केही महिनाअघि नक्कली प्रमाणपत्र बनाएर आएको भन्दै क्यानडा सरकारले सात सय भारतीय विद्यार्थीको भिसा रद्द गरेर स्वदेश फिर्ता गरिदियो ।
भर्नाका क्रममा विद्यार्थीले पेस गरेका अफर लेटर अनुसन्धानमा नक्कली भेटिएपछि ती विद्यार्थीलाई क्यानडा सरकारले देश निकाला गरेको हो । क्यानडा सरकारले विद्यार्थीलाई नक्कली प्रमाणपत्र बुझाएको पत्ता लगाएर देश निकाला गरेको एक प्रतिनिधि घटना हो । यसरी नक्कली कागजात बनाएर आउने विद्यार्थीलाई क्यानडा सरकारले बेलाबखतमा स्वदेश फर्काइरहेको हुन्छ ।
पछिल्लो समय क्यानडा नेपाली विद्यार्थीको मुख्य शैक्षिक गन्तव्यमध्ये एक बनेको छ । सबै कागजात राम्रोसँग मिलाएको र प्रक्रिया पूरा गरेको खण्डमा सजिलै क्यानडाको भिसा पाइने भएका कारण पनि नेपाली विद्यार्थी त्यसतर्फ आकर्षित भएका हुन् ।
अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै नक्कली प्रमाणपत्र पेस गरेर, नक्कली विवाह गरेर जानेको संख्या पनि बढ्दै गएको शैक्षिक परामर्श क्षेत्रमा आबद्ध विज्ञहरू नै बताउँछन् ।
ठगी गर्ने मनसायले सञ्चालनमा रहेका कन्सल्टेन्सीको प्रलोभनमा परेर अयोग्य विद्यार्थी पनि नक्कली प्रमाणपत्र बनाएर क्यानडा जान थालेको शैक्षिक परामर्शता नै बताउँछन् ।
‘नक्कली डकुमेन्ट, नक्कली विवाह गरेर अध्ययनका नाममा क्यानडा जाने विद्यार्थीको बिगबिगी बढ्न थालेको छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक कन्सल्टेन्सी सञ्चालकले भने, ‘हामीले गलत काम गर्दैनौँ भनेर उनीहरू रोकिँदैनन् । हामीले अयोग्य ठहर गरेकै विद्यार्थीलाई अर्काे कन्सल्टेन्सीले पठाइरहेको हुन्छ ।’
‘डिपेन्डेन्ट भिसामा विदेश जान पहिला नक्कली विवाह गर्ने, तर भिसा लागेन भने केटी पक्षले अंश मुद्दा हालेका कारण केटाले घर खेत नै बेच्नुपरेका घटना पनि हामीले देखेका छौँ,’ ती कन्सल्टेन्सी सञ्चालकले भने ।
आर्थिक वर्ष २०७९–०८० मा १११ देशमा अध्ययन गर्न जान १ लाख १० हजारभन्दा बढी विद्यार्थीले एनओसी लिएकोमा क्यानडाका लागि मात्रै २१ हजारभन्दा बढी विद्यार्थीले एनओसी लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले जनाएको छ ।
क्यानडा जानका लागि एनओसी लिने विद्यार्थीको यो संख्यालाई हेर्दा पनि क्यानडा नेपाली विद्यार्थीको रोजाइमा रहेको अनुमान लगाउन सकिन्छ । उच्च शिक्षाका लागि क्यानडा जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढ्दै गएको छ ।
क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सजिलो भिसा नीति अंगीकार गरेकाले पनि नेपालबाट त्यहाँ जाने विद्यार्थीको संख्या बढेको जानकारहरू बताउँछन् ।
जुनसुकै मूल्य चुकाएर भए पनि विदेश जाने लहरले पनि विद्यार्थीहरूले नक्कली प्रमाणपत्र बनाएर विदेशको जोखिम उठाउन थालेका छन् । सरकारका तर्फबाट कन्सल्टेन्सीलाई पनि कुनै रोकटोक नभएकाले खुलेआम रूपमा कीर्ते कागजात बनाएर विद्यार्थी धमाधम विदेश पठाइरहेका छन् ।
शैक्षिक प्रमाणपत्र, बैंकिङ डकुमेन्ट, अफर लेटर, नक्कली विवाहलगायत कागजात बनाएर विद्यार्थीहरू विदेश जाने र पठाउने गरेको पाइन्छ ।
सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन नगरेका कारण पनि अयोग्य विद्यार्थी पनि नक्कली कागजात बनाएर अध्ययनका लागि भन्दै विदेश जाने गरेको शैक्षिक परामर्श क्षेत्रका ज्ञाताहरू बताउँछन् ।
विभिन्न कारणले बीचमै भिसा रद्द भएर नेपाली विद्यार्थीहरू पनि नेपाल फिर्ता हुने गरेको भए पनि त्यसको तथ्यांक अध्यागमन विभागसँग नरहेको सूचना अधिकारी खेमराज भुसालले जानकारी दिए ।
उनले भने, ‘नेपालबाट भिसा रद्द भएर जानेहरूको संख्या अध्यागमन विभागसँग हुन्छ, तर विदेशमा भिसा रद्द भएर फर्किएकाको तथ्यांक छैन । त्यसरी फर्किएकाहरूले पनि अध्यागमनलाई जानकारी नगराउने भएकाले त्यसको तथ्यांक विभागसँग छैन । सम्बन्धित देशमा रहेका नेपाली राजदूतावाससँग त्यसको जानकारी हुन सक्छ ।’
अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै उनीहरू विभिन्न जोखिममा पर्ने घटना पनि बढ्दै गएको नेपाल शैक्षिक परामर्श संघका पूर्वअध्यक्ष प्रकाश पाण्डेले बताए ।
अहिलेसम्म क्यानडाबाट भिसा रद्द भएर फर्किने नेपाली विद्यार्थीको संख्या न्यून रहे पनि केही समयअघि ठूलो संख्यामा भारतीय विद्यार्थी फर्किएकाले नेपाली विद्यार्थीहरू पनि नफर्किएलान् भन्न सकिने अवस्था नरहेको उनले बताए ।
विद्यार्थी, अभिभावक र केही खराब मनसायले खुलेका कन्सल्टेन्सीका कारण अध्ययनका लागि विदेश जाने विद्यार्थीहरू जोखिममा पर्ने गरेको उनको भनाइ छ ।
‘अध्ययनका लागि क्यानडा जाँदा त्यहाँका सरकारी कलेज तथा विश्वविद्यालयमा जाँदा विद्यार्थी सुरक्षित रहन्छन् । तर, निजी कलेजमा भने भन्न सकिँदैन,’ उनले भने, ‘त्यसको निर्णय विद्यार्थी र अभिभावक आफैँले गर्ने हो । फर्जी कागजात बनाएर जाने विद्यार्थीहरू पनि पठाउने कन्सल्टेन्सीजत्तिकै जिम्मेवार हुन्छन् ।’
अध्ययनका लागि अन्य देशभन्दा क्यानडा जान केही सहज र खुकुलो नियमका कारण गलत बाटोबाट जानेको संख्या बढ्दै गएको जानकारहरू बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।