logo-img

निराशाले मुलुक समृद्ध हुँदैन, मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ : रास्वपा कावा सभापति

सांसद डा. स्वर्णिम वाग्लेले मुलुक बन्छ भन्ने आशा जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापतिको समेत जिम्मेवारीमा रहेका तनहुँ–१ का सांसद वाग्लेले निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बताए । 

आज तनहुँ उद्योग वाणिज्य संघको १७औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदस्थापन कार्यक्रममा उनले भने, ‘सधैँ निराशाका कुरा गरेर मात्र हुँदैन । मुलुकलाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि सबै आशावादी बन्नुपर्छ ।’ 

डा. वाग्लेले राजनीतिलाई सङ्ल्याउँदै विकृति र विसंगति हटाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । त्यसका लागि राजनीतिक दल नै जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।



रास्वपाले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै डा. वाग्लेले रास्वपा अब सदन र सडक दुवैमा क्रियाशील हुने उल्लेख गरे । उनले भने, ‘हामी संसद्मा विभिन्न विधेयक दर्ता गर्छौं, तर अहिलेको प्रणालीले बहुमतका आधारमा ती विधेयक फेल हुने गरेका छन् । त्यस्ता विधेयकहरू जनताका माझ लगेर यो ठीक छ वा छैन भनेर सोध्छौँ ।’

डा. वाग्लेले देशभरका अलपत्र विकास योजनामा पनि पार्टीले खबरदारी गर्ने नीति लिएको जानकारी दिए । अर्थतन्त्रलाई सही मार्गमा ल्याउनुपर्ने आवश्यकतामाथि चर्चा गर्दै वाग्लेले भने, ‘सार्वजनिक खर्चमा देखिएको सिथिलतालाई समाधान गर्नुपर्छ ।’

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा लगानीका वातावरण भित्र्याउनेतर्फ लाग्नुपर्ने बताए । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले राष्ट्रियताको भावना विकास भएमात्रै मुलुक बन्न सक्ने बताए । 



सो अवसरमा नवनिर्वाचित अध्यक्ष वैकुण्ठनाथ मिश्रलाई निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शपथग्रहण गराए । त्यस्तै, मिश्रले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराएका थिए । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले संस्थाको गरिमालाई अझ उचो बनाउने प्रतिबद्धता जनाए । 



  • प्रकाशित मिति : माघ १३, २०८० शनिबार २०:३०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया