logo-img

भिजिट भिसामा : नेपाली पर्यटन उल्टो दिशामा
नेपालीले पाँच महिनामा विदेश घुमेरै सके ७५ अर्ब !

कुनै समय थियो, जतिबेला नेपालीहरू उपचार, रोजगार र अध्ययनका लागि मात्रै विदेश जाने गर्थे । तर, पछिल्लो समय लामो समय बिदा हुनेबित्तिकै नेपालीहरू विदेश घुम्न जाने प्रवृत्ति बढ्दो छ । उच्चदेखि मध्यम आर्थिक हैसियत भएका नेपालीहरू घुमघामकै लागि एसिया, युरोप र अमेरिका जान थालेका हुन् । ‘बेलामौकामा घुम्नुपर्छ’ भन्ने चेतनाको विकास भएका कारण पनि फुर्सदको समयमा मात्र होइन, फुर्सद मिलाएर पनि नेपालीहरू घुमफिर गर्न विदेश जान थालेका छन् ।
 
पछिल्लो तथ्यांक हेर्ने हो भने रोजगारी र अध्ययनजत्तिकै संख्यामा नेपाली विदेश घुम्न जाने गरेको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार जति मानिस रोजगारी र अध्ययनका लागि विदेश जान्छन्, झन्डै त्यसको आधा घुम्नका लागि पनि जाने गरेका छन् । सन् २०२३ मा कुल १६ लाख तीन हजार आठ सय ३६ नेपाली विदेश गएका छन् । उनीहरू पारिवारिक प्रयोजन, अध्ययन, तालिम/सभा–सम्मेलन, उपचार, व्यापार, खेलकुद, रोजगार, सांस्कृतिक कार्यक्रमलगायतका लागि विदेश गएका हुन् ।
 
जसमध्ये आठ लाख आठ हजार चार सय १५ जना नेपाली कामको खोजीमा विदेशिएका छन् भने एक लाख आठ हजार पाँच सय ४२ जना अध्ययनका लागि विदेशिएका छन् । त्यसमध्ये सन् २०२३ मा दुई लाख चार हजार  पाँच सय १८ जना नेपाली घुम्नका लागि विश्वका एक सय ५६ देशमा पुगेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । 

कुन–कुन देश नेपालीको रोजाइमा ?

पछिल्लो समय नेपालीहरू घुमन्ते हुन थालेका छन् । विशेषगरी भारत, युएई, थाइल्याण्ड, टर्की नेपाली पर्यटकका लागि सबैभन्दा आकर्षक गन्तव्य रहेको पाइएको छ । लामो बिदा र ट्राभल कम्पनीहरूले ल्याएका ‘टुर प्याकेज’ले विदेश घुम्नका लागि नेपालीलाई धेरै सहज भएको छ । नेपालीको खर्च गर्ने क्षमतामा वृद्धि, हनिमुन तथा घुम्ने संस्कृतिको विकासले समेत विदेश भ्रमण गर्नेहरु बढिरहेको व्यवसायीहरू बताउँछन् । 



अध्यागमन विभागका अनुसार सन् २०२३ मा दुई लाख चार हजार  पाँच सय १८ जना नेपाली घुम्नका लागि विदेशिएका छन् । जसमध्ये प्रमुख गन्तव्य भने भारत रहेको छ । सन् २०२३ मा भारतमा मात्र ७१ हजार ६ सय ९८ जना नेपाली घुमफिर र पर्यटनको प्रयोजनमा गएको विभागले जनाएको छ । त्यसपछि दोस्रोमा युएई रहेको छ । युएईमा ५५ हजार ६ सय १८ जना नेपाली घुम्नका लागि जाँदा थाइल्याण्डमा २१ हजार दुई सय ६० जना नेपाली घुमफिरका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ । 

यस्तै, चौथो नम्बरमा चीन रहेको छ । चीनमा ६ हजार ९३ जना नेपाली घुम्न जाँदा अष्ट्रेलिया पाँच हजार आठ सय एकजना नेपाली घुम्न गएका छन् । यस्तै, छैटौँमा सिंगापुर रहेको छ भने सातौँमा मलेसिया रहेको छ । सिंगापुर चार हजार छ सय ६० जाँदा मलेसिया चार हजार चार सय ७३ नेपाली घुम्न गएका थिए । यस्तै, अमेरिका चार हजार ३५, जापान दुई हजार पाँच सय ९० जना जाँदा ओमानमा दुई हजार चार सय ९६ जना घुम्न गएका छन् । 



देशमा भित्रिनेभन्दा बाहिरिने रकम धेरै 



प्रमुख पर्यटकीय गन्तव्य मानिने नेपालमा पछिल्लो समय पर्यटनबाट हुने आम्दानी घट्दो छ । नेपाल आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गर्दै आएका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा (साउन–मंसिर) भ्रमण आय ४७.५ प्रतिशतले वृद्धि भई ३३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २३ अर्ब १ करोड रहेको थियो । यस्तै, सोही समयमा भ्रमण व्यय ५९.५ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४७ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।
 
यस्तै, आर्थिक वर्ष ०७९–८० मा एक खर्ब ४६ अर्ब ५८ करोड रुपैयाँ नेपालीले विदेश गएर खर्च गर्दा विदेशीले ६२ अर्ब ३६ करोड खर्च नेपालमा गरेका थिए । गत आर्थिक वर्ष २०७८–०७९ मा पर्यटक आवगमनमा सुधार हुँदा ३२ अर्ब ४५ करोड आम्दानी भएको थियो भने नेपालीहरूले विदेश गएर ९७ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेका थिए । 

यस्तै, कोभिड महामारीको बीच आर्थिक वर्ष ०७७–७८ मा विदेशी पर्यटकबाट सात अर्ब २७ करोड आम्दानी भएको थियो भने सोही वर्ष नेपालीले विदेशमा गएर ३२ अर्ब ८० करोड खर्च गरेका थिए । यसैबीच आर्थिक वर्ष ०७६–७७ मा नेपालले विदेशी पर्यटकबाट ६० अर्ब ८९ करोड आम्दानी गर्दा कोभिड महामारी सुरु भएकाले ५३ अर्ब १४ करोड मात्र खर्च गरेका थिए । 

नेपालको बढ्दो व्यापारघाटा कम गर्न पर्यटन सबैभन्दा भरपर्दो माध्यम भनिए पनि व्यवहारमा भने उल्टो देखिएको छ । नेपालीहरूले विदेशमा गएर गर्ने खर्चभन्दा विदेशी पर्यटकले नेपाल आएर गर्ने खर्च कम छ । पर्यटकको आगमन संख्या बढे पनि आम्दानी भने अपेक्षित रूपमा बढ्न सकेको छैन । वार्षिक पर्यटक आगमनको संख्या १० लाख पुगेको छ । ​

विदेश घुम्ने मोहले कस्तो पर्ला असर ?

पछिल्लो समय घुमघाम गर्नु पर्छ भन्नेबारे बढ्दो जनचेतनाका साथै  विदेश जान सहज र सुलभ हुँदै गएकाले पनि नेपालीमा विदेश घुम्ने मोह जागेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा बताउँछन् । उनका अनुसार सस्तो मूल्यमा प्याकेजहरू उपलब्ध हुन थालेपछि विदेश जाने नेपालीको संख्या बढेको हो । 

नेपालमा कम्पनीहरूबीचको प्रतिस्पर्धाले पहिलाभन्दा विदेश टुर सस्तो हुन गएको छ । विदेश घुम्न जाँदा सबैभन्दा धेरै खर्च हवाई टिकटमा हुन्छ भने त्यसपछि होटेल, खाना र यातायातमा खर्च हुने गरेको छ । यी सबै कुरा जोडिदा पनि बढी खर्च भएको देखिएको उनको भनाइ छ । साथै अरु देशले खर्च गर्ने वातावरण वनाएकाले पनि बढी खर्च हुने देखिन्छ । ‘अरु देशले खर्च गरु गरु भन्ने वातावरण तयार बनाएका हुन्छन्,’ उनी भन्छन्, ‘ब्राण्डेड सामान आफैले उत्पादन गरेका हुन्छन् । गुणस्तर त्यतिकै राम्रो हुन्छ । त्यसैले नेपालीहरू बढी सामान किन्छन् । जसले गर्दा पनि नेपालीले पनि बढी खर्च गरिरहेका हुन्छन् ।’

यस्तै, पछिल्लो समय नेपालीहरू परिवार घुम्न निस्कने मात्रै नभई कर्पोरेट हाउस, कलेज र स्कुलले ग्रुपमा आफ्ना कर्मचारी र विद्यार्थीलाई भ्रमणका लागि विदेश पठाउने गरेको छ । जसले गर्दा पनि घुम्न विदेश जाने नेपालीको संख्या बढाएको उनी बताउँछन् । 

तर, नेपालीहरूको विदेश जाने संख्या बढ्दै जाँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने विज्ञहरू बताउँछन् । नेपालीहरूले भारी परिमाणमा डलरलगायत अन्य विदेशी मुद्रा साट्ने र त्यो विदेशमा खर्च गर्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा प्रतिकूल असर पर्छ । पर्यटनमा आम्दानीको तुलनामा बढी रकम विदेशमा खर्च हुनु गम्भीर विषय हो । 

त्यस्तो किसिमको खर्च कसरी कम गर्ने भन्ने विषयमा सोच्न जरुरी रहेको विज्ञको तर्क छ । यसबाट हामीले आन्तरिक पर्यटनलाई प्राथमिकता दिन नसकेको रूपमा हेर्न सकिन्छ । त्यस कारण अब देशभित्र पूर्वाधार विकास, गन्तव्य प्रवर्द्धन र पर्यटनबाट मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउन ठोस कार्यक्रमको खाँचो रहेका नाट्टाका अध्यक्ष थापा बताउँछन् । 

रमेश थापा, अध्यक्ष, नाट्टा ​

उनका अनुसार डिजिटल मार्केटिङ, आक्रामक बजार प्रवर्द्धन र सेवा तथा सुविधाको गुणस्तर वृद्धि गर्दै पहिलो गन्तव्य नेपाल नै हो भन्ने भावना वृद्धि गर्ने योजना सरकारको हुनुपर्छ । नेपालीहरू विदेश घुम्न जानु नराम्रो होइन,’ उनी भन्छन्, ‘नेपालले यसबाट फाइदा लिन जान्नु पर्छ ।’ नेपालीहरू विभिन्न देश घुम्न जाँदा उनीहरूलाई नेपाल घुम्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ । ‘पर्यटनको फाइदा भनेको ती देशमा पुगेका पर्यटकले आफ्नो देशका बारेमा सकारात्मक सन्देश दिनु हो’ अध्यक्ष थापा भन्छन्, ‘पछिल्लो समय नेपालीहरू एसिया, युरोप, अमेरिका जान थालेका छन् । ती देशमा पुगेका नेपालीहरूले नेपालको पर्यटन बारेमा बताउने प्रवृत्तिको विकास गर्नुपर्छ । जसबाट नेपाली पर्यटनले ठूलो लाभ लिन सक्छन् ।’

त्यस्तो भूमिका निर्वाह गराउन सरकारले नै पहल गर्नुपर्ने उनको तर्क छ । विदेश पुगेका नेपालीको मुखबाट नेपालका बारेमा सुन्दा विदेशीहरू घुम्न नेपाल आउन सक्छन् । केही पर्यटन व्यवसायीले भने विदेशका व्यवसायीलाई नेपाल भ्रमण गराएका पनि छन् । र, त्यसबाट केही पर्यटक नेपाल आएको पनि पाइन्छ । व्यापार घाटा चुलिएपछि सरकारले यसमा अंकुश लगाउन प्रयास नगरेको होइन । यो प्रवृत्तिलाई कम गर्न नेपाल राष्ट्र बैंकले बैंक सटही सुविधामा कटौती गर्दै आएको छ । पहिले प्रति व्यक्ति २५,०० डलर दिने गरेकोमा अहिले सो सीमा १५,०० मा झारिएको छ ।
 
यस्तै, भ्रमण शीर्षकमै वार्षिक खर्ब हाराहारीमा मुद्रा बाहिरिन थालेपछि सरकारले यसलाई नियन्त्रण गर्ने रणनीति अघि सारेको छ । यसै रणनीति स्वरूप सरकारले आर्थिक विधेयकमार्फत भ्रमण शीर्षकमा पाँच प्रतिशत करको व्यवस्था गरेको छ । यसअघि शैक्षिक भ्रमणका लागि दुई प्रतिशत करको व्यवस्था गरिए पनि अन्य भ्रमणमा करको व्यवस्था थिएन । जसले नेपालीहरू सहजै विदेश भ्रमणमा गइरहेका थिए । यसैलाई रोक्न पनि सरकारले भ्रमण शीर्षकमा पाँच प्रतिशत करको व्यवस्था गरिदिएको छ । 

आर्थिक विधेयक, २०८० को अनुसूची २२ को १ मा वैदेशिक पर्यटन शुल्कको व्यवस्था गर्दै ‘विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाई असुल गरिनेछ’ भनिएको छ । यस्तो शुल्क वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्री गरेको बखत नै कट्टी गरी आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने उल्लेख छ । यसले विदेश भ्रमण निरुत्साहित हुने सरकारको अपेक्षा छ ।

यति मात्र होइन, यसअघि सरकारले पर्यटकका रूपमा विदेश जाने नेपालीलाई ‘कडाइ’ गर्ने भन्दै ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७९’ ल्याएको थियो । जसको चौतर्फी विरोध पनि भएको थियो । तर, त्यो प्रभावकारी हुन सकेको छैन । सरकारले नेपालबाट विदेश घुम्न जाने पर्यटकका लागि वार्षिक करयोग्य आम्दानी चार लाख, बैंकमा दुई लाख नगद मौज्दात, टिकट काट्नुअघि अध्यागमन विभागबाट पूर्व स्वीकृति लिनुपर्नेलगायत कडा सर्तसहित कार्यविधि ल्याएको थियो । 

उक्त कार्यविधि जारी भए पनि विदेश घुम्न जाने नेपालीमा कमी आएको छैन । सरकारले चालेका यस्ता कदम उपयुक्त नभएको पनि उनी बताउँछन् । उनका अनुसार उनीहरूले ५ प्रतिशत कर वृद्धि, विदेशी मुद्रा सटहीको मापदण्ड हटाउनुपर्ने माग राख्दै सरकार, अर्थ मन्त्रालय, राजश्व विभागसँग पनि पटक पटक छलफल गर्दै आएका छन् । आउने आर्थिक वर्षमा केही फेरबदल हुने उनीहरूको आसा छ । त्यस कारण विदेश जान चाहने नेपालीलाई कडाइ गर्नुभन्दा पनि पर्यटकका रूपमा विदेश जाने नेपालीहरूलाई नेपालको प्रचार गर्न सिकाउनुपर्ने आवश्यकता रहेको उनी बताउँछन् । 

त्यसको लागि सरकारले विदेशमा घुम्न जाने नेपालीलाई कसरी ती देशका मानिससँग कुराकानी गर्ने, तिनीहरूलाई नेपालको पर्यटनबारे जानकारी दिन सकिन्छ भनेर सिकाउन सके नेपाली पर्यटनले फाइदा लिन सक्छन् । साथै नेपालको बारेमा जान्न चाहनेहरूलाई साना–साना पम्प्लेट, पर्चा वितरण गरेर पनि फाइदा लिन सकिने नाट्टा अध्यक्ष थापा बताउँछन् । ‘जहाँ गए पनि सुरुमा देशकै प्रतिनिधित्व हुन्छ,’ उनी भन्छन्, ‘यसले देशको विषयमा मार्केटिङ भइरहेको छ । उनीहरूले नेपाल भन्ने देश रहेछ भन्ने थाहा पाउँछन् र, नेपाल कस्तो देश रहेछ भनेर खोजेर हेर्न थाल्छन् । यसले दीर्घकालीन रुपमा मार्केट्रिको काम गरिरहेको हुन्छ ।’

यस्तै कतिपय कुराहरूमा नेपालका बारेमा नकारात्मक सन्देश गएका छन् । यसो गर्न सके ती विदेशीलाई लागेका नकारात्मक धारणामा परिवर्तन ल्याउन सकिने उनको तर्क छ । उनी उदाहरण दिँदै भन्छन्, ‘कुनै बेला थाइल्याण्डमा नेपाली भनेका विदेशमा काम गर्ने कामदारमात्र हुन् भन्ने सोच थियो । तर, जब नेपालीहरू डलर लिएर त्यहाँ घुम्न जान थाले अहिले उनीहरूको धारणा बदलिएको छ । विदेशीने नेपाली पर्यटकले यसरी नेपाली पर्यटकमा सहयोग पुर्‍याउन सक्छन् ।’

साथै विदेशी पर्यटकबाट आम्दानी कम हुनुका धेरै रहेको उनी बताउँछन् । उनका अनुसार नेपाली पूर्वाधारको क्षमता भन्दा एकदमै कम मात्रामा पर्यटक नेपाल भित्रिएका छन् । नेपाली पूर्वाधारको क्षमता ३५ लाख भन्दा बढी पर्यटकलाई थेग्ने रहेको छ भने हाल १० लाख पर्यटक मात्र भित्रिरहेका छन् । भन्छन्, ‘पर्यटन व्यवसायीहरूले जति पूर्वाधारमा लगानी गरेका छन् । त्यो अनुसार पर्यटक भित्र्याउन नै सकिएको छैन । अर्को कुरा  हाम्रो देशमा पर्यटकले गर्ने खर्चमा स्वतन्त्रता छ । कुनै कुनै देशले यो पर्यटकले प्रत्येक दिन कर, सवारी भाडा, गाइडलगायतमा यति खर्च गर्नुपर्छ भन्ने फिक्स हुन्छ । यस्ता कारणले नेपालमा पर्यटकले गर्ने खर्चमा कमी आएको हो ।’

यस्तै, विदेशीले बुकिङ गरेको टुर प्याकेज, ट्रेकिङ, होटलको बसाइ खर्चलाई मात्र हिसाब गरिएको छ । त्यो बाहेक फ्लाइट, सवारी भाडा, स्थानी स्तरमा गएर सामान किन्दा गर्ने खर्चलगायत यावत कुरामा विदेशी पर्यटकले खर्च गरिरहेका हुन्छन् । यी सबै कुरालाई जोड्ने हो भने उनीहरूले गर्ने खर्चमा केही वृद्धि हुने उनको भनाइ छ । 

बाह्य पर्यटनबाट देशलाई घाटा भएकाले सकेसम्म स्वदेशमा घुम्न प्रेरित गर्नुपर्छ । पछिल्लो समय आन्तरिक पर्यटक बढ्दो छ । त्यसका लागि ‘पहिला स्वदेश अनि विदेश’ भन्ने नारा नै तय पनि भएका छन् । यो राम्रो हो तर बाह्य पर्यटन पूरै नराम्रो भन्ने नहुने उनी बताउँछन् । भन्छन्, ‘घुम्न जाने नेपालीबाट पनि हामीले फाइदा लिन  सक्छौँ तर हामी चुकेका छौँ । विदेश घुम्न जान रोक्नु हुँदैन र रोक्न पनि सक्दैनौँ, तर यसबाट हामीले धेरै फाइदा लिन सक्छौँ । कसरी फाइदा लिने भन्ने कारे गहन अध्ययन हुन जरुरी छ ।’

नाट्टा अध्यक्ष थापा मात्र होइन, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी पनि नेपालीलाई घुम्न विदेश जानबाट रोक्नुभन्दा पनि कसरी नेपाली पर्यटनले फाइदा लिने भन्नेतर्फ सोच्नुपर्ने बताउँछन् । उनका अनुसार सबैभन्दा पहिला नेपाल आउने विदेशी पर्यटकको बसाइ र खर्च गराइ कसरी बढाउने भन्नेतर्फ सरकारले सोच्नु पर्छ ।

दीपकराज जोशी, पूर्वप्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड  

‘नेपाल घुम्न आएनन्, नेपाली पनि विदेश घुम्न जानुहुँदैन भन्ने तर्क उचित हुँदैन,’ उनी भन्छन्, ‘विदेश घुम्न जाने नेपालीले कुनै न कुनै रुपमा नेपालको प्रवर्द्धन गरिरहेकै हुन्छन् । हामीले नेपाल आउने पर्यटकले गर्ने खर्च र बसाइ, खर्चालु पर्यटक र कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने भन्ने विषयमा काम गर्न जरुरी छ । यसो गर्न सके नेपाली पर्यटन क्षेत्रको उत्थान अवश्य हुन्छ ।’ 

यसका साथै विदेशीले नेपालमा गर्ने सबै खर्च गणना हुँदैन । त्यसैले पनि विदेशीले गर्ने खर्च कम देखिन्छ भने पछिल्लो समय डिजिटल पेमेन्टको प्रवृत्ति बढ्दो रहेकाले पनि केही रकममा कमी आएको उनी बताउँछन् । त्यसलाई हामीले नियन्त्रण गर्न सके विदेशी पर्यटकले गर्ने खर्च बढ्ने देखिन्छ ।

  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार १९:३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया