४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो ।  

गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरूप साइबर सेक्युरिटीमा मात्रै ४ हजार जनशक्ति उत्पादन गर्न लागिएको हो । 

साइबर सुरक्षा सीप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइबर अपराधबाट बचाउँछ भने सीपबाट रोजगार क्षेत्रमा आबद्ध हुन सकिन्छ । महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेशाकर्मीलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सीप प्रदान गरिनेछ ।’

गएको वर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरूले देखाएका छन् । यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिने उनले बताए ।   

झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढेजत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ । स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ । तर, अहिलेसम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन ।

‘व्यक्तिका व्यक्तिगत सूचनाहरू थाहा नपाई अरूले दुरुपयोग गरिरहेको हुनसक्छ । कहिलेकाहीँ सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ । इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ । हामीले यसको थालनी गरेका हौँ,’ उनले भने । तालिम माघ २ गतेबाट सुरु हुनेछ । 





  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार १०:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया