logo-img

सांसद प्रेम सुवालले जंगिदै ठोके टेबुल, भने- ‘गरिबलाई मार्ने काम गर्नु हुँदैन’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल सोमबार सिंहदरबारमा  प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलका क्रममा जंगिएका छन् । खाद्य स्वच्छता विधेयकको संशोधनकर्ताहरुसँग भएको छलफलमा उनले सरकारले औषधिको अनुगमनमा ध्यान नदिएर कालाबजारीलाई प्रश्रय दिएको आरोप लगाए । 

‘नेपालको औषधिहरू गुणस्तरीय नहुँदा डाक्टरलाई सोध्यो भने नेपालको नखाएर विदेशी खानु भन्नुहुन्छ । त्यस्तो उत्पादन गर्न मिल्छ काम नै नलाग्ने ? कम्पनी कुन हो खोइ अनुगमन ? गरिबलाई मार्ने काम सरकारले गर्नुभएन । धनी मात्र बाँच्ने भए अमेरिका गएकै छन् नि,’ उनले भने । 

बोल्दाबोल्दै उनको भनाइमा व्याख्या लामो भएको भन्दै समिति सभापति आरजु राणा देउवाले छोट्याउन भनेपछि सुवाल जंगिए । खाद्य स्वच्छता विधेयकको संशोधन गर्नै पर्ने भएकाले संशोधनकर्ताले आआफ्नो भनाइ राख्नुपर्ने उनले जिकिर गरिन् । सुवालले अरूलाई केही नभन्ने तर आफ्नो पालोमा छोट्याउन भन्नु उपयुक्त नभएको तर्क गरे ।



‘तपाईहरुलाई घोचेको मन पदैन सबै थाहा छ हामीलाई । तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए पुग्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? प्रजातान्त्रिक समाजवाद नि थाहा छ, नाटक नै नाटक त हो । बीपि कोइरालालाई तपाईहरुले प्रतिष्ठानमा नै बेच्नुभयो नि,’ उनले कटाक्ष गरे ।

उनले ‘म बोल्दिन’ भनेर उठेपछि केही सदस्यले सम्झाएका थिए । सांसद सुवालले ६ महिनायता मुलुकमा ४ अर्ब रुपैयाँको तरकारी आयात भएको बताए । ‘विषादी भएको तरकारी सरकारले जाँच गर्नु पर्दैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ?,’ उनले प्रश्न गरे, ‘यही हो खाद्य स्वच्छता ? मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु ।’





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १७:३१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया