महानिर्देशक पौडेलको दाबी : भन्सारको ‘सेटिङ’ भत्काएका छौँ
फाइल तस्बिर

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले विभिन्न भन्सार नाकाबाट हुने अवैध चोरी, निकासी तथा पैठारी रोक्न तस्करहरूको ‘सेटिङ’ भत्काइएको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज विभागले आयोजना गरेको अन्तरक्रियामा उनले भन्सार नाकाबाट हुने सबै अवैध गतिविधि रोक्न नसकिए पनि तस्करको जालो भत्काउन विभाग केही हदसम्म सफल भएको दाबी गरेका हुन् । 

यद्यपि सुनलगायतका वस्तु अवैधरूपमा भित्रिरहेकामा त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्न भने नसकिएको उनले बताए । ‘भन्सार कार्यालयमा हुने विभिन्न खालका सेटिङ भत्काउने काम भइरहेको छ, तर तस्करहरू एक कदम अगाडि छन्, उनीहरू हाम्रा कमजोरी हेरेर योजना बनाउँछन्’, पौडेलले भने ।

अवैध वस्तु भन्सार छलेर कसरी सजिलै भित्रिन्छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा महानिर्देशक पौडेलले अपर्याप्त जनशक्ति तथा प्राविधिक क्षमताको अभाव, कर्मचारीको मिलेमतो, अन्तर निकाय समन्वय अभावलगायतका समस्या रहेको बताए ।

सबै कर्मचारी राम्रा वा सबै नराम्रा छन् भन्ने पक्षमा आफू नरहेको पनि उनले स्पष्ट पारे । खुला सीमा अर्को चुनौती रहेको उहाँको भनाइ छ । भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन धातु एक्स–रे मेसिन खरिद आवश्यक रहेको पौडेलले बताए ।

यस्तै, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा निकै कम कर्मचारी रहेको उल्लेख गर्दै समग्र निगरानी संयन्त्रमै समस्या रहेको बताए । रासस 





  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार १५:५३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया