दसैँमा स्वास्थ्यको पनि राखौँ ख्याल, खानपिनमा के दिनुपर्छ ध्यान ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालीहरूको महान् चाड बडा दसैँले हरेक नेपालीको घरलाई छाइसकेको छ । दसैँ भन्ने बित्तिकै धेरैको मानसपटलमा मिठा–मिठा खानेकुराका परिकार, मासुका थरी थरीका व्यञ्जन तथा मिठाईहरूको लस्कर सम्झना आउँछ । विशेष गरी दसैँको समयमा मासु, मिठाई, फलफूल र अन्य गरिष्ठ परिकारको उपभोग बढ्छ ।

घटस्थापना गरेसँगै दसैँको अष्टमीमा खसी बोका, हाँस, राँगाको बलि दिने चलन छ । यससँग दसैँमा मासुका परिकारहरू भान्सामा धेरै पाक्छन् । तर, चिकित्सकहरूले भने धेरै मासु खानु स्वास्थ्यका लागि हितकर नहुने बताउँछन् । उनीहरूका अनुसार धेरै दिनदेखिको निरन्तर मासुका परिकार खानु झन् स्वास्थ्यका दृष्टिकोणले निकै हानिकारक छ ।

मांसाहारीले दसैँमा मासुका परिकारबाहेक अन्यतिर आँखा नै लगाउँदैनन् । शाकाहारीले पनि दसैँमा विभिन्न प्रकारका फलफूल तथा तरकारीका परिकारका साथै मिठाइको परिकार खान्छन् । मिठाइको परिकार धेरै खाँदा यसले पनि शरीरलाई फाइदा पुर्याउँदैन । त्यसैले दसैँमा खानपानमा विशेष ध्यान दिन स्वास्थ्य विज्ञ सुझाउँछन् । 

चाडवाडको समयमा स्वास्थ्यको ख्याल गरेनौँ भने स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । कोही व्यक्तिलाई दीर्घ वा अन्य कुनै प्रकारको रोग छ भने झन् खानपानमा विशेष ध्यान दिनुपर्छ । दीर्घ रोगहरू जस्तै मुटुसम्बन्धी रोग, कोल स्टोर, डाइभेटिज, युरिक एसिड, थाइराड, मृगौलासम्बन्धी रोग हुनेहरूले खानपानमा विशेष सावधानी अपनाउनु पर्ने चिकित्सकहरू बताउँछन् । खानामा लोभ गर्नाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएका कारण के खाने के नखाने भन्ने विषयमा जानकार हुन आवश्यक छ । 

नेपालीको भान्सामा पाक्ने खाने कुरा सामान्य तया मुटोरीगीलाई फाइदा पुग्ने खालको नहुने चिकित्सकहरू बताउँछन् । अत्यधिक मात्रामा चिल्लो, मसलादार र रातो मासुका परिकार चाडबाडमा पाक्ने गरेका छन् जुन मुटुका लागि फाइदा पुर्‍याउने खालका हुँदैनन् ।

मुटु रोग विशेषज्ञ डा. दिवाकर शर्माका अनुसार सामान्य अवस्थामा पनि खानपानमा ध्यान दिन जरुरी हुन्छ । अझ चाडपर्वमा त झन् मासुका परिकार धेरै पाक्ने भएका कारण सावधानी अपनाउन अत्यन्त आवश्यक छ । ‘मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले दसैँमा स्वास्थ्यको ख्याल गर्ने हो भने मासुको परिकार, चिल्लो, नुनमा नियन्त्रण गर्नुपर्छ,’ डा. शर्माले भने । 



त्यस्तै युरिक एसिड भएका व्यक्तिहरूले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना खानु स्वास्थ्यकर हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउने चिकित्सक बताउँछन् ।

युरिक एसिड भएका व्यक्तिले यस्ता खाना धेरै खाएमा हड्डी कुँज्जिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस् पनि हुन सक्छ । चाडपर्वमा माछा मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा फाइदा हुन्छ ।



त्यस्तै दसैँमा मदिरा धेरै सेवन गर्दा कलेजोमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन जरुरी छ । विशेष गरी कलेजो मदिरा र बोसोयुक्त तथा चिल्लो खानाले बिग्रन सम्भावना हुन्छ ।

चाडपर्वको नाममा मासु धेरै खाने चलन स्वास्थ्यका लागि हानिकारक हुन्छ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ । शरीरलाई पच्ने गरी खाना खानुपर्ने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् ।

घरमै बनाएका परिकार खाँदा शरीरलाई फाइदा पुग्ने भएकाले जतिसक्दो कम मसलायुक्त खाना खानुपर्ने उनले जानकारी दिइन् । डा. उप्रेतीका अनुसार चिल्लो हालेको खाने कुरा कमभन्दा कम खानुपर्छ । धेरै मसला हालेको खानेकुराहरू खानुहुँदैन । घरमै बनाएको खानेकुरा खाँदा शरीरलाई फाइदा पुग्छ । हामीले प्रयोग गर्ने मासु पुरै स्वच्छ हुनुपर्छ । बजारबाट किनेको मासु हो भने ताजा छ या छैन भनेर किन्ने बेलामै ध्यान पुर्‍याउनुपर्छ । ताजा मासु रातो देखिन्छ । बासी मासु रङ उडेको र छाम्दा गिलो हुन्छ । धेरै दिन मासु सञ्चित गरेर खानु राम्रो मानिँदैन ।

चिकित्सकका अनुसार चाडपर्वको बेला मात्र खानेले भने २ सय ग्रामसम्म खाँदा असर गर्दैन । मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानुहुँदैन । दसैँमा मादक पदार्थ सेवन सकेसम्म नगर्न डा. उप्रेती सुझाउँछिन् । ‘दसैँ स्वभावैले खानपानसँग जोडिएको पर्व हो,’ उनी भन्छिन्, ‘दीर्घरोगीले यो पर्वमा अलि बढी ध्यान दिन जरुरी छ । र, स्वस्थ मानिसले पनि स्वास्थ्यको ख्याल गर्दै मसलादार, चिल्लो तथा पिरो खानेकुरा खाँदा ध्यान पुर्‍याउनुपर्छ, नभए पछि यसले समस्या निम्त्यान सक्छ।’

  • प्रकाशित मिति : कात्तिक ५, २०८० आइतबार ११:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया