यू–१९ विश्वकप : नेपाली क्रिकेटलाई उचाइ दिइरहेका आकाश [भिडियोसहित]
तस्बिर : आइसिसी

नेपाली युवा तीव्र गतिका बलर आकाश चन्दले दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटमा सानदार प्रदर्शन गरिरहेका छन् । उनकै घातक बलिङको मद्दतमा नेपालले अफगानिस्तानलाई एक विकेटले स्तब्ध पार्दै विश्वकपको सुपर सिक्समा स्थान बनाइसकेको छ । गत शुक्रबार सम्पन्न खेलमा आकाशले ८ ओभरमा ३४ रन मात्र दिएर सर्वाधिक ५ विकेट लिए ।  

उनी चम्किँदा टेस्ट टोली अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनमै समेटियो । आकाशले अफगानी टिमको शीर्षक्रमका ब्याटरलाई एकपछि अर्को गर्दै पवेलियनको दिशा देखाए । निडर भएर बलिङ गरेका उनले अफगानिस्तानविरुद्ध आफ्नो क्रिकेट करियरमै सबैभन्दा महत्वपूर्ण उपलब्धि हासिल गरे । 

आकाशले यस खेलमा मात्र होइन पूर्वविश्वकप विजेता पाकिस्तानविरुद्ध पनि सानदार बलिङ गरेका थिए । उनकै उत्कृष्ट बलिङका कारण सो खेलमा पाकिस्तानले १ सय ९८ रनको लक्ष्य पूरा गर्न ४७.४ ओभर खेल्नुपर्‍यो । पाकिस्तानविरुद्ध आकाशले ९ ओभरमा ३४ रन खर्चदै महत्वपूर्ण तीन विकेट लिए ।  

आकाशको क्रिकेट यात्रा

अफगानिस्तानविरुद्ध नेपालको जितमा ‘नायक’ साबित भएका आकाशको बाल्यकाल सुदूरपश्चिमको कञ्चनपुरको महेन्द्रनगरमा बित्यो । उनले त्यहीँ क्रिकेट सिके । कञ्चनपुरबाट थुप्रै खेलाडीले राष्ट्रिय टिमका लागि खेलिसकेका छन् । र, आकाशले जिल्लामा रहँदा उनीहरूसँगै अभ्यास गर्ने मौका पाए । 



उनले हाल राष्ट्रिय टिमका सदस्य रहेका भीम सार्कीसँग पनि अभ्यास गरेका थिए । त्यसक्रममा भीम उनीबाट प्रभावित भए । र, उनले आकाशलाई नेट बलरको रूपमा राख्न तत्कालीन मुख्य प्रशिक्षक जगत टमाटालाई आग्रह गरे । त्यसपछि प्रारम्भ भयो आकाशको क्रिकेट यात्रा । 



आकाशले सुरुवातमा बलिङभन्दा ब्याटिङ राम्रो गर्थे । उनले कञ्चनपुरबाट काठमाडौं पुगेलगत्तै त्रिवि मैदान भएको अभ्यासका क्रममा स्टार स्पिनर सन्दीप लामिछानेविरुद्ध छक्का प्रहार गरेका थिए । उनको त्यो ब्याटिबाट प्रशिक्षक र खेलाडी प्रभावित भए । त्यसपछि आकाशको क्रिकेट यात्राले गति लिन थाल्यो । 

उनले नेपालका लागि पहिलो यू–१९ खेल सन् २०१९ मा खेलेका थिए । भारतमा भएको च्यालेन्जर सिरिजमा आकाशले डेब्यू गरे । साथै, उनले सोही वर्ष मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध पनि खेले । नेपालमा भएको उक्त खेलमा नेपाल ‘ए’ टिमबाट खेल्दै आकाशले एक विकेट लिए । 

ठीकठाक लयका बाबजुद उनी सन् २०२१ मा भएको यू–१९ एसिया कपमा भने टिममा अटाएनन् । आकाशले गत वर्ष यूएईमा आयोजित आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा पनि सुरुवातमा टोलीमा मौका पाएनन् । तर, अलराउन्डर गुलशन झाले उक्त प्रतियोगिता नखेल्ने भएपछि भने आकाशलाई टिममा बोलाइयो । जहाँ उनले प्रशिक्षकलाई प्रभावित पारे ।   

त्यसपछि आकाशले विश्वकप छनोट २०२३ को एसिया क्षेत्र छनोट पनि खेल । सो प्रतियोगितामा आकाशले उत्कृष्ट प्रदर्शन गरे । जहाँ उनले ४ खेलमा ११ विकेट लिए । सोही प्रदर्शनले उनलाई विश्वकप टिममा स्थान बनाउन सहज भयो । 

तस्बिर : आइसिसी

आकाश विश्वकपका लागि दक्षिण अफ्रिका जानुअघि पनि नेपालको सिनियर टिमको नेट बलरको रूपमा थिए । विश्वकपमा सानदार प्रदर्शन गरेपछि भने उनले सिनियर टिमबाट डेब्यू गर्ने सम्भावना बढेको छ ।

तत्काल त्यो मौका नमिले पनि आकाशले नेपालको ‘ए’ टिमबाट भने खेल्ने पक्काजस्तै छ । नेपाल क्रिकेट संघ (क्यान) केही दिनभित्र नेपालको ‘ए’ टिम घोषणा गर्ने तयारीमा छ ।     

  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १४:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया