उत्तर कोरियाली नेता किमद्वारा सेनालाई युद्धको तयारी गर्न निर्देशन

उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए । 

बैठकले आगामी वर्षमा थप तीन वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने, मानवरहित ड्रोन निर्माण गर्ने र इलेक्ट्रोनिक युद्ध क्षमता विकास गर्ने, साथै आणविक र क्षेप्यास्त्र बललाई सुदृढ पार्ने लगायत थप सैन्य विकासको योजना घोषणा गरेको ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले जनाएको छ ।

प्योङयाङले यसै वर्ष सफलतापूर्वक टोही उपग्रह प्रक्षेपण गरी आफ्नो संविधानमा आणविक शक्तिको रूपमा आफ्नो स्थान स्थापित गरेको घोषणा गरेको छ । उत्तर कोरियाले आफ्नो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण गरेको छ।

केसीएनएका अनुसार शनिबार सम्पन्न बैठकमा किमले संयुक्त राज्य अमेरिकाले ‘विभिन्न प्रकारका सैन्य खतरा’ खडा गरेको आरोप लगाउनुभएको थियो र आफ्नो सेनालाई ‘युद्ध प्रतिक्रियाका लागि अत्यधिक क्षमता’ कायम राख्न आदेश दिएका थिए । 

किमले भनेका छन्, ‘कोरियाली प्रायद्वीपमा शत्रुहरूले हामीमाथि आक्रमण गर्न दुस्शाहसी कदम चालेका कारण कुनै पनि बेला युद्ध भड्किन सक्छ भन्ने कुराको पुष्टि हो ।’



प्योङयाङलाई रोक्नका लागि वासिङ्टनले यसै महिनाको सुरुमा दक्षिण कोरियाको बन्दरगाह सहर बुसानमा आणविक शक्तिसम्पन्न पनडुब्बी तैनाथ गर्नुका साथै सियोल र टोकियोसँगको अभ्यासमा लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।

यसअघि उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यासमा वासिङ्टनका बी–५२ बमवर्षकजस्ता रणनीतिक हतियार तैनाथ गर्नुलाई ‘जानाजानी आणविक युद्ध उत्तेजक कदम’ को संज्ञा दिएको थियो । 



  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार ११:५४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया