मुगु हत्या : पोष्टमार्टम भएको चार दिन भइसक्दा पीडितले बुझ्न मानेनन् शव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्या प्रकरणका पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको भन्दै मृतकको पोष्टमार्टम भएको चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन् ।

मुन्दु गाउँमा सामूहिक हत्या भएको एक हप्ता भयो । प्रहरीले हालसम्म घटनामा संलग्नलाई प्रक्राउ गर्न सकेकोे छैन । मृतकको शवलाई पोष्टमार्टमका लागि कात्तिक ११ गते जिल्ला अस्पतालमा मृतकका आफन्त र प्रहरीले जिल्ला अस्पतालमा ल्याएका थिए । 

अस्पतालमा कात्तिक १२ र १३ गते पोष्टमार्टम भएको हो । मृतकको पोष्टमार्टम भए पनि हालसम्म प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन नसकेको भन्दै पोष्टमार्टम भएको चार दिनपुग्दा समेत पीडितले शव बुझ्न नमानेका हुन् ।

कात्तिक ८ गते २८ वर्षीया श्रीदेवी बोहोरा, सात महिने छोरा रहर, ८ वर्षीया छोरी अप्सरा बोहोरा र ११ वर्षीय छोरा मनोजको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने आश्वासन दिए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको भन्दै पीडित परिवारले असन्तुष्टि जनाएका छन् ।

घटनामा संलग्नलाई प्रक्राउ गरी कानुनी प्रक्रियामा नल्याउँदासम्म शव नबुझ्ने पीडितको अडान रहेको छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष मृतक श्रीदेवीका काका खेम रावलले बताए । 



कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाललगायत घटनास्थल पुगेर घटनाबारे बुझेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनाबारे सबै प्रक्रिया अपनाएर अनुसन्धान भइरहेको बताए ।


शवको पोष्टमार्टम भए पनि पोस्टमार्टम घरमा लामो समयसम्म राख्ने फ्रिजलगायत अन्य उपकरण नहुँदा शव गनाउन थालेको बताउँदै यसले अस्पताल क्षेत्रमा दुर्गन्ध फैलन थालेको जिल्ला अस्पतालका डाक्टर अर्जुन भामले बताए ।
 



  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १७:३५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया