logo-img

नेपालले दियो ओमानलाई १८५ रनको लक्ष्य, गुलशन र रोहितको उत्कृष्ट अर्धशतक
फाइल तस्बिर

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले ओमानलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

नेपालका लागि गुलशन झा र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ खेले । २५ बलको सामना गरेका गुलशनले ५ चौका र ४ छक्कासहित ५४ रन बनाए ।



टी–२० अन्तर्राष्ट्रियमा गुलशनको यो पहिलो अर्धशतक हो । यस्तै, रोहितले ३७ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा अविजित ५२ रन बनाए । टी–२० मा उनको यो पाँचौं अर्धशतक हो । 

त्यस्तै, कुशल भुर्तेलले ३१ र सन्दीप जोराले १० रन जोडे । करण केसीले ६ बलमा दुई चौका र एक छक्काको मद्दतमा अविजित २० रन बनाए । आसिफ शेख ६, कुशल मल्ल तीन र विवेक यादव एक रनमा आउट भए । ओमानका लागि बिलाल खानले तीन, जीशान मक्सूद र अकिब इलियासले एक/एक विकेट लिए ।   

विश्वकपमा पुगेपछि नेपाल र ओमान छनोट प्रतियोगिताको उपाधिका लागि खेलिरहेका हुन् । एसिया क्षेत्रबाट यसपटक नेपालले यूएईलाई ८ तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै २०२४ को जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाए ।    



नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपेन्द्र सिंह ऐरीलाई विश्राम दिएर सन्दीप जोरालाई मौका दिएको हो । विश्वकपमा पुगेपछि नेपाल र ओमान छनोट प्रतियोगिताको उपाधिका लागि खेल्न लागेका हुन् । एसिया क्षेत्रबाट यसपटक नेपालले यूएईलाई ८ तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै २०२४ को जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाए ।  



अब यी दुई टिम छनोट प्रतियोगिताको फाइनल पनि जित्दै सुखद अन्त्य गर्न चाहन्छन् । नेपाल समूह चरणमा तीनमध्ये दुईमा जित र एक खेलमा पराजय बेहोर्न पुग्यो । नेपालले ग्रुप स्टेजमा सिंगापुरलाई ८ तथा मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपाल समूह चरणको अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भयो । त्यसका बाबजुद नेपालले सेमिफाइनलमा यूएईविरुद्ध ८ विकेटको सानदार जित निकाल्दै दोस्रोपटक विश्वकपमा स्थान बनाउन सफल भयो । 

नेपाल छनोट प्रतियोगिताको फाइनलमा ओमानसँग समूह चरणको हारको बदला लिँदै ट्रफी घरमै राख्न चाहन्छ । ओमान भने अपराजित यात्रा कायमै राख्दै ट्रफी हात पार्ने दाउमा छ । उसले जारी प्रतियोगितामा चार खेल खेल्दा सबैमा जित निकालेको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हेड टु हेड हेर्दा ओमानमाथि नेपाल हाबी छ । हालसम्म नेपाल र ओमानले ५ टी–२० खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले तीन र ओमानले दुई खेल जितेको छ ।

  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार १२:३८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया