नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताएका छन् । शुक्रबार महाकाली-मेची अभियानअन्तर्गत तेह्रथुम पुगेका उनले यस्तो बताएका हुन् ।
उनले यात्राका क्रममा आफूहरूले युवा केन्द्रित कार्यक्रम ल्याउन नसके केही समय भित्रै गाउँहरू रित्तिने र शिक्षा र स्वास्थ्यमा झनै ठूलो संकट पैदा हुने अवस्था मध्य पहाडी यात्राका क्रममा अनुभव भएको बताए । उनले गाउँ बस्तीहरू बिस्तारै युवाविहीन अवस्थामा पुगेको भन्दै उनले जलवायु परिवर्तनका असरले पनि गाउँमा धेरै ठूलो क्षति परेको बताए ।
उनले राजधानीमा बसेर सत्ताको भागबण्डा छोडेर जनतामा आउन र जनताका समस्या समाधान गर्न पनि आग्रह गरे । उनले परिवर्तनपछि पनि जनतामा ठूलो पीडा यथावत् रहेको भन्दै उनले सबै राजनीतिक दलहरूले जनताको अवस्था परिवर्तनका लागि स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए । उनले यात्राले नेकपा एमालेलाई जनतामा जोडिन र जनताका समस्या समाधानका लागि आवश्यक कदम चाल्ने कुरामा सहयोग पुगेको बताए ।
उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरूको ठूलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।