पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानत
फाइल तस्बिर

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोप्य कुराहरू चुहावट गरेको आरोपमा शुक्रबार जमानत दिइएको वकिलहरूले बताएका छन् । यद्यपि अन्य आरोपमा उनी कारागारमै रहनेछन् । 

अगस्टमा हिरासतमा लिइएका खानले शक्तिशाली सेनामाथि उनको लोकप्रिय आन्दोलनलाई दबाउन र आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिनबाट रोक्न लामो समयदेखि पाकिस्तानमा प्रभुत्व स्थापित गरेका वंशवादी पार्टीहरूसँग मिलेर काम गरिरहेको आरोप लगाएका छन् । 

सन् २०२२ अप्रिलमा शीर्ष अधिकारीहरूसँगको मनमुटावपछि सत्ताबाट बाहिरिएका ७१ वर्षीय खान कानुनी मुद्दाहरूको झमेलामा परेका छन् । उनी दुईपटक कारागार गइसकेका छन् । 

वकिल सलमान सफदरले खानका पूर्वविदेशमन्त्रीको नाम लिँदै अदालतबाहिर पत्रकारहरूसँग भने, ‘मुद्दा पूर्णरूपमा समाप्त भएको छ, इमरान खान र शाह महमुद कुरेशीलाई अन्ततः जमानत दिइएको छ ।’ अभियोजकहरूले खान र कुरेशीमाथि अमेरिकामा पाकिस्तानका राजदूतले पठाएको कूटनीतिक तारलाई गलत प्रयोग गरेको आरोप लगाएका छन् । 

कानुनी चुनौतीले अदालतलाई उपस्थित पर्यवेक्षकहरूसँग कार्यवाही पुनः सुरु गर्न बाध्य नतुल्याउन्जेल कथित आरोपका लागि मुद्दा कारागारभित्र भएको थियो र ट्रायल गोप्यरूपमा भएको थियो । 

पूर्वप्रधानमन्त्री खानको तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीले खान भ्रष्टाचारका विभिन्न मुद्दामा कारागारमा रहेको र फेब्रुअरी ८ मा हुने निर्वाचनमा उम्मेदवारी दिन कारागारबाट बाहिर निस्कने सम्भावना अत्यन्त कम रहेको बताएको छ । 



पाकिस्तानमा राजनीतिज्ञहरूको भाग्य ऐतिहासिकरूपमा सैन्य प्रतिष्ठानसँग उनीहरूको सम्बन्धमा निर्भर गर्दछ । पाकिस्तानी सेनाले धेरै अवसरमा मुलुकमा प्रत्यक्ष शासन गरेको छ । 



  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार २१:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया