चिनीमिलको प्रदूषणले सुनवल बजार नै दुर्गन्धित, रोक्न माग गर्दै स्थानीय आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेकोले उक्त प्रदूषण न्यूनीकरण गर्न माग गर्दै सुनवलवासी आन्दोलित भएका हुन् । 

सुनवलका स्थानीयले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी दिएका हुन् । वि.सं २०४६ सालमा तत्कालीन सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार जिल्लाको सुनवल नगरपालिका–१ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । सो समयदेखि सञ्चालनमा रहेको चिनी मिल २०६२ सालमा निजीकरण भएदेखि झनै प्रदूषणको अवस्था बढ्दै गएको स्थानीय बताउँछन् । 

चिनी मिल सञ्चालकले मिलको प्रदूषण न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिस्टिलरीबाट निस्किने धुँवा, खरानीले बजार प्रदूषित बनेको स्थानीयको भनाइ छ । डिस्टिलरीबाट निस्किने दूषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भइ मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पारिरहेको संघर्ष समितिका उपसंयोजक टेकप्रसाद न्यौपानेले बताए ।    

चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदूषण न्यूनीकरणका लागि विभिन्न सहमति सम्झौता गरे पनि हालसम्म कार्यान्वयन गरेको छैन । मिल सञ्चालकले उद्योगबाट निस्किने धुवाँ, खरानी र फोहोर दूषित पानी न्यूनीकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलबासी त्यसको प्रत्यक्ष मारमा परिहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए ।   

८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरी ३ वटा कारखाना सञ्चालनमा छ । मिलबाट निस्किने धुवाँ र खरानी उडेर घर मा पस्ने र सुकाएको कपडामा टाँसिएर फोहोर हुनुका साथै श्वास लिन समेत अप्ठ्यारो बनाएको स्थानीयको भनाइ छ । 



उता डिस्टिलरीबाट निस्किने प्रदूषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित हुँदै गएको संघर्ष समितिको आरोप छ । चिनी मिलबाट पालिकाको वडा १,३,४ र ६ वडा प्रत्यक्ष मारमा परेको र यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेका छन् ।  



  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार १२:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया