चारवर्षे कार्यकाल पूरा गर्दै त्रिवि उपकुलपतिले भने– 'प्रधानमन्त्री'लाई कुलपतिबाट हटाउनुपर्छ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । 
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपकुलपति डाक्टर बास्कोटाले चारवर्षे कार्यकाल पूरा गरेर घर फर्किंदै गर्दा आफूले ‘१५ सूत्रीय त्रिवि सुधार योजना’ अघि सारी योजनाबद्ध तरिकाले कार्य सम्पादन गरेको दाबी गरेका छन् । 

पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा प्रशासनिक सुशासन, शैक्षिक सुशासनमा जोड दिएको बताएका छन् । त्यस्तै, उनले आफ्नो चारवर्षे कार्यकालमा विद्यार्थी वर्गलाई कलेजमा खेलकुदको व्यवस्था गरिएको, उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भएको परीक्षा प्रणालीमा सुधार तथा विकेन्द्रीकरण गरिएको र निश्चित शैक्षिक पात्रोको व्यवस्था र त्यसको पालना गरिएको र अनुसन्धानलाई प्राथमिकता दिएको जिकिर गरेका छन् । 

त्यस्तै, उनले शैक्षिक व्यक्तित्वलाई खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी अधिकारसम्पन्न बनाउनुपर्ने,  विश्वविद्यालयलाई द्रुततर सुधार गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेलगायत विभिन्न सुझाब दिएका छन् । 

०७६ साल कार्तिक १७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा  ओलीले बास्कोटालाई उपकुलपति पदमा नियुक्त गरेका थिए । उनी उपकुलपति नियुक्त भएको भोलि बिहीबार चारवर्ष पूरा हुँदै छ ।

बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताएका छन् । उनले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्ने बताएका हुन् ।

उनले शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त गर्नुपर्ने प्रस्ताव समेत गरे । 



राजनीतिक पार्टीपिच्छे स्थापना भएको शिक्षक, कर्मचारीहरूको संघ, संघठनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्ने उपकुलपति बास्कोटाले बताए ।



  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १८:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया