पेनाल्टीमार्फत जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङ्दीविरुद्ध ‘सडन डेथ’ मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । 

पोखरा रंगशालामा आज भएको तेस्रो क्वार्टरफाइनल खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि जावलाखेल पेनाल्टीमा विजयी बनेको हो । जावलाखेलले समिफाइनमा थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा भुटानको पारो फुटबल क्लबलाई २–० गोल हराउँदै थ्रि स्टार क्लबले समिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत मंगलबार चर्च ब्वाइज र नेपाल पुलिस क्लबले अन्तिम क्वार्टरफाइनल खेल खेल्नेछन् । यसअघि आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा साविक विजेता संकटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो ।

मंगलबार हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेतासँग आर्मीले सेमिफाइनल खेल्नेछ ।

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । 

प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष केशवराज बरालले बताए । 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार २३:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया