थ्रिस्टार क्लब आहा-रारा पोखरा गोल्डकपको उपाधि नजिक

पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फुटबलमा थ्रिस्टार क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको छ । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले गरेको एक मात्र निर्णायक गोलले थ्रिस्टारलाई उपाधि नजिक पुर्याएको हो ।

पोखरा रंगशालामा आज सम्पन्न सेमिफाइनलको पहिलो खेलमा थ्रिस्टारले जावलाखेल युवा क्लबमाथि १–० को साँघुरो जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो । खेलको ७८औँ मिनेटमा दीपेशले प्रहार गरेको बल पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो । ‘म्यान अफ दी म्याच’ घोषित निर्णायक गोलकर्ता घले ६७औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । 

पहिलो हाफको खेलमा दुवै टोलीमा कुनै पनि गोल हुन सकेन । दोस्रो हाफमा दुवैले आक्रामक खेलका थिए । थ्रिस्टार आहाराराको सफल टोली हो । थ्रिस्टारले हालसम्म पाँचपटक प्रतियोगिताको उपाधि जितिसकेको छ । 

जारी प्रतियोगितामा थ्रिस्टारले प्रि–क्वाटर फाइनलमा आयोजक सहारा र क्वाटर फाइनलमा भुटानको पारो एफसीमाथि जित निकालेर सेमिफाइनलमा पुगेको थियो । जावलाखेलले प्रि–क्वाटर फाइनलमा मच्छिन्द्र र क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीलाई हराएको थियो ।

खेलपछिको पत्रकार सम्मेलनमा विजेता थ्रिस्टारका प्रशिक्षक विक्रम लामाले काउन्टर अट्याकमा गोल गर्ने रणनीति सफल भएको बताए । ‘जावलाखेल कम्बाइन टोली हो । त्यसैले सोहीअनुसार रणनीति बनाएका थियौँ । त्यसमा सफल भयौँ,’ उनले भने । फाइनलमा आजको खेलका कमीकमजोरी हटाउँदै उपाधि जित्ने गरी खेल्ने लामाको भनाइ थियो । 

जावलाखेलका प्रशिक्षक नरेश थापाले खेलाडीले निकै उत्कृष्ट खेल खेलेका बताए । पराजित भए पनि टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उनले उल्लेख गरे । 



प्रतियोगिताअन्तर्गत बिहीबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबकाबीच दोस्रो सेमिफाइनलको खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए । भोलिको विजेताले उपाधिका लागि थ्रिस्टारसँग प्रतिस्पर्धा गर्नेछ । 

यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । 



विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीले जनही २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने आयोजकले जनाएको छ । 

  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार २०:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया