एएचजेड : बेलायतमा विद्यार्थी पठाउने अवैध संस्था
विदेशी शैक्षिक परामर्श संस्थाको नेपालमा गैरकानुनी हर्कत

विदेशमा बसेर अवैध रूपमा नेपालमा शैक्षिक परामर्श चलाएर नक्कली कागजात र प्रलोभनको भरमा विदेशमा नेपाली विद्यार्थी पुर्याउने गैरकानुनी प्रवृत्ति झन्–झन् झांगिँदै जान थालेको छ । सरकारले आँखा चिम्लिँदा यस्तो गलत प्रवृत्ति मौलाउँदै जान थालेको छ । यस्तैमध्येको एक शैक्षिक परामर्श संस्थाको नाम हो– एएचजेड एसोसियट्स । यो संस्था नेपालमा अवैध रूपमा सञ्चालन हुँदै आएको छ ।

बेलायतमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले नेपाली विद्यार्थीलाई अध्ययनका लागि कसरी बेलायत पठाउने काम गरिरहेको छ ? जबकि यो संस्थालाई नेपालको कानुनले नै चिन्दैन । बेलायबाट उच्च शिक्षा पूरा गर्न चाहने नेपाली विद्यार्थीलाई केन्द्रमा राखेर शैक्षिक परामर्शसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको यस कन्सल्टेन्सीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमतिसमेत लिएको छैन ।

‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३’ अनुसार शैक्षिक परामर्श सेवा वा पूर्वतयारी कक्षा तथा भाषा शिक्षण कक्षा सञ्चालन गर्न संस्थाले शिक्षा मन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ ।

तर, यो कन्सल्टेन्सीले शिक्षा मन्त्रालयबाट अनुमति नै नलिई शैक्षिक परामर्शसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ । शिक्षा मन्त्रालयबाट हालसम्म एक हजार ४७३ शैक्षिक परामर्श संस्थाले सञ्चालनका लागि अनुमति लिएका छन्, जसमा एएचजेडको नाम उल्लेख छैन । अर्थात्, एएचजेड नेपालमा गैरकानुनी तवरले सञ्चालन भएको बुझ्न कठिन छैन । कन्सल्टेन्सी सञ्चालनका लागि कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गराएर मात्रै हुँदैन, सञ्चालनका लागि मन्त्रालयबाट अनुमतिसमेत लिनुपर्ने हुन्छ ।

कन्सल्टेन्सी बन्द

एक साताअघिसम्म एएचजेडको आधिकारिक बेवसाइटमा नेपालमा रहेको कार्यालयको लोकेसनसहित सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर राखिएको थियो । तर,, अहिले त्यसलाई कम्पनीले आफ्नो बेवसाइटबाट हटाएको छ ।



 

त्यस्तै, काठमाडौंको पुतलीसडक र कास्कीको पोखरामा रहेको कार्यालय पनि करिब दुई सातादेखि बन्द रहेको छ । ‘एएचजेड नेपाल’ नामक फेसबुक पेज पनि तत्कालका लागि बन्द गरिएको छ ।



केही दिनअघिसम्म उच्च शिक्षा अध्ययनका लागि युके जान इच्छुक विद्यार्थीले परामर्श लिन सक्ने भन्दै व्यापक प्रचारप्रसार गरिरहेको उक्त पेज हाललाई भने बन्द गरिएको छ ।

नियामक निकाय शिक्षा मन्त्रालय गैरजिम्मेवार बन्दा आफ्नो मिसन पूरा भएपछि अफिस बन्द गरेर भाग्ने यस्ता कम्पनीले समग्र कन्सल्टेन्सी क्षेत्रलाई नै बदनाम गराइरहेको छ । 

पछिल्लो समय कन्सल्टेन्सीका नाममा नेपाल भित्रिएका यस्ता कन्सल्टेन्सीको मिसन नै विद्यार्थीलाई विभिन्न प्रलोभनमा पार्ने र ठगी गर्ने रहेको छ । नक्कली कागजात बनाएर विद्यार्थीको आवरणमा विदेश पलायन गराउने मिसनमा पनि यस्ता कन्सल्टेन्सी रहेको जानकारहरू बताउँछन् । विद्यार्थीलाई अध्ययनका नाममा विदेश पठाउँदा कमिसन पनि धेरै आउने र कुरा पनि गुपचुप रहने भएकाले पछिल्लो समय विदेशी कन्सल्टेन्सीले निश्चित समयका लागि नेपालमा कार्यालय खडा गरेर विद्यार्थीसँग पैसा उठाउने र भाग्ने क्रम बढ्दै गएको शैक्षिक परामर्श क्षेत्रका जानकार बताउँछन् ।

यसरी सञ्चालन भएका कन्सल्टेन्सीको प्रलोभनमा परेर विदेश गएका विद्यार्थीको जिम्मेवारी कसले लिने, उनीहरु समस्यामा परे त्यसको समाधान कसले गर्ने भन्ने प्रश्न उब्जिएको छ ।

शैक्षिक परामर्शसम्बन्धी नेपालको कानुन फितलो भएका कारण पनि जो–कोहीले कार्यालय खडा गरेर विद्यार्थीलाई ठगी गर्ने गरेका छन् ।

यस्तो छ एएचजेडको नालिबेली

सन् २०१२ बाट सञ्चालनमा आएको एएचजेड नामक शैक्षिक कन्सल्टेन्सीको केन्द्रीय कार्यालय बेलायतस्थित लण्डनमा रहेको छ भने यस कम्पनीको सिइओका रूपमा गोलम मुर्तुजा र जाहिरुल इस्लाम रहेका छन् ।

यो कम्पनीले नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश नाइजेरिया, सिंगापुर, लिबिया, श्रीलंका, कुबेत, साउदी अरेबियालगायत देशमा आफ्नो शाखा विस्तार गरेको छ । केही दिनअघिबाट यो कम्पनीले नेपालमा रहेकोे शाखा कार्यालयको सूचना र सम्पर्क व्यक्तिको सम्पर्क नम्बर भने आफ्नो साइटबाट हटाएको छ ।

यो कम्पनीको फ्रेन्चाइज लिएर विसं ०७६ पुस ९ गते अजयकुमार महत, सुरेन्द्रबहादुर सिंह र सुवास दुलालले ‘एएचजेड एसोसियट्स ग्रुप नेपाल’ नामक संस्था दर्ता गराएका थिए । तर पछि एएचजेडको संस्थापन पक्षसँग कुरा नमिलेपछि उक्त काम अघि नबढाएको अजयकुमार महत बताउँछन् । उनले फरकधारसँग भने, ‘हामीले दर्ता गराउने काम मात्र गर्याैं, केही कुरामा हामीलाई शंका लागेपछि कुरा मिलेन र काम पनि अघि बढेन । अहिले कसरी चलेको छ भन्ने मलाई थाहा हुने कुरा भएन ।’ एएचजेडको संस्थापन पक्ष र अजयकुमार महतलगायत ग्रुपसँग कुरा नमिलेपछि एएचजेडले आशाशशि विश्वास नामका व्यक्तिले कन्सल्टेन्सी चलाउने जिम्मा लिएको देखिन्छ ।

तर, आशाशशि विश्वासले फरकधारसँगको कुराकानीमा आफू उक्त संस्थाको काउन्सिलर मात्र रहेको दाबी गरेका छन् । यो बेग्लै कुरा हो कि उनले केही मिडियामा आफूलाई सञ्चालक उल्लेख गराएर बाइट दिएको तथ्य फरकधारले फेला पारेको छ । विश्वासले कन्सल्टेन्सी सञ्चालन त गरेका छन्, तर आवश्यक मापदण्ड पूरा गरेका छैनन् ।

घरबाटै काम

युकेबाट बन्द गर्न आदेश आएको भन्दै नेपालमा रहेका एएचजेडका कार्यालयमा ताला लागे पनि कन्सल्टेन्सीका काउन्सिलरहरूले भने काम नरोकिएको जनाउँदै आएका छन् । 

पोखरा शाखाका एक काउन्सिलरले ‘वर्क फ्रम होम’ भइरहेको जानकारी दिए । उनका अनुसार कार्यालय बन्द गर्न माथिबाटै आदेश आएकाले तत्काल कार्यालय खुल्दैन ।

एएचजेडको नेपाल कार्यालयमाथि कानुनी प्रश्नहरू उठ्न थालेपछि प्रमुख सञ्चालकले नेपाल कार्यालय बन्द गराएको बुझ्न सकिन्छ । तर, कार्यालयमा ताला लागे पनि ‘वर्क फ्रम होम’ भन्दै नेपाली विद्यार्थीलाई गलत बाटोबाट बेलायत ओसार्ने काम भने भइरहेको बुझ्न कठिन छैन । 

यो एउटा उदाहरण मात्र हो, नेपालको शैक्षिक परामर्श क्षेत्रमा विदेशी नागरिकको मनमौजी कहिलेसम्म चल्ने हो ? सरकारलाई प्रश्न हो, यो । सरकारको घैँटोमा कहिले घाम लाग्ला ? यो दोस्रो प्रश्न हो, सरकारलाई । तर, उज्यालो रहेसम्म सरकारको घैँटोमा घाम लागिहाल्छ कि भन्ने आशा भने छदैँ छ ।

  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १७:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया