सहरी जनसंख्या १० वर्षमा पाँच प्रतिशतले वृद्धि
काठमाडौं र पोखरामा चाप असन्तुलित

मुलुकको सहरी जनसंख्यामा चाप बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७ दशमलव ०७ प्रतिशत पुगेको छ । 

जनगणना–०६८ र ०७८ को बीचमा सहरोन्मुख जनसंख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलब ७५ प्रतिशत पुगेको छ । ग्रामीण क्षेत्रमा जनसंख्या ३८ दशमलव ५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको छ । ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइ बढेको छ । बढ्दै गएको जनसंख्याको चापले सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको देखिएको छ ।

विभागका अनुसार भौगोलिक क्षेत्रका आधारमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधिअनुसारको विश्लेषणबाट ग्रामीण जनसंख्या पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत केन्द्रित भएको देखिएको छ । 

सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८५ प्रतिशत छ । सहरी जनसंख्या पहाडमा ५३ र त्यसपछि तराईमा ३९ प्रतिशतमा केन्द्रित भएको छ ।

नयाँ संविधानअनुसार नेपालमा केन्द्र, प्रदेश र स्थानीय तह गरि तीन तहको सरकार छ । स्थानीय तह ७ सय ५३ वटा छन्, जसमा २ सय ९३ नगरपालिका (महानगर र उपमहानगरसहित) र ४ सय ६० गाउँपालिका छन् । 

राष्ट्रिय जनगणना– ०७८ अनुसार मुलुकमा नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत छ । मुलुकमा ६६.१७ प्रतिशत सहरी क्षेत्र छ । 



विशेषताका आधारमा सहरोन्मुख भए पनि सहरी क्षेत्र मानिएका स्थानमा अझै पनि जनसंख्याको ठूलो हिस्सा रहेको देखिएको विभागले जनाएको छ । 

स्थानीय तहअनुसार ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण गर्दा गाउँपालिकाहरूको २ हजार ४ सय १२ वडामा ५८ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्र रहेको देखिन्छ, जबकि अधिकतर सहरोन्मुख (६६४ वडाहरू) क्षेत्रमा ३६.१ प्रतिशत र सहर (१३९ वडाहरू)मा ५.९ प्रतिशत जनसंख्या रहेको देखिन्छ । नगरपालिकाहरूको २८.४ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा (५९१ वडाहरू), बहुसख्यक करिब ४६ प्रतिशत सहरोन्मुख क्षेत्रमा (१२८५ वडाहरू) र अझै पनि २५.४ प्रतिशत (१२४४ वडाहरू) ग्रामीण क्षेत्रमा रहेको देखिन्छ ।



उपमहानगरपालिकाहरूमा पनि ३९ प्रतिशत जनसंख्या सहरोन्मुख विशेषताका क्षेत्रमा र ५३ प्रतिशत सहरी वर्गीकरणको क्षेत्रमा बसोवास गर्ने गरेको देखिन्छ । महानगरपालिकाहरूमा १७ प्रतिशत सहरोन्मुख क्षेत्र छ र २.३ प्रतिशत ग्रामीण विशेषताको तथा ८०.७ प्रतिशत सहरी क्षेत्र छ । तुलनाले के देखाउँछ भने नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि सहरोन्मुख छन् । सहरी र सहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाहरूको संख्या धेरै (३६८५) छन् । तिनमा कुल जनसंख्याको ३३ प्रतिशत मात्रै रहेको देखिने विभागद्वारा जारी तथ्यांकमा उल्लेख छ ।

प्रदेशगत हिसाबले विश्लेषण गर्दा संघीय संरचनामा सहरी र सहरोन्मुख जनसंख्या (कुल ६६.८ प्रतिशत) को वितरण तुलनात्मक रूपमा असन्तुलित रहेको छ । मधेश प्रदेशमा सबैभन्दा उच्च (१९.९ प्रतिशत), त्यसपछि वाग्मती (१४.६ प्रतिशत) र सबैभन्दा कम (१.२ प्रतिशत) कर्णाली प्रदेशमा छ । 

तथ्यांकले सहरी जनसंख्याको वितरणमा सबैभन्दा बढी असन्तुलन तराई क्षेत्रका स्थानीय तहहरूमा रहेको देखाउँछ । मधेश प्रदेशमा बहुसंख्यक वडाहरू (९७१) सहरोन्मुख विशेषताका छन् । बढी सहरी क्षेत्र भएको दोस्रो ठूलो प्रदेश वाग्मती देखिन्छ, जबकि यहाँ पनि ग्रामीण वडाको संख्या ६७२ छ भने कुल सहरोन्मुख र सहरी वडा ४४९ वटा छन् । 

कर्णाली प्रदेशमा ६३७ वटा वडा ग्रामीण विशेषताका छन् भने ७५ वडा सहरी र ६ वटा वडा सहरोन्मुख विशेषतायुक्त रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीले जनाएका छन् ।

  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार १७:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया