अझै खुलेन अवरुद्ध कोशी राजमार्ग

एकै स्थानमा चार सवारी साधन दुर्घटना भएपछि अवरुद्ध भएको कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अझै खुल्न सकेको छैन । 

राजमार्गको धरान–धनकुटा सडक खण्डस्थित साँगुरीगढी गाउँपालिका–६, कोलबोटे भन्ने स्थानमा गए राति चार वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेको थिए । एकै ठाँउमा चार वटा सवारी साधन दुर्घटना भएपछि अवरुद्ध बनेको सडक खण्ड खुलाउन क्रेनको सहायता लिइरहेको प्रहरीले जनाएको छ । 

सुरुमा दुर्घटनाग्रस्त टिपरलाई पन्छाएर बाटो खुला गर्न नसक्ने भएपछि अर्को क्रेन ल्याउँदा बाटो खुलाउन ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी जाजुबाबु महर्जनले जानकारी दिए । 

शनिबार दिउँसो भेडेटारबाट धनकुटा आउँदै गरेको एउटा टिपर दुर्घटनामा परेको थियो । सोही टिपरमा साँझ अर्को टिपरले ठक्कर दिएर दुर्घटना भयो । त्यसपछि लगातार अघिल्ला दुर्घटनामा परेको टिपर मै ठोक्किएर अर्को सवारी दुर्घटनाग्रस्त भएको हो । एकपछि अर्को सवारी दुर्घटना भएसँगै सो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध हुन पुगेको हो ।

पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधिसभा सदस्य दीपक खड्का सवार प्रदेश १ ०२ ००२ च ३५४५ नम्बरको गाडी समेत दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उनी सामान्य घाइते छन् ।

ओरालो र घुम्ती सडक भएको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले दुई वटा क्रेन घटनास्थलमा लगेर बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १३:१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया