logo-img

अवसरको खोजीमा विदेशिँदै नेपाली चिकित्सक

पछिल्लो समय नेपालमा विदेश जाने लहर नै चलेको छ । मध्यमवर्गका युवापुस्ता सकेसम्म अष्ट्रेलिया, अमेरिका क्यानडा वा युरोपेली मुलुक देश जाने ध्याउन्नमा हुन्छन् । निम्नवर्गीय परिवारका युवाका लागि भने विदेश जाने भनेको खाडी मुलुक नै हो ।
 
उच्च शिक्षा लिन चाहने वा रोजगारीको चाहनामा भौँतारिइरहेका मात्र होइन, वर्षौंदेखि देशमै सरकारी जागिर खाइरहेका मानिसको पनि अन्तिम गन्तव्य लक्ष्य बनिरहेको छ, विदेश जानु । कोही पढ्ने बहानामा त कोही जागिरको सिलसिलामा जसरी हुन्छ, देश छाड्ने क्रम दिन–प्रतिदिन बढिरहेको छ । यही देश छाड्नेको भिडमा मिसिएका छन्, नेपाली चिकित्सक पनि ।

नेपालमा प्रतिहजार जनसंख्याको लागि १.९४ स्वास्थ्य जनशक्ति उपलब्ध छ । तर, पढ्न वा काम गर्नका लागि चिकित्सक भने विदेश गइरहेका छन् । नेपाली चिकित्सको रोजाइमा सबैभन्दा बढी बेलायत, अष्ट्रेलिया, क्यानडा र अमेरिका, माल्दिभ्सजस्ता देश पर्ने गरेका छन् । सरकारी तथ्यांकले नै स्वास्थ्य क्षेत्रमा जनशक्तिको यति ठूलो अभाव देखाएका बेला दक्ष चिकित्सक भने विदेश जाने क्रम बढ्दो छ । चार–पाँच वर्षयताको मात्रै तथ्यांक हेर्ने हो भने एक वर्षमा जति चिकित्सक उत्पादन हुन्छन्, सोहीको हाराहारीमा उच्च शिक्षा अध्ययन, फेलोसिप वा कामकै लागि विदेश जाने गरेका छन् । 

सन् २०२३ मा मात्रै नेपाल मेडिकल काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिने चिकित्सकको संख्या अघिल्लो वर्षभन्दा झन्डै चारसय बढी छ । नेपाली चिकित्सकले विदेशमा अध्ययन वा काम गर्नका लागि यस्तो प्रमाणपत्र लिने गरेका छन् ।

विदेशका नियामक निकायमा दर्ता हुनका लागि पनि यो आवश्यक पर्छ । प्रमाणपत्र लिने चिकित्सकमा एमडीभन्दा एमबिबिएस गर्नेको संख्या ठूलो भएको काउन्सिलले जनाएको छ । काउन्सिलबाट सन् २०२३ मा दुई हजार तीन सय १८ जनाले विभिन्न देशमा जान प्रमाणपत्र लिएका छन् । यसै वर्ष एमबिबिएसको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने संख्या योभन्दा कम दुई हजार दुई सय २२ छ । यस्तै, सन् २०२२ मा भने यो संख्या एक हजार नौ सय ५४ मात्र थियो । सन् २०२१ मा एक हजार तीन सय २७ र सन् २०२० मा आठ सय ६९ जनाले यस्तो प्रमाणपत्र लिएका थिए ।

यसरी प्रमाणपत्र लिनेमध्येमा सबैभन्दा बढी बेलायत जानेहरू छन् । सन् २०२० मा बेलायत जान एक सय ६२, सन् २०२१ मा तीन सय १९, २०२२ मा पाँच सय ९२ र २०२३ मा पाँच सय पाँचजनाले प्रमाणपत्र लिएको काउन्सिलको तथ्यांकले देखाउँछ । 

चिकित्सकको रोजाइमा पर्ने अर्को देश भनेको अमेरिका हो । अमेरिका जाने चिकित्सकको संख्या पनि ठूलै मात्रामा छ । अमेरिका जाने अन्तर्राष्ट्रिय चिकित्सकबारे तथ्यांक राख्ने संस्था इन्टेल्थका अनुसार सन् २०२२ मा नेपालबाट तीन सय ८० जना चिकित्सक अध्ययन भिसा लिएर पुगेका थिए । संस्थाका अनुसार २०२२ मा अमेरिकामा चिकित्सक आउने देशहरूमा नेपाल प्रमुख १० देशमध्ये सातौँ स्थानमा थियो ।



अमेरिका जानका लागि प्रमाणपत्र लिनेको संख्या बर्सेनि बढ्दो देखिन्छ । सन् २०२० मा दुई सय ७६, सन् २०२१ मा दुईसय ७३, २०२२ मा चार सय ९६ र २०२३ मा आठ सय ४३ जनाले अमेरिका जानकै लागि प्रमाणपत्र लिएका छन् । यस्तै, माल्दिभ्स जान सन् २०२० मा दुई सय १६, २०२१ मा चार सय तीन, २०२२ मा चार सय ५३ र २०२३ मा तीन सय ९५ जनाले प्रमाणपत्र लिएका छन् । यससँगै अस्ट्रेलिया, युएई, क्यानडा र कतार जाने चिकित्सकको संख्या पनि बढ्दै गएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार २०२० मा एक हजार ६ सय ६८ जनाले एमबिबिएसको लाइसेन्स परीक्षा पास गरेका थिए । यस्तै, २०२१ मा एक हजार दुई सय ९८, २०२२ मा एक हजार सात सय ५३ र २०२३ मा दुई हजार दुई सय २२ ले यो परीक्षा पास गरेका थिए । हालसम्म नेपालमा मेडिकल र डेन्टल गरेर कुल ३४ हजार नौ सय १० चिकित्सक दर्ता छन् । विशेषज्ञ चिकित्सकको संख्या पनि मेडिकल र डेन्टल गरी कुल १० हजार पाँच सय ८८ छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९–८०ः२०८७–८८) अनुसार नेपालमा प्रति १० हजार ९.०४ को अनुपातमा चिकित्सकको संख्या रहेको छ । यस्तै, स्वास्थ्यका लागि जनशक्तिसम्बन्धी विश्वव्यापी रणनीति सन् २०३० अनुसार प्रतिएक हजार जनसंख्याका लागि ४.४५ स्वास्थ्य जनशक्ति चाहिन्छ । 

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन डा. जगदीशप्रसाद अग्रवाल नेपाली डाक्टरहरू काम गर्न विदेश पलायन भए भनेर हल्ला गरिएको जस्तो नभएको बताउँछन् । ‘विदेशमा काम गर्न नेपालबाट धेरै कम डाक्टर जान्छन् । धेरैजसो डाक्टर अध्ययनका लागि जाने गरेका छन्,’ उनले भने । 

उनका अनुसार स्नातकोत्तर तहको अध्ययनका चिकित्सकहरू विदेश गइरहेका छन् । यसका साथै थप अध्ययन र करिअरका लागि चिकित्सकहरू विदेश गएका छन् । ‘अध्ययनका लागि विदेश जानुका विभिन्न कारण छन् । नेपालको शिक्षाको स्तरीयतामा प्रश्नचिह्न छ,’ डा. अग्रवाल भन्छन्, ‘सबै संस्थाहरूमा गुणस्तरीय पढाइ हुने भए निश्चित प्रतिशत चिकित्सक नेपालमै रोकिन्थे होला । विदेश पढ्न जाने अधिकांश चिकित्सक स्नातकोत्तर गर्न चाहन्छन् ।’ चिकित्सक स्वदेशमा बस्ने वातावरण बनाउनका लागि गुणस्तरीय शिक्षा नेपालमै दिन आवश्यक रहेको उनी औँल्याउँछन् ।

उनका अनुसार चिकित्सक विदेश जानुका मुख्य रूपमा दुईवटा कारण प्रस्ट छन् । एउटा तालिम, अर्काे पढाइसँगै कमाइ । नेपालमा मेडिकल अफिसरले बढीमा ५० हजार पाउने हो । तर, विदेशमा पढाइसँग पैसा पनि पायो, डिग्री पनि । विदेशमा पढिरहेको नेपाली चिकित्सकले खानबस्न र देशअनुसारको कर तिरेर कम्तीमा डेढ–दुई लाखसम्म बचाउन सक्छ र गुणस्तरीय शिक्षा पनि आर्जन गर्छ । जसकारण नेपाली चिकित्सक विदेशतिर आकर्षित भइरहेको उनको भनाइ छ ।

यस्तै, संघीय कर्मचारी ऐन जारी नभएकाले स्वास्थ्य सेवा ऐनलाई अगाडि बढाउन नसक्दा अध्ययन तथा काम लागि नेपाली चिकित्सक विदेशिनुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी औँल्याउँछन् । 

‘चिकित्सक तथा कर्मचारीलाई दक्ष प्राविधिक जनशक्तिका रूपमा नहेरी निजामती कर्मचारीसरह सेवा, सुविधाको व्यवस्था नहुँदासम्म यो खाडल पुर्न कठिन देखिन्छ,’ डा. बुढाथोकीले भने ।

उनका अनुसार चिकित्सक विदेश गइरहेका छन् । यसले आगामी दिनमा निर्माणाधीन रहेका आधारभूत अस्पताल पनि सञ्चालनमा गर्न कठिन हुने अवस्था आउनसक्छ । विदेश जान होडबाजी चलिरहँदा अधिकांशले यसको दोष भने नेपालको राजनीतिक तथा प्रशासनिक क्षेत्रको भद्रगोल अवस्थालाई दिने गरेका छन् । 

  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार २१:१८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया