका ल्याउँदा ल्याउँदै कतिपय बिरामी हुने गर्छन् ।

दसैँमा अधिकांशले आफ्नै घरमा ल्याएर खसीबोका काट्ने चलन छ । तर, स्वस्थ खसीबोकाको पहिचान गर्न नसक्दा यसबाट विभिन्न रोग लाग्न सक्ने खतरा हुने स्वास्थ्य सेवा विभागका प्रवक्ता डा.चन्द्र ढकाल बताउँछन् ।  



‘दसैँमा खसीबोका किन्दा एकदमै ख्याल गर्नुपर्छ,’ उनी भन्छन्, ‘विशेष गरेर काठमाडौं उपत्यकामा धेरै टाढा–टाढा ल्याइएको हुन्छ ।’ स्वस्थ खसीबोका पहिचान गर्न कठिनाइ नहोस् भनेर काठमाडौं महानगरपालिका, पशु सेवा विभाग र बागमती प्रदेशको भेटेनरी अस्पतालले सहकार्यमार्फत परीक्षण गरिरहेको छ ।

कुन–कुन ठाउँमा कसरी हुँदै छ परीक्षण ?



पशु सेवा विभागले आइतबारदेखि नै खसीबोकाको स्वास्थ्य परीक्षण गरेर चिह्न लगाउन सुरु गरेको छ । विभागले काठमाडांैका विभिन्न ठाउँका बजारमा स्वास्थ्य परीक्षण गरेर स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न लगाइरहेको विभागका प्रवक्ता डा. ढकालको भनाइ छ । 

उनका अनुसार काठमाडौंका विभिन्न ११ वटा ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गरिरहेको छ । कलंकी खसी बजार, बल्खु कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल, राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्यांग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल अकाशे धारा र सुकेधारा थानकोट दाउरा डिपो, दहचोक मूलपानी चौर खसी बजारको होल्डिङ तथा संकलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गरिरहेको विभागले जनाएको छ । खसीबोकाको स्वास्थ्य परीक्षणका लागि तोकिएको ठाउँमा ५ देखि ७ जनाको टोली परिचालन गरिएको छ ।

पशु स्वास्थ्यकर्मीले पशुहरूको खरिद बिक्री हुने स्थानमा क्लिनिकल परीक्षण गर्ने, स्वस्थ पशुलाई हरियो रंग र रोगी पशुलाई रातो रंगले संकेत गर्ने व्यवस्था मिलाउने, रोगी पशुको उपचारको व्यवस्था गर्ने, आवश्यकताअनुसार रोग निदानका लागि नमूना संकलन र परीक्षण गर्ने कार्यक्रम रहेको छ ।

साथै पशु स्वास्थ्य तथा पशुसेवा ऐन, २०५५, सोको नियमावली, २०५६ तथा पशु ढुवानी मापदण्ड, २०६४ बमोजिम उपत्यका लगायत प्रमुख सहर बजारमा आपूर्ति हुने पशुवस्तुको स्वास्थ्य परीक्षण, ढुवानीका क्रममा पशुकल्याणका मापदण्ड पूरा गरे नगरेको चेकजाँच गर्ने, बजारमा पशुजन्य तथा मत्स्यजन्य उत्पादनको गुणस्तर परीक्षणका लागि नमूना संकलन र परीक्षण, बजारमा आपूर्तिका लागि ल्याइएका पशुवस्तुमा रोग तथा संक्रमणको निगरानी, मुख्य नाकामा क्वारेन्टाइन चेकजाँच तथा बजारमा पशुपन्छी, माछा, पशुजन्य, मत्स्यजन्य पदार्थहरुको तथ्यांक संकलन तथा रिपोर्टिङ गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ । 

‘दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चार्डपर्वमा पशुजन्य पदार्थको माग अत्यधिक हुन्छ । आमउपभोक्तालाई स्वच्छ, स्वस्थ एवं गुणस्तरीय पशुजन्य पदार्थको उपलब्धता सुनिश्चित गर्नु सरकारको दायित्व पनि हो,’ उनी भन्छन्, ‘सोही कुरालाई मध्यनजर गर्दै हामीले टोली परिचालन गरेरै परीक्षण गरिरहेका छौँ ।’ 

पशु चिकित्सकले दसैँमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमुनाको आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिङमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउनेछ ।

पशु स्वास्थ्य परीक्षण तथा नाका अनुगमनका लागि टोली असोज २८ देखि कात्तिक ६ गतेसम्म खटिनेछ । दसैँँको मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरुवा रोगबाट प्रभावित खसीबोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना भएकाले परीक्षणमा कडाइ गरिएको उनको भनाइ छ । साथै उनले शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिह्न भएका खसीबोका मात्र खरिद गर्न पनि उनले सुझाब दिए । 

दसैँमा कस्तो खसी–बोका छनोट गर्ने ?

काठमाडौं उपत्यकामा ल्याइने खसी बोकाको सिङमा नीलो र रातो रङ लगाइएको हुन्छ । नीलो रङ लगाइएका खसी स्वस्थ हुन् भने रातो रङ लगाइएका अस्वस्थ हुन् । तपाईं पनि खसी किन्दै हुनुहुन्छ भने सिङमा हरियो रङ लगाइएको खसीबोका रोज्न उनी सुझाब दिन्छन् । खसी बोका उपत्यका भित्र्याउँदा विभिन्न स्वास्थ्य जाँच गरेरै ल्याइन्छ ।

तर, कतिपय अवस्थ्य खसीबोका उपत्यका ल्याउँदाल्याउँदै बाटोमै बिरामी हुने गर्छन । उक्त कुरालाई मध्यनजर गर्दै उपभोक्ताले स्वस्थ खसी पाउन् भनेर विभागले खसी बोकाको स्वास्थ्य परीक्षण प्राविधिक टोली नै खटाएको उनको भनाइ छ ।  

खसीको स्वास्थ्य परीक्षण गर्दा आँखामा कचेरा, नाकमा सिँगान, ज्वरो छ कि छैन भनेर जाँच गरिन्छ । जाँच गर्दा सबै सामान्य भेटिए खसीको सिङमा हरियो रङ ‘स्प्रे’ गरिन्छ ।

जाँच गर्दा ज्वरो, आँखामा कचेरा, नाकमा सिँगान र पातलो दिसा देखिए खसीको सिङमा रातो रङ ‘स्प्रे’ गरिन्छ । अस्वस्थ खसी छ भने त्यस्ताका सिङमा तुरुन्त रातो रङ लगाएर उपचार गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिने पनि उनले बताए । सामान्यतया चौपायाको शारीरिक लक्षण हेरेर पनि तिनको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिन्छ । 

पशु चिकित्सकहरूका अनुसार झोक्राएर बसेका, रसिला आँखा भएका, नाकबाट सिँगान बगेका र मुखबाट र्याल चुहाइरहेको चौपाया खरिद गर्नुहुँदैन । सिंगान नबगेका, र्याल नचुहिएका, आँखाबाट कचेरा ननिस्किएका, खुट्टाहरू नसुन्निएका र भुँडी नढाडिएको खसीबोका स्वस्थ हुने उनी बताउँछन् । 

साथै उनले खानकालागि मासु छनोट गर्दा कम बोसो भएको पशु छनोट गर्न पनि आग्रह गरे । ‘सामान्यतया मासुमा अन्य खाद्य पदार्थको तुलनामा बढी क्यालोरी पाइन्छ । मानिसको शरीरको लागि बोसोजन्य खाना उपयुक्त हुँदैन । त्यसैले खसी–बोका रोज्दा कम बोसो भएको रोज्नुपर्छ,’ ढकालले भने । मोटो र ठूलो आकारको खसी–बोकामा सबैको आकर्षण देखिन्छ, तर तुलनात्मक रूपमा त्यस्ता प्रकारका खसी–बोकाको मासु कम स्वस्थकर हुन्छ । 

‘हेर्दा ठिक्क पातलो, फुर्तिलो, शरीर चिल्लो देखिने र शरीर छाम्दा गाँठागुँठी नभएको खसी बोका मासुको लागि उपयुक्त हुन्छ । सामान्यतया यस्ता प्रकारका खसी बोका निरोगी र मासु खानको लागि उपयुक्त हुन्छ,’ उनले भने । 

त्यसैगरी, उनले बोका छनोट गरिसकेपछि मासु तयार गर्दा पनि ध्यान दिन आग्रह गरे । ‘मासु पहेँलो देखिएमा, ग्रन्थी सुन्निएको भेटिएमा, शरीर र पेटमा पानीको फोका बढी भेटिएमा त्यस्तो मासु प्रयोग गर्नुहुँदैन,’ डा. ढकाल भन्छन्, ‘कुनै पनि पशुपन्छीको टाउको, कलेजो, फोक्सो, आन्द्राभुँडी, रगत र खुट्टा प्रयोग गर्न उपयुक्त हुँदैन, प्रयोग गर्न नै परेमा तत्काल राम्रोसँग सफा गरेर प्रयोग गर्नुपर्छ ।’

  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार १८:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया