समयमै उपचार गरे निको हुन्छ स्तन क्यान्सर
फाल्नु पर्दैन स्तन

स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक हो । महिलालाई हुने सबै क्यान्सरहरूमध्ये एक तिहाइ स्तन क्यान्सर हुन्छ । स्तन क्यान्सर महिलालाई मात्र नभई पुरुषलाई पनि हुन्छ । तर, पुरुष स्तन क्यान्सरका बारेमा धेरै चर्चा गरिएको पाइँदैन । 

कोशिकाहरू असामान्य (नियम विपरीत) रूपमा विकास भएर स्तनमा गाँठा बनाउँछ । त्यहीँ गाँठा बिस्तारै ठूलो हुँदै स्तन क्यान्सरको रूप लिने भक्तपुर क्यान्सर अस्पतालका शल्य चिकित्सक डा. पुण्यराम खर्वुजा बताउँछन् । 

पुरुषलाई पनि स्तन क्यान्सर हुनसक्छ । तर, महिलालाई हुने स्तन क्यान्सरको तुलनामा पुरुषलाई स्तन क्यान्सरको सम्भावना १५० गुणा कम हुन्छ । त्यसैले कुनै पनि पुरुषलाई स्तनमा (खास गरी एकापट्टि मात्रै) कुनै किसिमको गाँठो छ, जसमा कुनै पीडा छैन भने स्तन क्यान्सरको शंका गर्नुपर्ने हुन्छ । 

डा. खर्वुजाकाअनुसार स्तनमा गाँठाहरू आउँछन् । तर स्तनमा आउने करिब ८० प्रतिशत गाँठा क्यान्सर हुँदैनन् । स्तनमा आएका गाँठाहरूमध्ये नदुख्ने, काखीमुनिको गाँठा, स्तनको आकार र रङमा परिवर्तन, स्तनमा खाल्डो भएजस्तो देखिने, स्तनको छाला सुन्तलाको बोक्रा जस्तो हुने लगायत निप्पलबाट पिप वा रगत बग्ने लक्षण देखिएपछि तुरुन्त चिकित्सककहाँ जानुपर्छ । स्तन क्यान्सर महिला मात्र नभई पुरुषमा पनि हुने डा. खर्वुजाले जानकारी दिए । स्तन क्यान्सर हार्मोन गडबडीले हुने भएकाले पुरुषमा देखिने उनले बताए । 

स्तन क्यान्सर विश्वका हरेक देशमा किशोरावस्थापछि जुनसुकै उमेरका महिलामा हुने सम्भावना हुन्छ ।  तर, नेपालमा पछिल्लो समय अविवाहित युवतीमा स्तन क्यान्सरको जोखिम बढी देखिरहेको चिकित्सकहरू बताउँछन् ।  

डा. खर्वुजाका अनुसार विदेशमा भन्दा नेपालमा अविवाहित युवतीमा स्तन क्यान्सरको जोखिम बढी छ । ढिलो बच्चा जन्माउने, जीवनशैली र वंशाणुगत कारणले पनि युवतीहरूमा क्यान्सरको समस्या बढेको बताए । 



‘नेपालमा पहिले पाठेघरको मुखको क्यान्सर धेरै थियो । तर आजभोलि स्तन क्यान्सरले त्यसलाई उछिनेको छ,’ डा. खर्वुजाले भने, ‘नेपालमा स्तन क्यान्सर परीक्षण गर्ने स्रोत, साधन यथेष्ट भएकाले पछिल्लो दिनमा यसको बिरामी बढी पत्ता लागिरहेका छन् । अर्कोतर्फ हाम्रो जीवनशैलीले पनि प्रभाव पारेको छ । जंक फूड खाने बानीको कारणले पनि स्तन क्यान्सरको जोखिम अत्यन्त बढेको छ ।’ 

चिकित्सकहरूका अनुसार स्तन क्यान्सरका केही लक्षणहरू पनि हुन्छन् भने स्तन क्यान्सर हुने जोखिममा केही कारणहरू पनि । कतिपयलाई स्तन क्यान्सर वंशाणुगत कारणले पनि हुन्छ । ३५ वर्षपछि विवाह भएर बच्चा जन्माएका, १२ वर्षअघि नै महिनावारी सुरु भएका, ५० वर्षमाथिका महिला, मोटोपन भएका र बढी चिल्लो तथा बोसोयुक्त खाना खाने, अविवाहित र बच्चा नजन्माएका महिला तथा स्तनपान पनि नगराएका महिलाहरूमा स्तन क्यान्सरको जोखिम हुने चिकित्सकको भनाइ छ । 



डा. खर्वुजा ४० वर्ष नपुग्दै स्तन क्यान्सरको परीक्षण गराउन सुझाव दिन्छन् । उनका अनुसार ४० वर्ष नाघेकाले दुई वर्षको अन्तरालमा म्यामोग्राफ गराउनुपर्छ । ५० वर्ष नाघेकाले हरेक वर्ष म्यामोग्राफ गराए क्यान्सर भए सुरुमै पत्ता लाग्दछ । 

फाल्नु पर्दैन स्तन

स्तन क्यान्सर पत्ता लगाउन अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) र म्यामोग्राफ गरिन्छ । ४० वर्षभन्दा कम उमेरका महिलाको स्तनमा गाँठा छ, छैन भनेर पत्ता लगाउन अल्ट्रासाउण्ड गरिन्छ । ४० वर्ष माथिकाको म्यामोग्राफबाट स्तनको परीक्षण गराउनु उत्तम हुने डा. खर्वुजा बताउँछन् । 

आजभोलि ‘स्तन फालेर होइनः स्तन बचाएर उपचार गर्ने मान्यतालाई आधार बनाई स्तन क्यान्सरको उपचार गर्दै आइरहेको डा. खर्वुजा बताउँछन् । ‘पहिले–पहिले स्तन क्यान्सर भनेपछि पूरै फाल्नुपर्छ भन्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘तर आजभोलि स्तन क्यान्सरको डल्लो निकालेर रेडियो थेरापी दिइसकेपछि स्तन फालेर गर्ने उपचारजस्तै भरपर्दो र उपलब्धिमूलक हुन्छ ।’ 

स्तनको शल्यक्रियापछि बिरामीलाई केमो थेरापी, आवश्यक परेको खण्डमा रेडिएसन थेरापी तथा हार्मोन थेरापी भन्ने खाने चक्की पनि प्रयोग गर्न सकिन्छ । क्यान्सरको बायोलोजिकल किसिमलाई बुझेर उपचार डा. खर्वुजाले जानकारी दिए । त्यसैले रोगको प्रकृति हेरी उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए । 

स्तन क्यान्सरका बिरामीले समयमै उपचार पाए पूर्ण रूपमा निको हुने डा. खर्वुजा बताउँछन् । ‘सबै कुराहरू नकारात्मक मात्र छैनन्,’ उनले भने, ‘आज पनि विश्वमा धेरै महिलाहरू स्तन क्यान्सर लागेर पनि समयमै उपचार सुरु गरेकाले रोगमुक्त भई सामान्य जीवनयापन गरिरहेका छन् ।’ त्यसैले स्तन क्यान्सरबारे कुनै शंका लागेको खण्डमा चिकित्सककहाँ गएर परीक्षण गराएर निर्धक्क भएर बस्न डा. खर्वुजाले सुझाए । 

  • प्रकाशित मिति : कात्तिक १०, २०८० शुक्रबार १२:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया