यी तीन युवा स्पिनर, जो सन्दीपको स्थानमा मौका पाउन सक्छन्

नेपालका सर्वाधिक सफल बलर सन्दीप लामिछानेले तत्काल राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने सम्भावना छैन ।

काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि उनले तत्काल नेपालको टिमबाट क्रिकेट खेल्ने सम्भावना नरहेको हो । उच्च अदालतबाट सफाइ पाएमा भने सन्दीपले फेरि क्रिकेटमा पुनरागमन गर्न सक्छन् । 

त्यो प्रक्रिया पूरा हुन कम्तीमा दुई/तीन महिना लाग्ने देखिन्छ । योबीचमा नेपालले अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ । नेपालले आउँदो फेब्रुअरीमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेदरल्याण्ड्ससँग सिरिज खेल्दैछ । यो त्रिकोणात्मक सिरिज फागुन ५ गते अर्थात् १७ फेब्रुअरीदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।  

सन्दीपबिना नेपाली टिमको सन्तुलन भने बिग्रिने पक्काजस्तै छ । यद्यपि उनको अभाव खड्किन नदिन केही हदसम्म मुख्य प्रशिक्षक मोन्टी देसाईले कोसिस गर्नेछन् । त्यसका लागि उनको ध्यान अब सन्दीपको ठाउँमा सन्तोषजनक प्रदर्शन गर्नसक्ने स्पिनरको खोजीमा हुनेछ । यसैबीच, आज आसन्न प्रतियोगितामा सन्दीपको स्थानमा टिममा मौका पाउनसक्ने तीन स्पिनरको चर्चा गर्दैछौँ :

साहब आलम



यो सूचीको शीर्ष स्थानमा साहब आलमको नाम आउँछ । उनले गत शनिबार सम्पन्न प्रो क्लब च्याम्पियनसिप टी–२० प्रतियोगितामा सानदार बलिङ गरे । साहबले ७ खेलमा ३.१९ को उत्कृष्ट इकोनमीमा सर्वाधिक १९ विकेट लिए । उच्च लयमा रहेका उनी प्रशिक्षक देसाईको नजरमा पर्न सक्छन् ।



साहबले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका छैनन् । यद्यपि उनले टी–२० आई क्रिकेटमा भने पदार्पण गरिसकेका छन् । साहबले अहिलेसम्म ६ टी–२० आई खेलमा खेलमा ४ विकेट लिएका छन् । उनले सन् २०२२ यता राष्ट्रिय टिममा मौका पाउन सकेका छैनन् । 

सागर ढकाल

आउँदो सिरिजमा सन्दीपको स्थानमा मौका पाउन सक्ने अर्का स्पिनर हुन्, सागर ढकाल । उनले पनि प्रो क्लब च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरे । नेपाल पुलिस क्लबलाई उपाधि दिलाउनेक्रममा सागरले ७ खेलमा ४.४८ को इकोनमीमा १३ विकेट लिए । 

उनले दुवै फरम्याटमा नेपालका लागि खेलिसकेका छन् । यद्यपि सागरले अन्तर्राष्ट्रिय क्रिकेटमा अपेक्षाकृत प्रदर्शन भने गर्न सकेका छैनन् । उनले अहिलेसम्म ८ ओडिआईमा चार तथा एक टी–२० आई खेलमा एक विकेट मात्र लिन सकेका छन् । सागरले पनि २०२२ यता राष्ट्रिय टिमका लागि खेल्न पाएका छैनन् ।   

दीपेश कँडेल

सन्दीप नहुँदा टिममा प्रमुख स्पिनरको जिम्मेवारी ललितनारायण राजवंशीको काँधमा हुनेछ । पछिल्लो समय उनले नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सन्दीप र उनको जोडी राम्रो जमेको थियो । तर, अब सन्दीप नहुँदा ललितले नयाँ स्पिनरलाई साथमा लिनुपर्नेछ । त्यस्तो अवस्थामा युवा स्टार दीपेश कँडेल राम्रो विकल्प हुन सक्छन् । 

उनले यू–१९ क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । ब्याटिङ पनि गर्न सक्षम दीपेशलाई मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि त्रिवि मैदानमा जारी प्रशिक्षणका क्रममा नियालिसकेका छन् । आउँदो यू–१९ विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सके उनी प्रशिक्षकको रोजाइमा पर्न सक्छन् ।       
 

  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १३:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया