logo-img

मुख्यमन्त्री जम्मकट्टेल भन्छन्- बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गरौँ
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका छन् । मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बागमती प्रदेशको नाम र राजधानी दुबै अनुपयुक्त रहेको बताए ।

बागमती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म  प्रदेशको नाम ‘नेवा–ताम्सालिङ नै हुनुपर्छ’ भनेर अडान लिए पनि त्यतिबेला सम्भव हुन नसकेको बताए ।

मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्छ, प्रदेश राजधानी हेटौंडामा अपायक छ, प्रदेशको एउटा कुनामा छ, चितवन र मकवानपुरबाहेक अरु ११ जिल्लालाई पायक पर्दैन, सबैलाई पायकपर्ने गरी प्रदेश राजधानी धुलिखेलनै राखिनुपर्छ, उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुबै परिवर्तन हुन्छ र त्यो प्रदेशसभाको अधिकार पनि हो ।’



अहिलेको व्यवस्था मन नपराउनेबाट असन्तुष्टिका स्वर आउन सक्ने मुख्यमन्त्री जम्मकट्टेलको भनाइ छ । बागमती प्रदेशले नेवार र तामाङ समुदायको भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्ने गरी ऐन पारित गरेको र यसलाई आगामी ६ महिनाभित्र सबै निकायमा कार्यान्वयनमा ल्याउने उनले बताए ।

अहिले नै सरकारी निकाय र स्थानीय तहलाई कुनै पनि सूचना जारी गर्दा, साइनबोर्ड राख्दा नेपालीसहित नेपाल भाषा र तामाङ भाषामा समेतको प्रयोग गर्न निर्देशन दिइसकेको, सरकारी कार्यालयमा यी तीन वटै भाषाको निवेदन लिन पनि निर्देशन दिइसकेको मुख्यमन्त्री जम्मकट्टेलको भनाइ छ । प्रदेशसभाले स्वास्थ्य ऐन पारित नहुँदा धेरै स्वास्थ्य संस्था नवीकरण हुन नसकेको भन्दै हिउँदे अधिवेशनले ऐन पारित गर्ने उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार १८:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया