ट्रमा सेन्टर आउने ८० प्रतिशत बिरामीको अप्रेसन गर्नुपर्ने, एमआरआई मेसिन नहुँदा समस्या
फिजियोथेरापी सेवा बिस्तार गर्ने योजना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ । ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिव चार सय ५० देखि पाँच सयजना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने जानकारी दिए । 

हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ । उनले अस्पतालमा बिरामीको चाप हुने गरेकाले दुई सय १८ शैय्या सञ्चालनमा रहेको जानकारी दिए । डा.रिजालले सेवा प्रवाहलाई चुुस्त दुरुस्त बनाउन जनशक्ति अभाव भएको बताए । झन्डै तीन सयजनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै तीन सय गरी ६ सय जना कर्मचारी कार्यरत रहेको भए पनि दरबन्दी पर्याप्त नहुँदा एकजना चिकित्सकले तीनदेखि चारजना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

अस्पतालमा एक सयजना चिकित्सक र दुई सय ५० जना नर्स कार्यरत छन् । अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको उनले जानकारी दिए । आफू वार्डहरुको स्तरोन्नति गर्नेतर्फ लागिरहेको बताउँदै उनले अहिले अनलाइन टिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको बताए । 

‘आइसियू बेड १० वटा भएकोमा १ थप गरी ११ वटा आइसियू बेड र ८ वटा एचडियू बेड थप गरी १९ वटा बेड आइसियूबराबरको सेवा सञ्चालन भइरहेको छ,’ डा.रिजालले भने, डा.रिजालले भने, ‘वार्डहरुको स्तरोन्नति गर्नेतर्फ लागिरहेका छौँ । अहिले तीन ठाउँमा फार्मेसी सञ्चालनमा छन् । अहिले लगभग सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको छ ।’ 

ट्रमा भएर आइसकेपछि रेनर फेलरतर्फ जान थाल्यो भने केही बिरामीलाई डायलायसिस गर्नुपर्ने उनले बताए । ‘त्यस्तोको लागि इमरजेन्सीको लागि आइसियूमा एउटा बेडमा एउटा डायलायसिस मेसिन जोड्दैछाँै,’ उनले भने, ‘ट्रमा सेन्टरमा दैनिक साढे तीन सयजना ओपिडीमा बिरामी आउनुहुन्छ । इमरजेन्सीमा एक सयदेखि एक सय ५० जना आउनुहुन्छ । लगभग चार सय ५० देखि पाँच सय बिरामीहरु हेरिरहेका छौँ ।’ 

बिरामीको लोड बढेको कारणले अहिले २१८ बेड सञ्चालन गरिरहेको उनले जानकारी दिए । ‘ट्रमामा आएकामध्ये ८० प्रतिशतलाई अप्रेसन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसको लागि हामी कहाँ पोष्टप बेडको पनि समस्या छ ।’ 



अहिले ट्रमामा ६ सय जना कर्मचारी छन् । तीन सयजनाको हाराहारीमा स्थायी दरबन्दी छ भने अरु आउट सोर्सिङ गर्ने स्टाफ र आन्तरिक स्रोतबाट हो । जनशक्ति बढ्यो भने सेवा प्रवाहमा थप वृद्धि गर्न पनि सहज हुने उनले बताए । 

डा.रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको रिहाब सेन्टर सरकारी तवरबाट नहुँदा बिरामीहरु मर्कामा परेको गुनासो गरे । सरकारी तवरमा रिहाब सेन्टर नहुँदा निजीमा पठाउन बाध्य भएको भन्दै उनले त्यसका लागि लबिइङ गरिरहेको बताए । स्पाइन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका बिरामी अप्रेसन गरिसकेपछि पुनःस्थापनाका लागि रिहाब सेन्टरमा जानुपर्ने उनको भनाइ छ । ट्रमा सेन्टरमा इन्जुरी भएका (स्पाइन, स्पोर्टस, घोडाको चोट, ढाडको चोट) हरुका लागि आवश्यक पर्ने एमआरआई मेसिन नहुँदा समस्या भएको उनले बताए । 



एमआरआई मेसिन नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने र महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको भन्दै उनले अस्पतालमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिने बताए । डा.रिजालले ट्रमाका बिरामीलाई मध्यनजर गर्दै फिजियोथेरापी सेवा बिस्तार गर्ने योजना रहेको जानकारी दिए । 

बिरामीहरुलाई छिटो छरितो सेवा प्रवाह गर्नेतर्फ अस्पताल तल्लीन रहेको उनको दाबी छ । कुनै पनि बिरामी अस्पतालभित्र उपचार पाएर दुई हप्ताभित्र जसरी पनि फर्किने गरेको डा. रिजालले जानकारी दिए । 

  • प्रकाशित मिति : कात्तिक १०, २०८० शुक्रबार २२:४४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया