logo-img

‘प्रचण्ड-बाबुरामबीच अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छ’
फाइल तस्बिर

नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको बीचमा अविश्वासको अन्त्य भएको बताएका छन् ।

कुराकानीका क्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका श्रेष्ठले दाहाल र भट्टराईको बीचमा अविश्वासको अन्त्य भएकोले छिट्टै दुई पार्टीको एकता हुने बताएका हुन् । उनले दुई नेताका बीचमा कुनै पनि प्रकारको असमझदारी नभएको बताए  । उनले क्रान्तिकारी शक्तिहरू छिन्नभिन्न नभई एकताबद्ध भएर अगाडी बढ्नुपर्ने अहिलेको वस्तुगत आवश्यकता भएको उल्लेख गर्दै सो वस्तुगत आवश्यकताको बोध दुवै शीर्ष नेताहरूमा भएको बताए । 

अध्यक्ष द्वय दाहाल र भट्टराई एकताबद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्ब नहुने श्रेष्ठले बताए । सह अध्यक्ष श्रेष्ठले एकता प्रक्रिया कुनै पनि बाहानमा पछाडि नफर्किने बताए । 

गंगानारायण श्रेष्ठ, सहअध्यक्ष / नेपाल समाजवादी पार्टी

उनले भने, ‘प्रचण्ड र बाबुरामबीचको अविश्वास दूर भएको छ । यो त भोलि समयले पनि बताउँदै जाला । मुख्य गरी प्रचण्ड या बाबुराम, उहाँहरूले देशको आवश्यकतालाई, अहिलेको वस्तुगत आवश्यकतालाई जुन ढंगबाट बोध गरिराख्नु भएको छ, अब अलग–अलग बसेर होइन, एकताबद्ध भएर जानुपर्छ जुन निष्कर्षमा पुग्नु भएको छ, र सिङ्गो दुई वटा पार्टी पङ्क्ति नै जुन निष्कर्षमा पुगेको छ, त्यसले एकतालाई चाँडै नै मूर्त रूप दिन्छ । यो प्रक्रिया पछाडि फर्किँदैन । अगाडि बढ्छ ।’

सहअध्यक्ष श्रेष्ठले प्रतिगामी शक्तिहरू एकताबद्ध हुँदै गइरहेको भन्दै सो कुरा अग्रगामी शक्तिहरूले चिन्ता गर्नुपर्ने विषय भएको बताए । प्रतिगामी शक्तिहरू एक हुनासाथ संघीयता, गणतन्त्र र संघीयता खारेज नहुने उनको भनाई छ । उनले नेपालबाट अब संघीयता र गणतन्त्रलाई कसैले हटाउन नसक्ने बताए ।  





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १४:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया