यू–१९ क्रिकेटमा अर्जुन कुमालको कमाल जारी

नेपाली युवा ब्याटर अर्जुन कुमालले फेरि एकपटक आफू अब्बल खेलाडी भएको प्रमाणित गरेका छन् । उनले दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकपअन्तर्गत आइतबार भएको खेलमा न्यूजिल्याण्डविरुद्ध उत्कृष्ट पारी खेल्दै आफू सक्षम खेलाडी भएको प्रमाणित गरेका हुन् ।

ओपनिङ ब्याटर अर्जुनले नेपाललाई जित दिलाउन पूरा कोसिस गरे । त्यसक्रममा उनले १ सय ४ बलमा १२ चौकाको सहयोगमा सर्वाधिक ९० रनको इनिङ खेले । एक एन्डबाट लगातार विकेट पतन भए पनि अर्जुनले निर्धक्कसाथ साथ ब्याटिङ गरे ।

उनले यस्तो प्रकारको पारी यस खेलमा मात्र नभइ गत डिसेम्बरमा भएको एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध पनि खेलेका थिए । अर्जुनले उक्त खेलमा कठिन परिस्थितिमा १ सय ८ बलमा ९१ रनको पारी खेले । त्यसपछि उनले भारतविरुद्ध ७ रन जोडे ।

भारतविरुद्धको उक्त प्रदर्शन बिर्सिँदै अर्जुनले आफ्नो डेब्यू विश्वकपको पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै समर्थक र खेल विश्लेषकको मन जितेका छन् । धेरैले त उनलाई छिट्टै राष्ट्रिय टिमको जर्सीमा देख्न चाहेको पनि प्रतिक्रिया दिइरहेका छन् । 



क्रिजमा धैर्य र निडर भएर ब्याटिङ गर्न सक्षम अर्जुनले उमेर समूहको क्रिकेटमा लगातार रन बनाइरहेका छन् । भारतको दिल्लीमा प्रशिक्षण पाएका उनले यू–१९ क्रिकेटमा दुई शतक बनाइसकेका छन् । अर्जुन नेपालको तर्फबाट उमेर समूहको क्रिकेटमा दुई शतक बनाउने पहिलो ओपनिङ ब्याटर हुन् ।

उनले ओपनरको रूपमा राम्रो गर्दै आएका छन् । तर, अर्जुनले अहिलेसम्म यस भूमिकामा सक्षम साथी भने भेटाएका छैनन् । आइतबार न्यूजिल्याण्डविरुद्धको खेलमा पनि उनले आफ्नो सहकर्मीबाट दरिलो साथ पाएनन् । अर्जुनले अर्को एन्डबाट राम्रो साथ नपाउँदा नै न्यूजिल्याण्डसँग नेपाल ६४ रनले हार्न पुग्यो ।



यू–१९ विश्वकपमा न्यूजिल्याण्डसँग नेपाल पहिलोपटक पराजित भएको हो । यसअघि भएको विश्वकपको दुई भेटमा न्यूजिल्याण्डविरुद्ध नेपाल विजयी भएको थियो ।

जारी विश्वकपमा समूह ‘डी’ मा रहेको नेपालले अब बुधबार पाकिस्तान तथा शुक्रबार अफगानिस्तानको सामना गर्ने तालिका छ । समूहको शीर्ष तीनमा स्थान बनाउन नेपालले पाकिस्तान र अफगानिस्तानमध्ये एक टिमलाई हराउनैपर्ने हुन्छ । 

  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १२:१६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया