कमल थापाको टिप्पणी- संघीय गणतन्त्र तस्कर तन्त्रमा परिणत भयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिले संघीय गणतन्त्र भ्रष्ट तन्त्र र तस्कर तन्त्रमा परिणत भएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित राप्रपा नेपालको मध्यमाञ्चल स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरूको सिन्डीकेटतन्त्र कायम भएको भन्दै थापाले संघीय गणतन्त्र भ्रष्ट तन्त्र र तस्कर तन्त्रमा परिणत भएको बताए । 

उनले भने, ‘लोकतन्त्रको आवरणमा केही राजनीतिक दलहरूको सिन्डीकेटतन्त्र कायम भएको छ । प्रजातन्त्र बलियो हुनुको सट्टा सर्वसत्तावाद हाबी भएको छ । संघीय गणतन्त्र भ्रष्ट तन्त्र र तस्कर तन्त्रमा परिणत भएको छ । विदेशी शक्तिहरूको चलखेल र प्रभाव तीव्र रूपले बढेको छ । नेपाल अन्तर्राष्ट्रिय महाशक्तिहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बनेको छ ।’

उनले संस्कृति मन्त्री सुदन किरातीको क्रिष्चियन नमान्ने संविधान विरोधी हुन् भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाए । ‘एक सार्वजनिक कार्यक्रममा क्रिष्चियन नमान्ने संविधान विरोधी हुन् । देशद्रोही हुन् जेलमा कोच्नुपर्छ भन्ने अत्यन्तै आपत्तिजनक अभिव्यक्ति जिम्मेवार मन्त्रीले दिनुभयो । योभन्दा आपत्तिजनक अरू के हुन सक्छ ?’ प्रश्न गर्दै उनले भने, ‘९४ प्रतिशत सनातन धर्ममा आस्था राख्नेहरूको विरुद्धको यो षड्यन्त्र हो, अपमान हो । जसको पशुपतिनाथप्रति आस्था छैन, भावनात्मक लगाव छैन । त्यस्तो व्यक्तिलाई किन त्यहाँको विकास र समृद्धिको जिम्मा दिएको ?’

अध्यक्ष थापाले सनातन धर्म, संस्कृति र परम्परामाथि योजनाबद्ध र संगठित रूपले आक्रमण भइरहेको टिप्पणी पनि गरे । धर्म परिवर्तनको डढेलोले देशलाई तहसनहस पारिरहेको उनको भनाई छ । 

उनले भने, ‘हाम्रो सनातन धर्म, संस्कृति र परम्परामाथि योजनाबद्ध र संगठित रूपले आक्रमण हुँदै छ । धर्म परिवर्तनको डढेलोले देशलाई तहसनहस पारिरहेको छ । सामाजिक, सांस्कृतिक  सद्भाव र एकता खलबलिएको अवस्था छ ।’



उनले देशमा कायम रहेको संघीय धर्मनिरपेक्षता, गणतन्त्र असफल साबित भइसकेको दाबी गरे ।



  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार १३:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया