logo-img

लुम्बिनीको विश्वव्यापी प्रचार गर्न समझदारी

बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन) एवं सरोकारवाला संस्थाहरूबीच सहकार्य गर्न सहमति भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा रामग्राम, कपिलवस्तु, देवदह नगरपालिका, कोष एवं एनआरएन सहित सरोकारवालाको उपस्थितिमा शनिबार बसेको प्रत्यक्ष र अनलाइन बैठकले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न समझदारी बनेको हो । 

बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार र बुद्ध परिपथको पर्यटन प्रवर्द्धन र विकासका लागि चार पालिका, लुम्बिनी विकास कोषसँगै बेलायत, अमेरिका, युरोपलगायतका विदेशमा भएका गैरआवासीय नेपालीहरूको संस्थाहरूबीच निरन्तर सहकार्य गरेर अगाडि बढ्ने गरी समझदारी बनेको छ ।

बैठकमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै स्थानीय पालिकासहितको सहकार्यले आगामी दिनमा थप सहज बनाउने बताए । उनले लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन)हरूसँग सहकार्य गरेर बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धका मार्गदर्शन र सन्देश विश्वमाझ प्रचार–प्रसार गर्ने नीति लिएको र अब सबैको सहकार्यले नै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिने बताए ।

बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, देवदह, कपिलवस्तु र लुम्बिनी सांस्कृतिक नगरपालिकाहरूले समेत आफ्नो क्षेत्रका ऐतहासिक र पुरातात्विकस्थलमा उत्खनन र संरक्षणमा बजेट छुट्याएर काम गर्नुपर्ने कोषाध्यक्ष भट्टराईले बताए । 

बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रूपमा विकास गर्न लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार–प्रसारको खाँचो रहेको बताए ।
 
रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले लुम्बिनीसँगै बुद्ध जीवनसँग जोडिएका रामग्राम, देवदह, कपिलवस्तुको विकास हुनुपर्नेमा जोड दिए । उनीहरूले अन्तर्राष्ट्रिय गैरआवासीय नेपालीहरूको विभिन्न संस्थासँगको सहकार्य र समन्वयले बुद्धस्थलको प्रचारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।  





  • प्रकाशित मिति : कात्तिक २६, २०८० आइतबार ८:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया