सुदूरपश्चिमको समृद्धिका लागि संघीय सरकारसँग जुध्न पनि तयार छौँ  : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्न समेत तयार हुने बताएका छन् । प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग आफूहरु अल्झिन नचाहेको उनले बताए । 

सोमबार काठमाडौंमा आयोजित 'सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानी भित्र्याउन पनि निजी क्षेत्रलाई आह्वान गरे । त्यसका लागि प्रदेश सरकारले आवश्यक वातावरण बनाउने उनको भनाइ थियो । 

मुख्यमन्त्री शाहले सुदूरपश्चिम सम्भावना नै सम्भावनाको क्षेत्र भएकाले यसमा गरिएको लगानी खेर नजाने पनि दाबी गरे । यस क्षेत्रको विकासका लागि नै लगानी सम्मेलन गर्न लागिएको स्पष्ट पार्दै मुख्यमन्त्री शाहले देशभित्रै लगानीको वातावरण बनाउन सके मात्रै बाह्य मुलुकबाट पनि लगानी भित्र्याउन सकिने बताए । सुदूरपश्चिम प्रदेशको विकासमा पनि निजी क्षेत्रले जुटनुपर्ने उनकाे तर्क थियाे । 

'म सरकारका तर्फबाट एउटा कुरा तपाईंहरुलाई भन्न चाहन्छु–सुदूरपश्चिमको विकासको सन्दर्भमा संघीय सरकारसँग संवाद गरेर हुन्छ कि खोसेर हुन्छ । सुदूरपश्चिम प्रदेश सरकार अगाडि बढ्न तयार छ आजको मितिमा,' उनले भने, 'हामीले हरेक फोरममा, हरेक बैठकमा हामीले आफ्ना कुराहरु जोडदार रुपमा राखेका छौं । त्यसकारणले तपाईहरुलाई लाग्न सक्छ कि कतै संघीय, ऐन, कानुन, नियमले हामीलाई समस्या भएको छ भन्ने लाग्न सक्छ । मैले अघि नै भनेँ, पोलिसीका कुराहरुमा पनि, ऐन, नियम, कानूनका कुराहरुमा पनि अब हामी अल्झिनेवाला छैनौं ।' 

'हामीले हाम्रो विकासका लागि, समृद्धिका लागि गर्ने कार्यक्रमहरुमा कसैले पनि अवरोध गर्नुहुँदैन भन्ने मान्यता हामी छौँ । कसैले पनि छेक्न पाउनुहुन्न । छेक्नु हुन्न भन्ने मान्यतामा छौं,' उनले भने, 'त्यो मान्यतामा हामी संघीय सरकारसँग पनि जुध्न तयार छौँ ।'

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले सुदूरपश्चिम क्षेत्रको उत्थानका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताइन् । उनले स्वदेशी तथा विदेशी पर्यटकलाई सो ठाउँमा भित्र्याउनका लागि बनाउने कानुनको बारेमा संघीय संसदलाई सुझाव दिन पनि सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरिन् ।



‘विदेशी पर्यटक यहाँ भित्र्याउने, विदेशमा बसेर पनि आफ्नै गाउँठाउँ जान खोज्ने दाजुभाइ–दिदीबहिनीलाई पनि पनि त्यहाँ लैजानका लागि पनि हामीले के–के पोलिसीमा चेन्ज हुुनुपर्छ ? कानुन बनाउने प्रक्रियामा ल्याई दिनुहुन अनुरोध गर्न चाहन्छु,'सांसद राणाले भनिन्, 'धेरै काम गर्न खोज्यौँ भने हामीले सक्दैनौँ । कम्युनिटीलाई फाइदा हुने खालको पर्यटनको विकास गर्नुपर्छ ।’

लगानी बोर्डका प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न विकास तथा लगानी सम्मेलनमा संघीय सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । सो लगानी सम्मेलनमा सहयोगका लागि आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल समेत गरेको उनले जानकारी दिए । 



प्रमुख प्रशासकीय अधिकृत भट्टले लगानी बोर्डले सबै प्रदेशको लगानी सम्भाव्यताको बारेमा विस्तृत रुपमा अध्ययन गरिरहेको र त्यसलाई निरन्तरता दिने बताए । 

  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार १७:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया