लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालू आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो । 

आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले लगानी सम्मेलनका लागि सरकारले तयारी सुरु गरिसकेको जानकारी दिए । ‘प्रदेश सरकार यसै आवमा लगानी सम्मेलन गर्नेगरी तयारीमा जुटेको छ’, मन्त्री सिंहले भने, ‘हाम्रो वार्षिक कार्यक्रममा नै कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने भनेका छौँ । त्यहीअनुसार अहिले हामी तयारीमा लागेका छौँ ।’ 

कर्णाली प्रदेशमा लगानी भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सरकारले योजना बनाएको बताउँदै उनले प्रदेशभित्र उद्योग सञ्चालन गर्न सकिने क्षेत्रमा लगानी बढाइने मन्त्री सिंहले बताए । ‘कर्णालीका लागि उपयुक्त हुने खालका उद्योग स्थापना गर्ने र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हाम्रो योजना छ । प्रदेशमा रहेका स्रोतको उचितरूपमा प्रयोग गर्नेगरी हामीले लगानी भित्र्याउने गरी लगानी सम्मेलन गर्दै छौँ’, उनले भने ।

कर्णालीको स्रोतको उचित परिचालन गरी आन्तरिक आम्दानी बढाउने गरी सरकारले काम थालेको भन्दै त्यसमा सबै पक्षले हातेमालो गर्न आवश्यक रहेको मन्त्री सिंहको भनाइ छ । रासस 





  • प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार १५:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया