सौराहामा बढ्दै सांस्कृतिक पर्यटक, पहिलो रोजाइमा थारू गाउँ

पछिल्लो एक वर्षयता चितवनको सौराहा घुम्न जाने पर्यटकका लागि नयाँ गन्तव्य थपिएको छ । सौराहा जाने आन्तरिक तथा बाह्य पर्यटक सौराहा थारू भिलेजमा गएर मात्रै फर्किने गर्दछन् । एकपटक उनीहरू थारू भिलेजमा पुगेर थारूहरूको संस्कृति र संस्कारमा रम्ने र रमाउने गर्दछन् । 

सौराहा थारू भिलेज विदेशी र आन्तरिक पर्यटकका लागि रोजाइमा पर्दै गएको छ । सौराहा थारू भिलेज पर्यटकका लागि थारू गाउँको पर्यायझैँ बनेको छभन्दा फरक नपर्ला । किनभने सौराहा जाँदा जसरी जंगल सफारी गर्न पर्यटक लालायित हुन्थे त्यसैगरी पछिल्लो समय सौराहा पुगेका पर्यटक थारू कला र संस्कृति हेर्नका लागि एक दिन भए पनि थारू भिलेजमा पुगेर नरमाइकन फर्किँन सक्दैनन् ।  

चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरू थारू संस्कृतिमा लोभिँदै गएका छन् । समूहगत रुपमा थारू युवायुवती मिलेर झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रस्तुत गर्दै पर्यटकलाई आकर्षित र रोमाञ्चित बनाउँछन् । नेपालकै मुख्य पर्यटकीय गन्तव्य चितवनको सौराहामा कतिपय पर्यटकहरू त थारू संस्कृति र कला हेर्न पटकपटक जाने गरेका छन् । 

दोस्रोपटक थारू संस्कार र संस्कृति हेर्न पुगेकी लक्ष्मी निरौलाले संस्कृतिसँग पर्यटकलाई जोडेर हेर्दा चितवनले राम्रो प्रगति गरेको बताइन् । उनले थारू गाउँको संस्कृति, संस्कार र सांस्कृतिक पर्यटकको सम्भावना चितवनस्थित सौराहा थारू भिलेजले देखाएको बताइन् । 

चितवनमा जति धेरै थारू संस्कृतिलाई विकास गर्न सकिन्छ त्यति नै पर्यटकको सम्भावना बढ्ने बताइन् । चितवनलाई जंगल सफारीकासाथै संस्कृतिको रूपमा पनि चिनाउनसके पर्यटकहरू अझै बढ्नसक्ने बताइन् ।    



त्यस्तै, ललितपुरबाट आफ्ना विद्यार्थीलाई लिएर चितवन पुगेका दिनेश रावल विद्यार्थी र बालबालिका अनलाइन केन्द्रित हुँदै गइरहेको बेलामा बाहिरी संस्कार र संस्कृति बुझाउन यस्तै गन्तव्य महत्वपूर्ण हुने बताउँछन् । उनले यस्ता क्षेत्रहरू मनोरञ्जनका साथसाथै अध्ययनका लागि पनि काम लाग्ने बताए ।

‘अहिलेका बालबालिकाहरू अनलाइन कुराहरूमा मात्रै केन्द्रित हुन्छन् । अनलाइन विषयवस्तुमा मात्रै फोकस नभइ यस्ता बाहिरी कुरामा संस्कार र संस्कृति बचाउनुपर्छ, संरक्षणमा लाग्नुपर्छ भनेर बुझाउनु आवश्यक छ । यहाँ एकदमै राम्रो लाग्यो, आफ्नो संस्कृति बचाएर राख्नुपर्छ, विद्यार्थीहरूको लागि राम्रो हुनेछ,’ रावलले भने, ‘विदेशमा पनि आफ्नो, कला, संस्कृति जोगाउन लागेको हामी देख्छौँ, हाम्रोमा पनि यसरी बचाउन लाग्नुपर्छ । अरू समुदायहरूले यो कुरा सिक्नुपर्छ, अरूले प्रमुख आयआर्जनको श्रोत बनाउन सक्नुभएको छैन, थारू समुदायले मात्रै सौराहामा यो संस्कार र संस्कृतिको जगेर्ना गरेर अघि बढ्नुभएको छ ।’   



पर्यटन व्यवसायी रञ्जन भण्डारी चितवन थारूको पहिचान स्थल भएकाले लोप हुँदै गएको अवस्थामा सौराहा थारू भिलेजले थारू संस्कार र संस्कृति बचाइरहेको बताउँछन् । थारू गाउँहरू लोप हुँदै जाँदा उनीहरूका संस्कार र संस्कृति थारू भिलेजमा सहजै देख्न पर्यटकहरूले पाउने बताए । उनले चितवनको आदिवासीको पहिचानसँगै स्थानीय थारू समुदायलाई भिलेजले रोजगारी दिएको बताए ।   

‘थारू मात्र नभइ अरूअरू पनि कल्चरहरू छन् तर चितवन भनेको एउटा थारूको पहिचान हो । त्यसकारण यो हुन जरुरी छ । थारू गाउँ यो एकदमै महत्वपूर्ण नै छ । चितवनको आदिवासीको पहिचानसँगै यहाँका स्थानीय चौधरीहरूलाई रोजीरोटी दिनुभएको छ, युवाहरू विदेश जानबाट जोगिएका छन्,’ भण्डारीले भने ।  

त्यस्तै, सौराहा थारू भिलेजका सञ्चालक मधुसूदन सिलवाल थारू समुदायको परम्परा, संस्कृति र संस्कार बचाउने अभियानले बिस्तारै सार्थकता पाउँदै गएको बताउँछन् ।

उनले थारूको बाहुल्य भएको ठाउँ चितवनमा थारू संस्कृति लोप हुँदै गएपछि विदेशबाट आएर आफूले थारू भिलेजका रूपमा अघि बढाइ संस्कृति र संस्कार जोगाउने काममा लागेको बताए । सिलवालले अहिले आन्तरिक तथा बाह्य पर्यटक थारू गाउँ खोजीखोजी आउन थालेको बताए ।   

उनले एक वर्षअघि ७ करोड लगानीमा सुरु गरेको सौराहा थारू भिलेजलाई पर्यटकको मुख्य रोजाइमा पर्दै गएको छ । दसैँपछिका दिनमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको र यही स्तरमा पर्यटक आइरहने हो भने पर्यटनको सम्भावनाका साथै व्यवसाय पनि उत्तिकै फस्टाउँदै जाने सिलवालको भनाइ छ । 

  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार १२:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया