विश्वव्यापी चुनौतीको सामूहिक र क्षेत्रीय समाधान खोज्नुपर्छ : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विश्वले सामना गरिरहेका साझा चुनौती र समस्याको विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक रहेकामा जोड दिएका छन् । 

युगान्डाको राजधानी कम्पालामा भइरहेको असंलग्न आन्दोलन (नाम)को मन्त्रिस्तरीय बैठकलाई आज सम्बोधन गर्दै उनले भने, ‘हामी कोभिड–१९ महामारीको निरन्तर प्रभाव, जलवायु परिवर्तन, द्वन्द्व, खाद्यान्न र ऊर्जालगायतमा भएको मूल्यवृद्धि, ऋणको बोझलगायतका सङ्कट र चुनौतीको सामना गरिरहेका छौँ । यसका लागि विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक छ ।’ 

मन्त्री साउदले विश्वव्यापी समृद्धि समानरुपमा बाँडफाँट गर्न र समावेशी विश्वव्यापी व्यवस्थाका लागि नामले सामूहिक आवाजलाई जोड दिनुपर्ने बताए । नाम आन्दोलन ध्रुवताको पूर्वाग्रहबाट मुक्तिका लागि एक शक्तिशाली राजनीतिक आवाज बनेको उल्लेख गर्दै उनले नाम एक सय २० देशको प्रतिनिधित्व भएको सबल संगठनका रुपमा रहेको र यसमा विश्वको करिब ६० प्रतिशत जनसङ्ख्या रहेको उल्लेख गरे । नाम द्वन्द्वदेखि जलवायु परिवर्तन, आर्थिक सामाजिक असमानता, भोक, रोगलगायत चुनौती र समस्याको विश्वव्यापी समाधान खोज्ने सबल संगठन भएको उनको भनाइ थियो । 

मन्त्री साउदले संयुक्त राष्ट्र संघ बडापत्र र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्दै नामले समस्या र चुनौतीको शान्तिपूर्ण समाधानमा निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले नामले दिगो विकास लक्ष्य र अन्य अन्तर्राष्ट्रिय रुपमा निर्धारण गरिएका विकास लक्ष्यका उपलब्धिका साथै जलवायु न्याय र जोखिममा रहेका मुलुकको हितमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। 

मन्त्री साउदले नामको उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै यसलाई नेपालको संविधानले विदेश नीतिका रुपमा आत्मसात् गरेको अवगत गराए ।  





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १८:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया