यू–१९ विश्वकप : नेपालको पाँचौं विकेट पतन, डुम्रे पनि क्रिजमा जम्न सकेनन्
फाइल तस्बिर

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालले पाँचौं विकेटको रूपमा दीपकप्रसाद डुम्रेलाई गुमाएको हो । उनी २६.५ ओभरमा ५ रनमा आउट भए । डुम्रेलाई अरब गुलले पवेलियन फर्काए । 

नेपालले चौथो विकेटको रूपमा आकाश त्रिपाठीलाई १६ रनमा गुमाउन पुग्यो । उनी २३.१ ओभरमा अफगानी कप्तान नसीर खान मारोफखिलको बलमा क्याच आउट भए । आकाश र कप्तान देव खनालबीच ४९ रनको साझेदारी बन्यो । 

२४ रनमा तीन विकेट गुमाएको अवस्थाबाट देव र आकाशले नेपालको पारी सम्हालेका थिए । अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले यो समाचार तयार पार्दासम्म १९ ओभरमा ५ विकेट गुमाएर ८६ रन बनाएको छ । 

सस्तैमा तीन विकेट पतन 

नेपालले सस्तैमा तीन विकेट गुमायो । नेपालले तेस्रो विकेटको रूपमा ओपनर विपिन रावललाई गुमाउन पुग्यो । उनी ८.१ ओभरमा खलील अहमदको बलमा २ रनमा एल्बीडब्लू धरापमा परे । त्यसअघि ६.३ ओभरमा अलराउन्डर गुलशन झा आउट भए । उनी ६.३ ओभरमा एक रनमा बोल्ड भएका हुन् । गुलशनलाई पनि खलील अहमदले आउट गरे । 



नेपालले पहिलो विकेटको रूपमा अर्जुन कुमाललाई गुमाउन पुग्यो । उनी ४.२ ओभरमा १० रनमा फरिदुन दाउदजईको बलमा बोल्ड भए । त्यसअघि दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनको अलआउट भयो ।

उसका लागि एएम गजानफरले ३७, कप्तान नसीर खान मारोफखिलले ३१, अरब गुलले २९ र हसन इसाखिलले २० रन बनाए । अफगानिस्तानलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि आकाश चन्दले सानदार बलिङ गरे । 



उनले ५ ओभरमा ३४ रन दिएर सर्वाधिक पाँच विकेट लिए । यस्तै, दीपेश कँडेलले दुई, तिलक भण्डारी, गुलशन झा र सुवास भण्डारीले एक/एक विकेट हात पारे । 

सुपर सिक्स पुग्नका लागि नेपाल–अफगानिस्तानलाई आज जित अनिवार्य छ । यी दुई टिम रहेको समूह ‘डी’ बाट न्यूजिल्याण्ड र पाकिस्तान सुपर सिक्समा प्रवेश गरिसकेका छन् । 

  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १९:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया