जापानमा गर्भनिरोधक चक्की किन्न चिकित्सकको प्रेस्क्रिप्सन नचाहिने

जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । 

आपत्कालीन गर्भनिरोधक चक्की सामाजिकरूपमा रूढीवादी जापानमा चिकित्सकको प्रेस्क्रिप्सन र क्लिनिक वा फार्मेसीमा गएर मात्र उपलब्ध हुने भन्दै अधिकार समूहहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । अभियानकर्ताहरूका अनुसार यसले धेरै महिला विशेषगरी बलात्कार पीडित र किशोरीहरूलाई टाढा राखेको छ । 

पाइलट प्रोजेक्टअन्तर्गत यौन सम्पर्कको ७२ घन्टाभित्र गर्भधारणलाई रोक्न सक्ने तर समयसँगै कम प्रभावकारी हुने चक्की एक सय ४५ फार्मेसीमा उपलब्ध गराउने तयारी छ । यद्यपि जापान फर्मास्युटिकल एसोसिएसनको वेबसाइटअनुसार महिलाहरूले अहिले पनि परिचयपत्र देखाउनुपर्ने र फर्मासिस्टको अगाडि औषधि लिनुपर्नेछ ।

चिकित्सकको प्रेस्क्रिप्सनविना गर्भनिरोधक चक्की लिन न्यूनतम उमेर १६ छ । तर १८ वर्षभन्दा कम उमेर भएकालाई बुबाआमा वा अभिभावक हुन आवश्यक छ । गर्भनिरोधक चक्कीको मूल्य सात हजारदेखि नौ हजार येन (४७ देखि ६१ अमेरिकी डलर) को बीच निर्धारण गरिएको छ । 

आपत्कालीन गर्भ निरोधकका लागि फार्मेसी परियोजना अभियान समूहले परीक्षण पर्याप्त नभएको बताएको छ । 

पाइलट प्रोजेक्टले यो वर्ष स्वास्थ्य मन्त्रालयको सार्वजनिक परामर्शमा अत्यधिक सकारात्मक प्रतिक्रियालाई अनुसरण गरेको छ । परामर्शमा ४६ हजार उत्तरदाताहरूमध्ये ९७ प्रतिशतले पक्षमा राय दिएका छन् । 



विश्व स्वास्थ्य संगठनले आपत्कालीन गर्भनिरोधक चक्की सबै राष्ट्रिय परिवार नियोजन कार्यक्रममा नियमितरूपमा समावेश गर्नुपर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । 

अभियानकर्ताहरूका अनुसार ९० भन्दा बढी मुलुकमा विनाप्रेस्क्रिप्सन गर्भनिरोधक चक्कीको बिक्रीलाई अनुमति दिएका छन् ।



  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार १७:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया