जलवायु सहयोगमा कार्यसमूह गठन गर्न चीन र अमेरिका सहमत

यसै महिना हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा एउटा कार्य समूह गठन गर्न सहमत भएको दुवै मुलुकले बुधबार बताएका छन् ।

चिनियाँ सरकारी मिडियामा प्रकाशित तथा अमेरिकी विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै सरकारले ऊर्जा संक्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्त/सहरमा ध्यान केन्द्रित गर्ने बताएका छन् । यसले दुवै मुलुकलाई ठोस जलवायु कार्यहरूलाई गति दिन वार्ता र सहयोगमा संलग्न भएको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

नोभेम्बर ४ देखि ७ सम्म क्यालिफोर्नियाको सन्निल्यान्ड्स रिट्रिटमा अमेरिकी र चिनियाँ जलवायु दूतहरू जोन केरी र झि झेनहुवाबीच भएको कुराकानीपछि उक्त विज्ञप्ति आएको हो ।

'दुवै पक्ष मानव जातिको वर्तमान र भविष्यको पुस्ताका लागि हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीमध्येको एकको सामना गर्नका लागि एकसाथ र अन्य पक्षहरूसँग मिलेर काम गर्न सहमत भएका छन्,' विज्ञप्तिमा भनिएको छ, 'तिनीहरूले ऊर्जा नीति र रणनीतिमा द्विपक्षीय वार्ता पुनः सुरु गर्ने वाचा गरेका छन् र ऊर्जा–बचत र कार्बन घटाउने समाधानबारे नीतिगत आदानप्रदानलाई गहिरो बनाएका छन् ।'

बेइजिङले गत साता आफ्नो ग्यास उत्सर्जन नियन्त्रण गर्न एउटा योजना सुरु गरेको छ तर उक्त योजनाले कार्बन उत्सर्जन घटाउने कुनै विशेष लक्ष्य प्रस्ताव गरेको छैन ।

यद्यपि, आफ्नो संयुक्त विज्ञप्तिमा दुवै पक्ष उनीहरूको २०३५ उत्सर्जन कटौती योजनामा समावेश गर्नका लागि ‘आफ्ना सम्बन्धित मिथेन न्यूनीकरण कार्य/लक्ष्यहरू विकास गर्न’ सहमत भएको उल्लेख छ ।



कोप २८ शिखर सम्मेलनका लागि दुवै मुलुकबीच यसै महिनाको अन्त्यमा दुबईमा भेट हुँदै छ । बढ्दो तापक्रम र सन् २०२३ मानव इतिहासमा अहिलेसम्मको सबैभन्दा तातो वर्ष बन्ने आशंकासँगै वैज्ञानिकहरूले पृथ्वीलाई तातो बनाउने हरित गृह ग्यास प्रदूषणमाथि अङ्कुश लगाउनका लागि विश्वका नेताहरूमाथि यति दबाब कहिल्यै नभएको बताएका छन् । 



  • प्रकाशित मिति : कात्तिक २९, २०८० बुधबार २२:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया