वर्षौँदेखि सीमामा संघर्ष गर्दै बडुवालवासी, भन्छन्– 'सरकारबाट उपेक्षित भयौँ'

आफूले उपभोग गर्दै आएको जमिनको  जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्चर्य लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी बिना जग्गाधनी पुर्जा जीवनयापन गर्न बाध्य छन् ।

भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा बढी समय सीमा वस्तीमा स्थानीयसित जग्गाधनी पुजा नपाएको दशकौँ बितिसक्यो । जोगबुढा नदी पारी, नेपाल–भारत सीमासित जोडिएको बडुवाल टोलसित अभाव, गरिबी र आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित हुनुपरेको पीडा स्थानीयवासीसित छ । 

स्थानीय तहको निर्वाचनमा बडुवाल टोलबाट वडा सदस्य पदमा निर्वाचन जितेकी दोधारा चाँदनी–३ का वडासदस्य लक्ष्मी रानाले सीमाको पहरेदारीमा बसेका बडुवाल टोलमा साढे ३ सय परिवारमा २० प्रतिशतले मात्रै जग्गाधनी पुर्जा भएको जानकारी दिइन् । उनका अनुसार स्थानीयले २०५४ सालमा जग्गाधनी पुर्जा पाएका थिए । 

वि.सं २०७४ को निर्वाचन आसपास जोगबुढा नदीमा झोलुङ्गे पुल र नदी नियन्त्रणका लागि तटबन्ध बनेपछि बडुवाल टोलवासीले आफू नेपाली हुनुको आभास पाएको उनको भनाइ छ । पश्चिम भारततर्फ घनाजङ्गल र पूर्वतर्फ जोगबुढा नदीबीचको बडुवाल टोलमा अझै स्थानीयवासीको प्रमुख माग नै आफूले लामो समय भोगचलन गरेको जग्गाको पुर्जा पाउँ भन्ने छ ।

‘भारतबाट आउने जङ्गली हात्तीले स्थानीयको ज्यान लिँदा पनि सरकारबाट जग्गा धनी पुर्जा नभएकै कारण क्षतिपूर्ति नपाएको पीडा बडुवाल टोलवासीले भोगेको छ,’ वडा सदस्य रानाले भनिन्, ‘दु:ख, पीडा नभनी माटोको मायाले सीमामा सङ्घर्ष गर्दै बसेका समुदायलाई कहीँकतैबाट सहानुभूति मिलेन ।’ सरकारी सुविधाका नाउँमा गाउँमा कच्ची सडक, सोलार बत्ती, एउटा खोप केन्द्र, प्राथमिक तहको स्कुल र पछिल्लो समय सशस्त्र प्रहरी बलको उपस्थितिबाहेक केही छैन ।

स्थानीय गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलको अधिकांश जमिन फिल्डबुकमा कायम मात्रै रहेको बताए । ‘२०५४ सालमा केहीले पुर्जा पाए पनि पछि आयोग फेरि आउँछ भनेर बन्द गरेछन्,’ उनले भने, ‘हामीलाई त कसैले सुविधा के दियौँभन्दा सबैको एक स्वर जग्गाको पुर्जा नै हो ।’ ओलीले सीमामा माटोको रक्षा गर्दै बसेका बडुवाल टोलीवासीमा पुर्जा नदिएर अन्याय गरिएको दुःखेसो पोखे ।  



‘यतिका वर्ष अभाव र पीडा नभनी सीमामा रक्षार्थ खटिँदा सुविधा दिनुपर्नेमा भएको खेतको पुर्जा नमिल्नु कहाँसम्मको दुःखको विषय हो ?,’ उनले भने, ‘त्यही पुर्जा नभएको जमिनमा खेती गर्दा भारतबाट आउने जङ्गली हात्तीले समटे्न नदिएको स्थिति छ ।’ महाकाली नदी नै सीमा नदीका रूपमा हेरिए पनि कञ्चनपुरका सवालमा भने त्यो लागू हुँदैन । 

महाकाली पारी दोधारा चाँदनी नगरपालिका छ । दोधारा चाँदनी नगरपालिकामा पनि जोगबुढा नदी बग्छ । जोगबुढा नदी पारी यहाँ दुई सीमा वस्ती छन्, बडुवाल टोल र कुतियाकवर । 



दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने कुतियाकवर वस्तीमा ४२ विपन्न समुदायको लामो समयदेखि बसोबास रहे पनि स्थानीयको हातमा अझै जग्गाधनी पुर्जा नपुगेको स्थानीय बहादुर सिंह सुनारको भनाइ छ । ‘जोगबुढा र महाकाली नदीले कुतियाकवर कटान गर्दै सीमा वस्ती नै विलीन हुने चिन्ता भइसक्दा पुर्जा मिलेन’, उनले भने, ‘पुर्जाको आसैआसमा सीमा वस्तीबाट कटान र डुबानको समस्याले एक सयभन्दा बढी परिवार नै पलायन भएको विगत छ ।’ 

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ का वडासदस्य लक्ष्मी रानाले भूमि आयोगमार्फत पुनः बडुवाल टोललगायत वडामा पुर्जा वितरणका लागि नापी आउन लागेको जानकारी दिइन् । ‘यही पुस २२ गते नापी आउने भनेर वडामा पत्राचार भइसकेको छ’, उनले भनिन्, ‘आशा छ सीमाबस्तीदेखि सबैले जग्गाधनी पुर्जा पाउनेछन् ।’ 

रानाले सीमामा सिपाहीको भूमि निभाएका सीमाबस्तीका स्थानीयलाई राज्यबाट थप सहुलियतका कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिइन् । ‘सीमामा बसेकाले अझै बिजुली देख्न नपाएको पीडा नै हाम्रो वस्तीमा छ’, उनले भनिन्, ‘गाउँमा केही समयअघि लगाएको सोलार बत्ती पनि केही बिग्रिसके ।’ 

त्यसैगरी अढाइ दशकदेखि बडुवाल टोलमा बस्दै आएका स्थानीय कमला सुनारले भारतीय जङ्गलबाट हरेक वर्ष आउने हात्तीबाट प्रताडित हुँदा पनि राज्यबाट कुनै चासो नदिइएको गुनासो पोखिन् । ‘न जमिनको पुर्जा छ नत जमिनमा लगाएको अन्नबाली नै भित्र्याउन सक्ने अवस्था छ’, उनले भनिन्, ‘हुँदाहुँदा घरभित्रको राखिएका धानका बोरासमेत हात्तीले खाइदिए ।’ छिमेकी सीता सुनारले हात्तीकै डरले १८ कट्ठा जमिन बाझै छाडेको सुनाइन् ।    

‘भारतीय सीमावर्ती जङ्गल छेउमै जमिन छ, हात्तीलाई नियन्त्रण गर्नसक्ने कुनै साधन नै भएन,’ उनले भनिन्, ‘हात्तीले सखाफ पार्नुभन्दा त नलगाउनु नै बेस सम्झेर खेत नै बाँझो राखियो ।’ सीमामा हात्तीहरू वस्तीमा आउन नदिन तारबारको व्यवस्था गरिदिन उनले आग्रह गरिन् । ‘पुर्जा नभएको जमिन कमाएको दशकौँ हुँदा पनि व्यवस्थापन नहुँदा राज्यबाट पाइने अरू सुविधा/सेवाबाट वञ्चित हुँदा हाम्रो अवस्थामा पनि सुधार आउन बाधा पुग्यो’, सुनारले भनिन्, ‘जमिन बैंकमा राखेर ऋण लिएर कारोबार वा अन्य कुनै काम गर्ने चाहना सपनामै सीमित रह्यो ।’

त्यसैगरी अर्का स्थानीय द्रोपती आउजीले सीमामा बिना सुविधा माटोको माया गरेर बस्दा पनि राज्यले बेवास्ता गरेको दुःखेसो पोखिन् । ‘अन्धकार वस्तीमा पनि कुनै सुखसुविधा नभनेर मुलुकको सीमा अतिक्रमणबाट जोगायौँ’, उनले भनिन्, ‘न बालबालिकाले राम्रो शिक्षादिक्षा पाए नत घर अग्रजले कुनै ज्याला मजदुरी नै ।’ 

उनले गाउँका अधिकांश पुरुष भारतीय बजारमा रोजगारीका लागि जानुपर्ने बाध्यता विद्यमान रहेको बताइन् । ‘पुरुष भारत गएर ज्याला मजदुरी गरेनन् भने घरमा जीविका चलाउन मुस्किल पर्छ’, आउजीले भनिन्, ‘आखिर सीमाका पहरेदार भनेर कहिलेसम्म गर्व गरेर बस्ने ? ।’ रासस 

  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार १०:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया