logo-img

उद्योगीलाई विद्युत् प्राधिकरणको अनुरोध : बक्यौता रकम किस्ताबन्दीमा बुझाउनू

नेपाल विद्युत् प्राधिकरणले विद्युत महसुसवापतको बक्यौता महसुल रकम किस्ताबन्दीमा बुझाउन सार्वजनिक आह्वान गरेको छ । डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाएको भन्दै उद्योगहरूको लाइन काटिएपछि व्यवसायी आन्दोलित भइरहेका बेला प्राधिकरणले यस्तो सूचना निकालेको हो ।

प्राधिकरणले तिर्न बाँकी बक्यौता रकम बुझाउन ३० दिनभित्र प्राधिकरणमा आवेदन दिन भनेको छ । प्राधिकरणको १६ पुसमा बसेको बैठकले प्राधिकरणका विभिन्न संरचनाबाट विद्युत् सेवा प्राप्त गरेका उपभोक्ताले तिर्न बाँकी रहेको बक्यौता किस्ताबन्दीमा तिर्न पाउने गरी व्यवस्था गर्ने निर्णय गरेको थियो । 

त्यहीअनुसार प्राधिकरणले मंगलबार सूचना निकालेर यस्तो आह्वान गरेको हो । ‘विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एकपटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले भनेको छ । 



डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको लाइन काटिएको छ । जसका कारण उद्योगी–व्यवसायीहरू आन्दोलित हुँदै आएका छन् ।

यससम्बन्धी विवाद सुल्झाउन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत चासो दिएका छन् । सोमबार मात्रै प्रधानमन्त्री दाहालले महसुस पनि उठ्ने, र उद्योग पनि बन्द नहुने गरी समन्वय गर्न निर्देशन दिएका थिए । 


 





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार ८:५४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया