यू–१९ विश्वकपमा बंगलादेशसँग खेल्दै नेपाल, ८ वर्षअघिको हारको बदला लिने मौका

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले आज बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ देखि ब्लोमफन्टेनमा सुरु हुनेछ । ब्लोमफन्टेनको पिच ब्याटिङ अनुकूल देखिएको छ ।  

जारी विश्वकपमा यही मैदानमा समूह चरणमा बंगलादेशले अमेरिकाविरुद्ध ३९१ रन बनाएको थियो । यस्तै, यही मैदानमा भारतले आयरल्याण्डविरुद्ध ३०१ तथा अमेरिकाविरुद्ध ३२६ रन बनायो ।

यस्तै, उसले सुपर सिक्सको पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध २ सय ९५ रन बनाएको थियो । त्यसकारण बंगलादेशविरुद्ध नेपालले जित निकाल्ने हो भने ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्नुको अर्को विकल्प छैन । 

यस विश्वकपमा नेपालले रन बनाउन संघर्ष गरिरहेको छ । नेपालले समूह चरणको खेल इस्ट लण्डनस्थित बफेलो पार्कमा खेलेको थियो । जहाँ नेपालले पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध ६४ रनको हार बेहोर्‍यो ।

सो खेलमा न्यूजिल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन मात्र बनाउन सक्यो । यस्तै, दोस्रो खेलमा पाकिस्तानविरुद्ध नेपाल निर्धारित ५० ओभरमा १ सय ९७ रनमा अलआउट भयो । सो खेलमा नेपालले ५ विकेटको हार बेहोर्‍यो । 



समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । समूह चरणमा नेपालका लागि ब्याटिङमा कप्तान देव खनाल र अर्जुन कुमालले मात्र अर्धशतक बनाउन सके । ग्रुप स्टेजमा ब्याटिङतर्फ गुलशन झा, आकाश त्रिपाठी, दीपक डुम्रे, उत्तम थापालगायत ब्याटर फ्लप नै भए ।  

नेपालका प्रमुख ब्याटरले रन बनाउन नसक्दा पुछारतिरका सुवास भण्डारी र आकाश चन्दले भने ब्याटिङमार्फत पनि योगदान दिइरहेका छन् । विशेषगरी सुवासले अलराउन्ड प्रदर्शन गरिरहेका छन् । उनले पहिलो खेलमा अविजित ३३, दोस्रोमा २० र तेस्रो खेलमा अफगानिस्तानविरुद्ध २९ बलमा ९ रनको महत्वपूर्ण पारी खेले । यस्तै, सुवासले ४ विकेट पनि लिएका छन् । 



यस्तै, बलिङतर्फ आकाश चन्द अहिले उच्च लयमा छन् । उनले पछिल्लो दुई खेलमा ८ विकेट लिएका छन् । पहिलो खेलमा विकेटविहीन भए पनि आकाशले पाकिस्तान र अफगानिस्तानविरुद्ध सानदार बलिङ गरे ।

उनले पाकिस्तानविरुद्ध तीन तथा अफगानिस्तानविरुद्ध महत्वपूर्ण ५ विकेट लिए । आकाश अब सुपर सिक्समा बंगलादेश र भारतजस्तो बलियो टिमविरुद्ध उच्च प्रदर्शन गर्न पूरा कोसिस गर्नेछन् । 

हेड टु हेड  

हालसम्म यू–१९ विश्वकपमा नेपाल र बंगलादेशले एकअर्काविरुद्ध दुई खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा दुवै टिमले एक/एक खेल जितेको विगत छ । नेपाल र बंगलादेशले पहिलोपटक सन् २००२ को विश्वकपमा एकअर्काको सामना गरेका थिए । सो विश्वकप प्लेट सेमिफाइनलमा नेपालले बंगलादेशलाई २३ रनले स्तब्ध बनायो । 

न्यूजिल्याण्डमा भएको उक्त विश्वकप खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो । १ सय ८१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको बंगलादेश ४७.३ ओभरमा १ सय ५७ रनमै अलआउट भयो । त्यसपछि यू–१९ विश्वकपमा नेपाल र बंगलादेशबीच दोस्रो भेट सन् २०१६ मा भयो ।

उक्त विश्वकपमा भने आयोजक बंगलादेशविरुद्ध नेपाल ६ विकेटले पराजित भयो । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनायो । २ सय १२ रनको लक्ष्य बंगलादेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपाल यसपटक ८ वर्षअघिको हारको बदला लिन चाहन्छ ।  

जारी विश्वकपमा नेपालको सेमिफाइनल सम्भावना सकिएको छ । बंगलादेशको भने झिनो आशा कायमै छ ।  

  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार ६:५०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया