काठमाडौं महानगरले ६ महिनामा उठायो ५ अर्ब राजस्व

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक (६ महिना) अवधिमा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व असुल गरेको थियो ।

अघिल्लो आव र चालू आवको सोही अवधिको तुलना गर्दा यस वर्ष ३५ करोड रुपैयाँले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी बहाल करमा १ अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपैयाँ राजस्व असुल भएको छ ।  

त्यस्तै, सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार रुपैयाँ असुल गरेको हो । विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको छ ।  

गत आवमा भने ९ अर्ब ८ करोड ७० लाख १३ हजार रुपैयाँको लक्ष्य लिएको थियो । विगतका केही वर्ष कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेपनि चालू आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपाको भनाइ छ ।  

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए । चालू आवमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उनको भनाइ छ ।

यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल उपर गर्न सहज भएको काफ्लेले बताए । 



कामपाले गत ३ फागुनमा ‘घरबहाल व्यवस्था निर्देशिका–२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम सङ्कलन हुन थालेको जनाइएको छ । निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराउँदा दवैका बारे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्नेछ । रासस



  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १३:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया