भारतबाट चोरबाटो हुँदै भित्रिन्छ खसीबोका, नेपाली किसान दसैँमा पनि मर्कामा
नेपालमा के छ खसीबोका उत्पादन र खपत ?

अहिले नेपालीको महान चाड वडादसैँको उल्लास देशभर छ । वडादसैँको विशेषता भनेकै परिवारका सम्पूर्ण सदस्य एक ठाउँमा भेला हुने, मान्यजनबाट टीका थाप्ने, मिठोमसिनो खाने आदि हुन्छ । यस्तै, दसैँमा धेरैको रोजाइमा पर्छ खसी-बोकाको मासु ।

पछिल्लो समय दसैँमा खसी-बोकाको मासु अनिवार्य खानुपर्छ भन्ने चलन बस्न थालेको छ । जसकारण दसैँमा आर्थिकभार पनि थपिँदै छ । अहिले दसैँकै लागि भए पनि मानिसहरू महँगो मूल्यमा खसी-बोका किन्ने गरेका छन् । यही मौकामा व्यवसायीले अवैधरूपमा भारतबाट खसी-बोका भित्र्याएर महँगो मूल्यमा बिक्री गर्ने गरेको घटनाहरू पनि प्रशस्त सुनिन थालेका छन् । 

केही दिनअघि मात्र प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद महेश बर्तौलाले भारतबाट अवैधरूपमा आयात भएका खसी बोकाको नियन्त्रण गर्न सरकारसँग माग गरे । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले भारतबाट अवैधरूपमा आयात भएका खसी बोकाको नियन्त्रण गर्न सरकारसँग माग नै गरेका छन् । 

एमाले सांसद महेश बर्तौला

बर्तौलाले नेपालका किसान बजारको माग गर्दै मन्त्रालय धाइरहेको अवस्थामा ६० प्रतिशत भारतबाट अवैध आयात खसी बोकाले बजार कब्जा गरिरहेको पनि बताए । 

‘नेपालका किसानहरू हामीले बाख्रा पाल्यौँ उत्पादन गर्‍यौँ । तर बजार पाएनौँ, मूल्य पाएनौ भन्नुहुन्छ । भारतको खसी बोकाले कब्जा गर्‍यो बजार । नेपाल सरकारको आधिकारिक निकायलाई सोध्दा एउटा पनि खसी बोका मासुको लागि आयात भएको छैन,’ उनले भने, ‘तर काठमाडौंको खसी बजारमा ६० प्रतिशत भन्दा बढी भारतबाट आएर कब्जा गरेको छ । यो कसरी आइपुग्छ । गम्भीर प्रश्न खडा भयो । यस प्रकारको अवैध आयातमा आँखा चिम्लेर बस्ने ? यस्तो अवैध आयात तुरुन्त नियन्त्रण गरियोस् ।’



नेपालको सिमानामा कडा सुरक्षाको व्यवस्था गर्नुपर्ने पनि सांसद बर्तौलाको माग छ । सरकारले आर्थिक वर्ष २०७७/७८ देखि खसी, बोका र राँगा आयातमा रोक लगाएको छ । त्यसअघिसम्म दसैँमा भारतबाट बर्सेनि ठूलो मात्रामा खसीबोका भित्रिने गरेको थियो । साथै यसरी ठूलो मात्रामा आयात हुँदा राज्यको करोडौं रुपैयाँ बाहिरिने गरेको थियो ।

पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थता प्रमाणपत्रका आधारमा मात्रै खसी–बोका भित्रिन दिने नीति सरकारले लिएको छ । व्यापारीले यस्तो प्रमाणपत्र ल्याउन नसक्दा भारतीय खसी-बोका नेपाल भित्रिन नसकेका हुन् । अहिले भारतीय क्वारेन्टाइनको स्वस्थता, सेनेटरी प्रमाण र ल्याब रिपोर्ट नल्याएका खसी-बोका भन्सार पास हुँदैनन् । तर, खुला सीमाका कारण अवैध तरिकाले खसीबोका नेपाल भित्रिने गरेको किसानको गुनासो छ । 



‘अवैध आयातले नेपाली खसीबोका बिक्री भएन’  

दसैँका लागि हिन्दु धर्मावलम्बीले खसीबोका, च्याङ्ग्रा आदि खरिद गर्छन् । त्यसैले दसैँमा खसीबोकाको कारोबार बढी हुन्छ । तर, खसीबोकाको अवैद्य आयातले किसान मारमा परिरहेको नेपाल व्यावसायिक बाख्रा पालक महासंघका पूर्वमहासचिव अमृत तिवारी बताउँछन् ।  

‘अहिले पनि भारतीय खसी-बोका बजारमा छ्याप्छ्याप्ति छन्,’ उनी भन्छन्, ‘भारतबाट आउने अवैध खसी-बोकाको कारण हाम्रो उत्पादनले सोचे जस्तो बजार पाउन सकेको छैन । एउटा खसी बिक्री गरेर दसैँं मान्छु भन्ने किसान निराश छन् । गाउँ–गाउँमा खसीबोका छन् । तर, व्यापारीले संकलन गरेर लगेका छैनन् ।’

भारतबाट आउने अवैध खसी-बोकाले बाख्रा पालन व्यवसाय धरापमा परेको तिवारी गुनासो गर्छन् । उनका अनुसार सरकारले घुमाउरो तरिकाले खसीबोका आयातमा प्रतिबन्ध लगाएको छ । तर, खुला सिमानाका कारण अवैध तवरले खसी-बोका भित्रिरहेको तिवारीको भनाइ छ । सोही कुरालाई मध्यनजर गर्दै व्यवसायी आफैं अवैध खसी-बोका भित्रिन नदिन सीमा नाकामा खटिएका छन् । 

‘यो चाडपर्वको बेलामा अझ धेरै खसी-बोका भित्रिन्छ,’ तिवारी स्पष्ट पार्छन्, ‘त्यसैले हाम्रा व्यवसायी साधीहरू नाका–नाकामा खटिरहनुभएको छ । ४/५ दिन हामी निरन्तर खटिन्छौं ।’

खुला सिमानाका कारण भारतीय खसीबोका नेपाल भित्र्याउन धेरै सजिलो भएको पनि उनी बताउँछन् । ‘खुला सिमानाका कारण पारिबाट खसीबोका चराउँदै ल्याउने, वारि आइपुग्नेबित्तिकै त्यो खसीबोका नेपालको भइदिन्छ । साथै नेपालमै सीमा नजिकै फर्म दर्ता भएका व्यवसायीहरूले पनि यस्ता गलत नियतका साथ कारोबार गरिरहेका छन्,’ महासंघका पूर्वमहासचिव तिवारीले भने । 

सरकारी तथ्यांकअनुसार भन्सार जाँच पास भएर दिनमा एउटा पनि खसीबोका नेपाल भित्रिएको देखिँदैन । तर, काठमाडौं उपत्यकालगायतका शहरमा अधिकांश खसीबोका भारतीय पाइने तिवारीको भनाइ छ । 

‘तपाईँले काठमाडौं उपत्यकालगायतका शहरमा हेर्ने हो भने ८०/९० प्रतिशत खसीबोका भारतीय पाइन्छ,’ उनले भने, ‘भारतीय हो भनेर खसीबोकाको शारीरिक बनावटबाट नै चिनिन्छ । अर्को गम्भीर कुरा के छ भने भारतको गोवा, दिल्लीमा नेपालको भन्दा बढी मासुको रेट छ । तर, त्यहाँ महँगोमा बिक्री हुँदा हुँदै भारतीय व्यापारीले नेपालमा सस्तो किन पठाउँछन् ? नेपालको बाख्रा व्यावसायलाई ध्वस्त बनाउन सस्तोमा बसीबोका नेपालमा पठाइरहेका छन् । र, २/३ वर्षमा नेपालको व्यवसाय सबै सखाप भएपछि एकाधिकार बजारका लागि चलखेल भइरहेको छ, यहाँ ।’ 

तिवारीका अनुसार नेपालमा उत्पादित खसीबोकाले ७०/८० प्रतिशत माग धान्न सक्छ । तर, पछिल्लो समय बाख्रापालन व्यवसायबाट किसान पलायन हुँदै गएका छन् । बजार, मूल्य, अनुदान, बैंकिङ अनुदानलगायतले गर्दा बाख्रापालन किसान विस्तारै पलायन हुँदै गएको तिवारीको भनाइ छ । सरकारले केही सहयोग गर्ने हो भने नेपाल चाँडै खसी बोकामा आत्मनिर्भर हुने पनि उनी बताउँछन् । 

‘अहिले नेपाली उत्पादनले ७०/८० प्रतिशत माग धान्न सक्छ । सरकारको नीति राम्रो भएको भए पहिला नै हामी खसीबोकामा आत्मनिर्भर भइसक्थ्यौँ,’ महासंघका पूर्वमहासचिव तिवारीले भने ।  

पहिलेको तुलनामा मुलुकमा उत्पादन बढ्दै गए पनि पूर्णरूपमा आत्मनिर्भर भइनसकेको उनी बताउँछन् । तिवारीका अनुसार छिमेकी मुलुक भारतबाट लुकीछिपी ठूलो संख्यामा खसीबोका नेपाल भित्रिरहेका छन् । 

के साँच्चै आयात भइरहेको खसीबोका ?

खुला सिमानाका कारण चोरीपैठारी, अवैद्यरूपमा खसीबोका नेपाल भित्रिन सक्ने पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार वैधानिकरूपमा दुई/तीन वर्षयता भारतबाट खसीबोका आएको छैन । तर, अवैध तरिकाले भित्रिएको हुनसक्ने पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा.चन्द्र ढकाल बताउँछन् ।

‘केही वर्षयता औपचारिकरूपमा भारतबाट खसीबोका भित्रिएको छैन । तर, खुला सिमा धेरै छ । खुला सीमाबाट अवैध तरिकाले भित्रिएको हुनसक्छ,’ उनी भन्छन्, ‘यदि अवैध तरिकाले आएको पाइए भन्सार कार्यालय, पशु क्वारेनटाइन चेकपोस्ट, सुरक्षा निकायहरूले नष्ट गर्छन् ।’

ढकालका अनुसार खसीबोकाको हकमा नेपालकै उत्पादनले पुग्छ । उत्पादन भन्दा पनि बजारीकरणको केही समस्या छ । दसैँ–तिहारमा खसीबोकाको माग एकदमै धेरै हुन्छ । एकैपटक धेरै माग हुने हुनाले बजारीकारणमा केही समस्या आउने उनी बताउँछन् । ‘हाम्रो उत्पादनले नपुग्ने भन्ने हुँदैन । हाम्रै उत्पादनले प्रशस्त पुग्छ । हाम्रोमा समस्या भनेको बजार व्यवस्थापन मात्रै हो,’ ढकालले भने । 

नेपालकै उत्पादनले पुगे पनि भारतबाट अवैध तरिकारले खसीबोका मात्र होइन, कुखुरा, माछा, मासु आयात गर्ने गर्छन् । भारतमा कुखुरा, अण्डा, माछामासुको मूल्य नेपालमाभन्दा सस्तो पर्ने भएकोले बढी मुनाफा कमाउनको लागि भारतीय वस्तु लुकीछिपी नेपाल ल्याउने गरेको पाइन्छ । 

खुला सीमा भएका कारण अवैध आयात रोक्न सहज नभएको उनको तर्क छ । ‘अवैध आयात हुन्छ, त्यो रोक्न सम्भव छैन,’ ढकालले भने, ‘पारीबाट वारि चरणको लागि ल्याएको होकी बेचबिखन गर्न केही पत्ता लाग्दैन । किनकी चराउँदै हिँडिरहेका हुन्छन् ।’ 

भारतबाट सामान्य कागजमा नेपाल आयात गर्न पाउने र नेपालमा क्वारेन्टाइन चेक हुने व्यवस्था भयो भने अवैध आयात केही कम हुने ढकालले बताए । यस्तो हुन सके राजश्व वृद्धि हुनुका साथै तस्कर नियन्त्रण हुन्छ । साथै आम उपभोक्तालाई क्वारेनटाइनको महत्व बुझाउन जरुरी रहेको पनि ढकाल बताउँछन् ।  ​

पाँच वर्षमा बाख्रा र च्याङ्ग्रा उत्पादनको अवस्था 

देशमा बाख्रा र भेडाको संख्या तथा मासु उत्पादन स्थितिलाई अवलोकन गर्ने हो भने बाख्राको संख्या र मासुको उत्पादनमा वृद्धि हुँदै आएको  उल्लिखित तथ्यांकबाट स्पष्ट हुन्छ । त्यस्तै, पाँच वर्षमा भेडाको संख्यामा  र मासुको तथ्यांकलाई हेर्ने हो भने २०१७/१८ देखि २०२१/२२ सम्म आइपुग्दा उतारचडाव आएको देखिन्छ । 

नेपालमा १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८५७ बाट बढेर ३४ लाख ५ हजार ०१४ पुगेको छ । यस्तै, खसी/बोका/च्याङ्ग्राको संख्या करिब १ करोड ४२ लाख पुगेको कृषि गणना २०७८ को तथ्याङ्कमा उल्लेख छ । 

कति छ माग ?

दसैँलाई लक्षित गरेर आइतबार (घटस्थापना) देखि व्यवसायीले उपत्यकामा खसीबोका भित्र्याएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्छन् ।

सामान्य अवस्थामा करिब २ हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिकरूपमा बढ्दै गएको चौपाया खरिदबिक्री सेवा सङ्घले जनाएको छ । संघका अनुसार उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने अनुमान छ ।

दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजारको हाराहारीमा खसीबोका र च्याङ्ग्रा गरी खपत हुने व्यवसायीको अनुमान छ । दसैँमा सबैले अधिक मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । देशका विभिन्न स्थानमा हुने स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुक भारत र चीनको तिब्बतबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गर्छन् । 

यस्तै, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र १ हजार च्याङ्ग्रा बिक्री गर्ने भएको छ । गत वर्षको दसैँ–तिहारमा घटस्थापनादेखि महानवमीको अवधिमा करिब ५४ हजार जिउँदा पशु काठमाडौं भित्रिएकोमा खसीबोका ५१ हजार, च्याङ्ग्रा २५ सय र राँगा ५ सय भित्रिएको थियो ।  

हरेक वर्ष  काठमाडौं उपत्यकामा मात्र ५१ देखि ५२ हजार खसीबोका खपत हुँदै आएको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा. चन्द्र ढकाल बताउँछन् । 

हाल देशभर १ करोड ४२ लाख बाख्रा छन् । जसबाट वार्षिक ५०/५१ लाख खसीबोका उत्पादन हुन्छ । तर, ती सबै मासुका लागि उपयुक्त नहुने ढकालको भनाइ छ । देशभर वार्षिक ५१ लाख खसीबोकाको माग हुन्छ । जसमा ५ लाख उपत्यकामा खपत हुने उनी बताउँछन् । 

  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार १९:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया