अफगानिस्तानलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेट–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । सनसनीपूर्ण खेलमा पाँचपल्टको विश्वकप विजेता अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २ सय १ रन बनाए ।

जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो । म्याक्सवेल र कप्तान प्याट कमिन्सले इनिङ्स सम्हाल्नुअघि अस्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको दयनीय स्थितिमा थियो । 

विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेल्दै म्याक्सवेलले कुल १ सय २८ बलको सामना गरे र त्यस क्रममा २१ चौका र १० छक्का प्रहार गरे । 

उनले कमिन्ससँग मिलेर आठौँ विकेटका लागि २ सय २ रनको साझेदारी गरे । त्यसमा कमिन्सले १२ रन बनाए । यससँगै अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको छ । अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम भएको छ ।

यसअघि भारत र दक्षिण अफ्रिकाले पनि प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरिसकेका छन् । यो जितपछि अस्ट्रेलियाको आठ खेलबाट १२ अंक भएको छ र लिग तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान भने ८ अंकमै सीमित रह्यो ।



त्यस अगाडि इब्राहिम जार्डनको शतकको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ९१ रन बनाएको थियो । ओपनरका रूपमा नटआउट रहेर २१ वर्षीय जार्डनले १ सय २९ रन बनाए । विश्वकपमा अफगानिस्तानका लागि यो पहिलो शतकीय प्रदर्शन हो । यस्तै विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि हो ।

जार्डनले १ सय ४३ बलको इनिङ्समा आठ चौका र तीन छक्का प्रहार गरे । अफगानिस्तानका लागि अर्का नटआउट ब्याटर रसिद खानले १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का आफ्नो नाममा लेखाए । जार्डनले प्रत्येक विकेटका लागि साथी ब्याटरसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरे ।



  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार २३:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया